पोखरा, २१ साउन – विगत ४ महिनादेखि जारी लकडाउन खुलेसंगै सर्वसाधारण आफ्नो सामान्य जनजीवनतर्फ फर्कदैँछन् । डरकै बीच सार्वजनिक यातायात खुलेका छन्,व्यापार÷व्यवसाय खुलेका छन् । आन्तरिक र वाह्य उडान खुलाउने तयारी हुँदैछ । तर, लकडाउन घोषणासँगै बन्द गरिएको मनोरञ्जन क्षेत्र खुलाउने सुरसार छैन । सबैभन्दा पहिले बन्द गरिएको फिल्म हल अरु क्षेत्र खुल्दा पनि बन्दको बन्दै छन् । हल संचालक र कलाकार दुबै फिल्म हल कहिले खुल्ने,दर्शकलाई कसरी राख्ने, सिनेमा बनाउने कि नबनाउने भन्ने छन् । लामो समय हल बन्द हुँदा तयार भएका सिनेमाहरु डिजिटल प्लेटफर्ममार्फत् सार्वजनिक हुँदैछन् । हलिउड र बलिउडजस्ता ठूला मनोरञ्जन उद्योगले त्यसो गर्न सकेको छैन ।
लकडाउनकै कारण रिलिज हुन लागेका चलचित्रहरुसमेत रोकिएका छन् । काम नहुँदा कलाकारहरुलाई अभियन र पेट दुबैको भोकले सताउन थालेको छ । केही कलाकारहरुले छोटो फिल्म (सर्ट मुभी) खेलेर अभियनको भोक त मेटेका छन् तर त्यो कदम पनि पूर्ण व्यावसायिक बन्न सकेको छैन । नयाँ फिल्म नबन्दा र काम नपाउँदा सिने क्षेत्रका प्राविधिकहरुको अवस्था दयनीय बनेको सिने तथा संचारकर्मी रेम विक बताउँछन् ।
‘सरकारले नेपालमा संक्रमण फैलनुअघि नै हलहरु बन्द गर्न निर्देशन दियो । भीडभाड हुने कारणले गर्दा सिनेमा हल अरू क्षेत्रभन्दा पहिले नै बन्द र अरू क्षेत्र खुलिसकेपछि मात्र खुला हुन सक्छ’, उनले भने,‘ यसले गर्दा एकाएक कलाकार बेरोजगार बने, लकडाउन लम्बिँदा आर्थिक समस्या पनि भयो ।’ यद्यपि, कोरोनाले नेपाली फिल्मलाई पनि डिजिटलको बाटोमा डोहो¥याएको उनले तर्क गरे । ओटीटी ( ओभर दि टप )मा नेपाली चलचित्रको पहुँच पुग्न सकेको छैन् । लकडाउनको समयमा ओटिटिकर्ता बढेका छन् हामिले पनि त्यो पाटो रोज्न सक्नुपर्छ’ उनले भने । ओभर दि टप भनेको इण्टरनेटको माध्यमबाट सोझै लक्षित दर्शककहाँ आफ्नो उत्पादन पठाउने प्रक्रिया हो । यसो गर्दा ग्राहकबाट शुल्क पनि लिइन्छ । भनौं दर्शकले हलमा गएर तिर्ने शुल्क आफ्नो घरमै बसेर सिनेमा उत्पादकलाई तिर्छ ।
रेमका अनुसार अहिलेको समयमा पनि थोरै लगानीको चलचित्र बन्ने क्रम भने जारी रहेको छ । आर्यन सिग्देल, प्रदीप खड्कालगायतका कलाकार यतिबेला पोखरामा आएका छन् । औपचारिक रुपमा नआए पनि फिल्म निमार्णको लागि उनीहरु पोखरा आएको विकले बताए । लकडाउनको अवधिमा सस्तो बजेटका सिनेमा बनाउने क्रम सुरु भएको उनले जानकारी दिए । लकडाउन खोले लगत्तै वा ओटीटी प्ल्याटफर्ममा रिलिज गर्ने गरी सिनेमाहरु बन्ने क्रममा छ । हललाई टार्गेट गरि सिनेमा बन्ने स्थिति भने नभएको उनको भनाई छ ।
