बागलुङ, १९ साउन– कोरोनाको संकटमा पहिलो पंक्तिमा बसेर काम गर्नेहरु अहिले जोखिममा छन् । उनीहरुले आफ्नो स्वास्थ्यको ख्याल गर्ने फुर्सद पनि पाएका छैनन् । काठमाण्डौं घर भएका डा. मिलन मल्ल पनि यसको उदाहरण हुन् ।
पछिल्लो ६ महिनादेखि उनले परिवार भेट्न पाएका छैनन् । कोरोना संक्रमणविरुद्ध लड्ने अभियानले उनलाई फुर्सद पनि मिलेको छैन । सदरमुकामदेखि ९० किमी पश्चिमको बुर्तिवाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा रहेर उनले नियमित काम गरिरहेका छन् । संक्रमितको संख्या शुन्य भयो र नियमित कामबाट फुर्सद मिल्यो भने दशैंमा घर जाने उनको योजना छ ।
विशेषज्ञ डाक्टर भएको स्थानमा मात्रै आइसोलेसन बनाउने सरकारी नीति भएपनि बागलुङको ग्रामीण क्षेत्रको समस्यास“ग जुध्न उनले साहस लिएका थिए । गत जेठ पहिलो साता उनकै साहस र नेतृत्वमा प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङमा आयसोलेसन बनाइएको थियो । उक्त साहसमा मल्लले सफलता पनि पाए । उनको नेतृत्वको स्वास्थ्यकर्मीको टिमले प्राथमिक स्वास्थ्य केन्द्रमा दैनिक आउने बिरामीको उपचार, दैनिक दुइदेखि तीन जना प्रसुती सेवा र कोरोना संक्रमितको उपचारमा पनि सफलता पाएका छन् ।
सामान्य अवस्थामा एक÷दुईजना बिरामी भर्ना गरेर राख्ने क्षमता मात्रै भएको केन्द्रमा २५ शैयाको आइसोलेसन बनाइएको छ । त्यसबाहेक एक किमी परको निसीभुजी जनता क्यामपसमा २५ शैयाको अर्को आइसोलेसन छ । उनकै नेतृत्वको टिमले दुवै आइसोलेसनको व्यवस्थापन हेरेको छ ।
संक्रमित भेटिएपछि हतार हतारको छलफलबाट उनले आइसोलेसन बनाउने निर्णय लिएका थिए । यो अभियानका लागि ढोरपाटन नगरपालिकाले ४ लाख रुपैया“ लगानी ग¥यो । छिमेकी बडिगाड गाउ“पालिका, तमानखोला र निसीखोला गाउ“पालिकाले पनि दुइ÷दुइ लाख रकम सहयोग गरेपछि १० लाख रुपैया“बाट बुर्तिवाङमा ५० शैयाको आइसोलेसन बनाइएको हो । ‘बिरामीलाई ल्याउने लाने, वर्षातमा सडकको अवरोधजस्ता समस्या देखेपछि बुर्तिवाङमै आइसोलेसन बनाउने निधोमा पुग्यौं’ मल्लले भने, ‘संक्रमितलाई समस्या देखिएमात्र सदरमुकाम पठाउने भनेर थालिएको कामले केन्द्रको क्षमता पनि बढाएको छ ।’
आइसोलेसनका लागि राखिएका बेड, सिसि क्यामेरा, अक्सिजन जडानलगायतको कामबाट जिल्ला अस्पतालको पूर्वाधार बनाउन सहज भएको उनले बताए । २०६६ सालमा बागलुङ सदरमुकाममा अञ्चल अस्पताल स्थापना भएपछि बुर्तिवाङको केन्द्रलाई जिल्ला अस्पताल बनाउने तयारी छ । दक्ष स्वास्थ्यकर्मी, भवन र उपकरण अभावमा बन्न सकेको थिएन ।
२१ जनाको दरबन्दीबाट मल्लले ७ जनाको कोरोनाविरुद्धको टिम बनाएका छन् । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख घनश्याम चालिसे, ल्याब टेक्निसियन किसान शाही, अहेव रुमाकान्त श्रीष, रबिन्द्र केसी र थमन घर्ती तथा नर्स पार्वती अर्यालको टिमले कोरोनाविरुद्धको अभिायन चलाएको हो । यहा“ ५५ जना संक्रमितलाई उपचारका लागि राखिएकोमा ४४ जना निको भएर घर फर्केका छन् । ९ जना अब उपचाररत छन् ।
मल्लकै नेतृत्वमा नियमित सरसफाईस“गै गीत संगीत, शारिरीक व्यायाम, तनाब व्यवस्थापन का क्रियाकलाप पनि चलाइएको छ । नवलपुर घर भएका मल्ल पाटन अस्पतालबाट एमबिबिएस उत्तिर्ण हुन् । उनी तीन बर्षदेखि बुर्तिवाङमा कार्यरत छन् । उनी आएपछि यहा“ अपरेशन सहितको सुत्केरी सेवा समेत सुरु भएको हो ।





