उमेरले करिब ६० पुग्न लागे धनबहादुर घले । धेरै भयो उनी, पोखरा वृद्धाश्रममा बसेका । वृद्धाश्रमको केन्द्रमा रहेको छ बन्दै गरेको बगैंचा । त्यसको बीचमा रहेको हिड्ने बाटोमा प्लास्टर गर्न उनी, साकीमान घिसिङ र भक्त वीर मगर व्यस्त थिए । कोही आमाहरु बगैंचामा दुबो सार्न व्यस्त देखिन्थे त कोही छेउछाउको गिट्टी पन्छाउन । कोही सिमेन्ट र बालुवा मुछ्दै थिए त कोही बाल्टिनमा पानी ओसार्दै । पाका तर स्वास्थ्यले नसक्नेहरु अलि टाढै बसेर काम अराउँदै अर्ती दिदैँ थिए । छेउछाउमा विभिन्न फूल अनि धूपिका बिरुवाहरु रोपिए । केही छिनमै खाली ठाउँमा बगैंचाको स्वरुप तयार भयो । माहामारी समयको उपयोगिताको एक उदाहरण हो यो ।
कोरोना महामारीले पोखरा पनि आक्रान्त बनिरहेको अवस्था छ । पोखरा १७ सीतापाइलामा अवस्थित पोखरा वृद्धाश्रमका बाआमाहरु यस्तै फरक कार्यहरुमा व्यस्त छन् । वृद्धाश्रमबाट बाहिर निस्किने अवस्था पनि छैन । एक त काममा व्यस्त रहँदा समय बितेको पनि पत्तै नहुने र अर्को यसले स्वस्थ पनि बनाउने । त्यसैले सबैको सक्रियतामा सानो बगैंचा पनि तयार भयो । यही बगैंचाको परिसरमा तितामिठा गफगाफका पोका फुकाउने छन् अब बाआमाहरु । अनि कटाउँने छन् बाकीँ दिनहरु ।
पोखरा वृद्धाश्रम । गण्डकी प्रदेशकै ज्येष्ठ वृद्धाश्रम । यस संस्थाका संस्थापक हुन्, स्व. ऋषि केशव पराजुली । जो पोखराकै शिक्षा क्षेत्रमा एक महान हस्ती पनि थिए । उनैले वि.सं. २०५३ सालमा स्थापना गरेको यस संस्थाले हालसम्म ३०० भन्दा बढी वृद्धवृद्धाहरुलाई आश्रय मात्र दिइसकेको छैन, कैयौंलाई नयाँ जीवन पनि दिइसकेको छ । वन कार्यालयको चेक पोष्टका रुपमा रहेको यस क्षेत्रलाई सरकारले वृद्धाश्रमलाई भोकाधिकार दियो र हाल १३ रोपनी ५ आनाको क्षेत्रफलमा फैलिएको छ, वृद्धाश्रम । अनि बनेको छ गण्डकी प्रदेशकै एक उदाहरणीय अनि व्यवस्थित वृद्धाश्रम । परिसरमा सभा हल, डाइनिङ हल, किचन, स्वास्थ्य उपचार केन्द्र, अपांगमैत्री आभास, मन्दिर अनि बगैंचा रहेका छन् ।
चीनको युवान प्रान्तबाट फैलिएको कोरोना माहामारी विस्तारै विश्वभर फैलियो । भाइरस नेपालमा आइपुग्न धेरै समय लागेन । संक्रमितको संख्या बढ्दै गएसँगै सरकारले नेपालमा पनि चैत ११ बाट लकडाउन सुरु गर्यो । अत्यावश्यक काम बाहेक बाहिर निस्कन प्रतिबन्द नै लगाइयो । यसले शिक्षा, स्वास्थ्य, यातायात लगायत देशकै सम्पूर्ण क्षेत्रमा प्रत्यक्ष प्रभाव देखियो । विश्व स्वास्थ्य संगठन (डब्लु एच ओ) ले विशेष गरी बालबालिका र वृद्धवृद्धा यस भाइरसको जोखिम रहेको तथ्य बाहिर ल्यायो । यससँगै वृद्धाश्रम र बालगृहमा बढी चुनौती देखियो ।