अन्तर्राष्ट्रिय ओटीटी प्ल्याट्र्फममा नेपाली पहँुच नपुगेको र कोरोनाले उक्त बाटो देखाएको पाइन्छ । अन्तर्राष्ट्रिय स्तरमा रहेका नेटफ्ेलेक्स, अमाजनप्राइमजस्ता ओटिटि हाउसले नेपाली फिल्म नलिएको अवस्थामा लकडाउनको बीचमा केहि प्रयासहरु भएका छन । नेपाली फिल्म ‘चिनी कम रङ कडा’ अमाजनप्राइम बाट पहिलो पटक रिलिज भएको छ । युरोप र अमेरिकामा रिलिज भएको सो फिल्म मात्रै हो ।
कलाकार घरमा बस्नुपर्दा आर्थिक र मानसिक तनावमा पर्ने गरेका छन । अझ प्राविधिकहरु बढी मारमा परेका विकको भनाइ छ । ‘कलाकारीताबाटै जिविकोपार्जन गर्नेहरुलाई निकै समस्या परेको छ । सर्ट फिल्म खेल्दा कुनै पारिश्रमीक पाउँँदैनन् । दर्शकलाई सन्देश दिने किसिमको काम भएको छ’,उनले भने । चलचित्र समुहमा देखाइने भएको कारणले गर्दा निकै समस्या भएको हो । सिनेमा चल्न नपाउँदा निर्माता, हल सञ्चालक, कर्मचारी सबै समस्यामा परेका छन । सरकारले कलाकारिताको क्षेत्रमा कुनैपनि किसिमको कदम नचलाएको उनले गुनासो पोखे । लकडाउन खुलेपनि समूहमा देखाइने भएकाले सञ्चालनमा आउन ढिला हुने उनले बताए ।
वरिष्ठ कलाकार प्रकाश घिमिरेका अनुसार लकडाउनले कलाकारहरुलाई पार्नुसम्मको समस्या पारेको छ । ‘आफूलाई रोक्न नसक्नेले यो बेला छोटो फिल्महरु बनाएपनि नयाँ कलाकारहरुको भने सृजनशीलता घटेको छ । अभिनयको भोक मारिराखे पनि आम्दानी भने भएको छैन’, उनले भने,‘कलाकारहरु बसिरहन सक्दैनन् बरु भोक खपिएला, अभियनको भोक खप्न सकिँदैन ।’ पुराना कलाकारलाई भन्दापनि कोरोनाले नयाँ कलाकारलाई प्रभाव पारेको उनको ठहर छ । विशुद्ध कलाकार भएर आफ्नो जन्मस्थान छाडेर काठमाडौंमै डेरा जमाएकाहरु खुम्चिएर बसेको उनले सुनाए । ‘घर जाने स्थिति छैन । कतिपय अझैपनि एकदम समस्यामा छन । कलाकारीताकै क्षेत्रमा लाग्नेलाई निकै गाह्रो भएको छ’, उनले भने । प्राविधिक, संगीतकारलगायत पर्दा पछाडि काम गर्ने हजारौं मान्छेको रोजीरोटी खोसिएको बताउँदै उनले लकडाउनले समग्र चलचित्र क्षेत्र नै अप्ठेरोमा परेको स्वीकारे । उनले नेपाली चलचित्रले गति लिएको अवस्थामा प्रदर्शन रोकिनुले बजारसमेत गुम्नसक्ने तर्क गरे । यतिबेला पोखरामा रहेका विन्ध्यवासिनी,श्रीकृष्णसहितका क्युएफएक्स हलहरु सबै बन्द छन् । ती हलहरुमा पुग्ने दर्शक घरमै बसेर वैकल्पिक स्रोतबाट मनोरञ्जन लिइरहेका छन् । पोखरा नेपाली चलचित्रको महत्वपूर्ण बजार हो । पोखरामा फिल्म रिलिज हुनु र चल्नुले समग्र चलचित्रको सफलता वा असफलता मापन गरिन्छ ।





