बागलुङ, २५ साउन– सुत्केरी हुनुपूर्वनै बच्चाको हात र साल खसेपछि बागलुङको बडिगाड गाउँपालिकाबाट एक गर्भवती महिलाको उद्धार गरिएको छ ।
बडिगाड गाउँपालिका–७ की १७ वर्षीया गर्भवती लक्ष्मी गुरुङलाई सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशले उद्धार गरेको हो । उनलाई हेलिकप्टर मार्फत गण्डकी अस्पताल पोखरा पु¥याईएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।
सुत्केरी व्यथा लागेर भिमगिठे स्वास्थ्य चौकी पु¥याईएकी गुरुङको बच्चा जन्मनु भन्दा पहिलेनै साल खसेर र बच्चाको हात बाहिर निस्के पछि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङ लगिएको थियो । प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङमा पनि सुत्केरी गराउन नसकेपछि सामाजिक विकास मन्त्रालयको सहयोगमा गण्डकी अस्पताल पोखरा पु¥याईएको वडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाईजाले बताए ।
स्वास्थ्य निर्देशनालय पोखराका अनुसार यस्तो अवस्थामा आमा र बच्चा दुवैको ज्यान खतरामा पर्ने हुन्छ । उनको समयमा उद्धार भएकाले शल्याकृया मार्फत सुत्केरी गराईने गण्डकी अस्पतालले जनाएको छ ।