यता पोखरा वृद्धाश्रमले आफ्नै सुरक्षाका रणनीतिहरु अपाउँन थालें । बाआमालाई बाहिर जान करिब दुई महिना रोक नै लगाइयो । यति मात्र हैन, वृद्धाश्रममा आफन्त वा सहयोगी दाताहरुलाई पनि प्रवेशमा रोक लगाइएको कुरा बताउँदै अहिलेका कार्यकारी अध्यक्ष कुशुव पराजुलीले भने, ‘बाआमालाई वृद्धाश्रम परिसर भित्रै सीमित राख्नु चुनौतीपूर्ण विषय पनि थियो । हिँडडुल अनि बाहिर घुमफिर आवश्यक त हो नै तर अहिलेको माहोल नै ठिक छैन । सीमित परिधि भित्र राख्दा कतै मानसिक समस्या देखिने त हैन भन्ने डर पनि थियो । त्यसैले उहाँहरुलाई वृद्धाश्रम परिसरभित्रै विभिन्न कार्यहरुमा व्यस्त बनाउँने प्रयास गरेका छौं ।’
करिब चार महिनाभन्दा बढी कोरोना माहामारीले आक्रान्त भएसँगै यसको असर प्रत्यक्ष र अप्रत्यक्ष रुपमा यहाँ पनि देखिएको छ । विशेष त आर्थिक पाटो नै । करिब ५५ जना वृद्धवृद्धालाई बिहान बेलुकाको खाजा र खाना व्यवस्थामा अफ्ठ्यारो स्थिति देखा प¥यो । न त सरकारी निकायबाट नै कुनै राहत वा सहयोग मिल्यो । केही थान साबुन, मास्क अनि सेनिटाइजर मात्र नगरपालिकाबाट सहयोग मिलेको थियो । ‘मनकारी दाताहरुलाई पनि वृद्धाश्रमसम्म आवातजावातमा कठिनाइँ भयो । वृदाश्रमसम्म आउन नमिल्ने अवस्था भएकाले बाहिरै अन्यत्र नै भेटेर राहत र सहयोग लिने पनि गरेका छौं,’ उनले भने ।
वृद्धाश्रममा आफ्नै ५ वटा गाईहरु पालिएका छन् । ताजा र पोसिलो दुध यही तयार हुन्छ । ‘आफ्नै परिसरमा ताजा सागसब्जीहरु पनि उत्पादन गरिन्छ । यसले केही हदसम्म अभावलाई पूर्ति मात्र गरेको छैन, बाआमाको स्वास्थ्यमा पनि सकारात्मक परिवर्तनहरु देखिएका छन्,’ यसै संस्थाका स्वास्थ्य निरिक्षक एवंम् व्यवस्थापक शिशिर पराजुलीले भने, ‘बाहिर धेरै हिँडडुल र बाहिरी खानेकुराको कम सेवन गरेसँगै बाआमाको स्वास्थ्यमा सुधार देखिएको छ । पहिला हप्तामा ५÷६ जना बाआमालाई अस्पतालमा चेकजाँचका लागि लगिरहनु पथ्र्यो, जुन संख्या अहिले घटेको छ । यो चाहिँ अहिलेको माहामारीको अवस्थामा यहाँ देखिएको सकारात्मक पक्ष हो ।’ तर चुनौती पनि उत्तिकै थपिएका छन् । ५३ जना बाआमा मध्ये १२ जना पत्थरी, ५ जना सुगर, ५ जना मानसिक अवस्था सुधार गर्ने औषधीको नियमित सेवन गर्छन् । लकडाउनको समयमा विशेष गरी दम, थाइरोइड अनि डिप्रेशनका औषधीको अभाव भएको थियो । लकडाउनसँगै नियमित रुपमा अस्पताल गएर गरिने चेकजाँच मात्र रोकिएन, समयसमयमा विभिन्न संघसंस्थाले आयोजना गर्ने स्वास्थ्य शिविरहरु पनि सम्पन्न हुन सकेन । कति बेला एम्बुलेन्स नपाएर अस्पतालमा ट्याक्सी रिजर्भ गरेर इमर्जेन्सीमा भर्ना भएको क्षण सुनाउँदै उनले थपें, ‘सरकारले वृद्धवृद्धालाई भनेर यस्तो माहामारीको समयमा विशेष व्यवस्था गर्नु पथ्र्यो । तर भ्रष्टाचार अनि राजनीतिक खिचातानीमा लिप्त सरकारले कुनै विशेष व्यवस्था ल्याउन नसक्नु आफैंमा चिन्ताजनक विषय रह्यो ।’
सावित्री गौतम । उमेरले ८६ पुगे उनी । वृद्धाश्रममा बसेको पनि १० वर्ष भन्दा बढी भयो उनको । हिँडडुल गरेर बाहिर गइरहने बानी थियो उनको तर माहामारी फैलिएसँगै उनको दैनिकी फेरिएको छ । विदेशमा रहेको छोरीसँग फोनमै कुरा गर्छन् । एक अर्कासँग सुखदुखका कुरा बाड्छन् । बाबियो र प्लास्टिकबाट स–साना हस्तकलाका सामग्रीहरु तयार पार्छिन् । कोरोना भाइरस अनि अहिले विशम परिस्थिति बारे उनी भन्छिन्, ‘मर्ने बेला भइसक्यो बाबु, अहिलेसम्म यस्तो कुनै रोग नै सुनेको थिएन । यो मास्क लाउँदा लाउँदा पनि वाक्क लागिसकेको छ, सास फेर्न पनि गाह्रो हुन्छ । बाहिर यसो हिँडडुल गर्न पनि पाइएको छैन । खै के के थरी रोग आयो । मान्छेहरु सब अधर्मी बने, कलियुगमा के के भयो, भयो ।’
१०३ वर्षीय नन्दलाल दाहाल यस वृद्धाश्रमकै ज्येष्ठ नागरिक हुन् । तर हट्टाकट्टा अनि स्वस्थ छन् उनी । अझैसम्म नियमित औषधी सेवन गर्नु परेको छैन । फरक छ उनको वृद्धाश्रमसम्मको यात्रा । उमेर छदा उनी एक जना साहु कहाँ काम गर्थे । बिहे गराइदिने र केही सम्पति पनि दिने प्रलोभनमा उनलाई कैयौं वर्ष साहुले काममा जोताए । उमेर गएको पत्तै भएन । उमेर गएसँगै साहुले उनलाई कामबाट निकालिदिए । साहु यहाँको जग्गाजमिन बेचेर काठमाडौं गए । अनि उनको आश्रय बन्यो वृद्धाश्रम । उनलाई न कोरोनाको बारेमा थाहा छ, न मास्क लगाउनु पर्ने बारेमा ज्ञान । अनविज्ञ छन् उनी । बस्, उनलाई दुई छाक पेट टन्न भए पुग्छ ।
बृद्धाश्रममा रहेका ५३ जना वृद्धवृद्धा फरक–फरक जातजाति अनि धर्मका छन् । आफ्नै फरक भाषा बोल्छन् अनि फरक आस्था अनि विश्वास बोक्छन् । तर। एकता अनि मेलमिलापमा बसेका छन् ,उनीहरु । अनि बनेको छ, एउटा ५५ जनाको ठूलो परिवार । वृद्धाश्रमसम्मको यात्राको पनि आफ्नै फरक फरक कथाहरु छन् । कोही बेबारिसे अवस्थामा उद्धार गरिएका हुन् त कोही आफ्नै भनौदाहरुले लत्याएर वृद्धाश्रम ल्याइदिएका हुन् । धेरैको बाध्यताले वृद्धाश्रमसम्म बाटो दो¥याएको हो । कोही आफ्नै इच्छाले आएका पनि छन् ।
वृद्धाश्रमको स्थापना कालदेखि नै सेविकाको रुपमा आबद्द छिन् दम्बर कुमारी पुन । २० औं वर्ष यसै आश्रममा आबद्द उनले कैयौं वृद्धवृद्धाको स्याहारसुसार मात्र गरिनन्, उनीहरुको आर्शीवाद पनि पाएकी छिन् । कोरोना माहामारी फैलिएसँगै अझ बढी सरसफाइ र स्वास्थ्य सुरक्षा चुुस्त बनाउन लागि पछिन् उनी र उनको टोली । बाआमालाई कोरोना बारे बुझाउन त्यति सहज भने छैन, उनले थपिन्, ‘हामीले सबै बाआमालाई अनिवार्य मास्क लगाउने, सामाजिक दुरी कायम गरेर खाना वा खाजा खाने र समूहमा नबस्न आग्रह गरेका छौं । तर सबैलाई बुझाउन सम्भव पनि हुँदैन र यो पूर्ण रुपमा कार्यानयन पनि हुँदैन । उमेरसँगै बाआमाले बुझ्न नसक्नु उहाँहरुको कमजोरी हैन तर हामीले सक्दो प्रयास चाहिँ गरिरहेका छौं ।’
कोरोना माहामारीले विश्वको हरेक क्षेत्रलाई आक्रान्त पारेको कुरामा कुनै दुई मत छैन । यही समयलाई उपयोग गर्दै वृद्धाश्रमका बाआमाहरु विभिन्न कार्यमा लागेर समयको उपयोग मात्र गरेका छैनन्, सक्ने काम गरेर स्वस्थ बन्न पनि अभिप्रेरित बनेका छन् । वृद्धाश्रम भित्रै बसिरहँदा स्वास्थ्य पनि धेरै सुधार आउनु आफैंमा सुखद पक्ष पनि हो । कमजोर पाचन प्रणाली र स्वास्थ्य भएका वृद्धवृद्धालाई बाहिरी खानेकुराहरुको सेवन कम गर्नु पर्छ भन्ने पाठ लकडाउनले सिकायो । आफ्नै परिसरमा ताजा तरकारी र गाइ पालेर केही हदसम्म आत्मनिर्भरताको बाटोमा लाग्नु पर्छ भन्ने ज्वालन्त उदाहरण पनि हो ।
यति भनिरहँदा सरकारको पक्षबाट यस्तो माहामारीको समयमा वृद्धवृद्धाहरुलाई त्यति ध्यान नपुगेको प्रष्ट देखिन्छ । स्वास्थ्य उपचार देखि खानपिनको व्यवस्थामा ध्यान दिनु आवश्यक देखिन्छ । कति नागरिकता नभएकै बाआमाले मासिक भत्ता र निशुल्क स्वास्थ्य सेवा उपयोग गर्न नपाएको तीतो यथार्थ स्थानीय निकाय सामु पु¥याउन नितान्त आवश्य देखिन्छ । वृद्धवृद्धाहरु भगवान सरह हुन्, इतिहासका धरोहर मानिने उनीहरुलाई उच्च सम्मान साथ राम्रो व्यवस्था सरकारबाट गरिनुपर्छ ।
अन्त्यमा कुनै पनि वृद्धवृद्धा बाआमाहरु वृद्धाश्रमको बाटो नरोजुन् । अझ भन्छु, देशमै कुनै वृद्धाश्रमको स्थापनाको जरुरत नपरोस् । सबैले आफ्नै परिवारमा माया पाउन सकून् । अनि कोही नहुन् बेसाहरा अनि अपहेलनाको पात्र । अनि बनुन् एउटा सम्पन्न र सुखी नेपाल ।





