सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

स्वास्थ्यकर्मी भन्छन्– ‘कसरी संक्रमण भयो पत्तै भएन !’

स्वास्थ्यकर्मी भन्छन्– ‘कसरी संक्रमण भयो पत्तै भएन !’

संक्रमित भएको जानकारी आउनेवेला सम्मपनि बिरामीसँगै थिईन् नर्स


  • ढोरपाटन संवाददाता
  • साउन २९ २०७७, बिहिबार

बागलुङ, २९ साउन– ‘म कुनै बिरामीको सम्पर्कमा आएको छैन, व्यवस्थापकीय काम गरेको हो । स्वाव लिन ल्यावका साथीहरु जानुभयो, नाम दर्ता र चलानीको काम सबै सिस्टरहरुले गर्नुभयो ।’ कोरोना संक्रमण भएर निको भएका जिल्लाको जैमिनी नगरपालिका–१ कुश्मीशेराका ५२ वर्षिय स्वास्थ्यकर्मी भन्छन् ‘ट्राभल हिस्ट्री त छ, तर सँगै गएका बाँकी ६ जनाको रिपोर्ट नेगेटिभ छ ।’ बागलुङमा पहिलो पटक कोरोना संक्रमण भएका बिरामी देखिएको चैत १५ गते हो ।
त्यस यता २ सय ६३ जना कोरोनाका बिरामी फेला परेका छन् । जसमध्ये एक जनाको मृत्यु भएको छभने ४ जना स्वास्थ्यकर्मीनै हुन् । कोरोना पुष्टि भएका बिरामीको उपचारमा पहिलो दिनदेखिनै स्वास्थ्यकर्मी उपचारमा संलग्न थिए र छन् । पहिलो संक्रमित देखिएको झण्डै साढे चार महिनापछि बागलुङमा धमाधम स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिन थालेको छ । स्वास्थ्य क्षेत्रमा पहिलो संक्रमित देखिएका पुरुष हुन् जैमिनी नगरपालिकाका ५२ वर्षिय पुरुष । उनी तीन दिनमै निको भए भने उनको सम्पर्कमा रहेका परिवारका सदस्य र कार्यालयमा दिनभर सँगै हुने कर्मचारीको रिपोट नेगेटिभ आयो ।
उनको सम्पर्कमा रहेकाको जाँच सकिएपछि अर्को कोरोना संक्रमित स्वास्थ्यकर्मी बनिन् जैमिनीबाटै काजमा धौलागिरी अस्पतालमा आएकी नर्स । उनी पनि संक्रमितको प्रत्यक्ष सम्पर्कमा थिईनन् । सिसिटिभी हेरेर फोनको आधारमा हुने काममा सक्रिय उनी कसरी संक्रमित भईन भन्ने अहिलेसम्म पत्तो छैन् । सँगै बसेकी नर्सको रिपोर्ट नेगेटिभ आएको छ । उनको अप्रत्यक्ष सम्पर्कको खोजी हुँदा धौलागिरी अस्पतालका स्वास्थ्यकर्मीको जाँच हुनु स्वभाविक थियो । अस्पतालका प्यारामेडिक्स एचए देवप्रकाश घिमिरे र थप एक जना नर्सको कोरोना पोजेटिभ आयो ।
धौलागिरी बहुमुखी क्याम्पसको आईसोलेसनमा व्यवस्थापकीय काम गरेका घिमिरे बिरामीको नजिक थिएनन् भने पोजेटिभ देखिएकी नर्स नतिजा आउने बेलासम्म पनि बिरामीको उपचारमा संलग्न थिईन् । ‘म बिरामीको नजिक परेको छैन् तर कसरी कोरोना सल्कियो थाहा भएन’ घिमिरे भन्छन् ‘आईसोलेसनको व्यवस्थापकीय काम त गरियो तर कहाँबाट संक्रमण भए होला र !’
जिल्लामा संक्रमण पुष्टि भएका चारै जना स्वास्थ्यकर्मीको अवस्था उस्तै हो । कोही पनि बिरामीको नजिक परेका छैनन् तर संक्रमण पुष्टि भएको छ । ‘पहिले–पहिले कार्यालय जाँदा सेनिटाईजर र मास्क बिना नजाने हामी दिन दिनै गएकै ठाउँ न हो भनेर पछिल्लो समय बेवास्ता पनि गरियो’ घिमिरे भन्छन् ‘कार्यकक्षमा आउने बिरामीलाई हेर्दाका बखतको संक्रमण पनि हुनसक्छ ।’
बिरामीको उपचारमा संलग्न तर प्रत्यक्ष संक्रमितसम्म नपुगेका स्वास्थ्यकर्मीमा कोरोना देखिँदा खोजीको विषय बनेको छ । ‘हामी आईसोलेसन जाँदा मात्रै पिपिइ लगाएका छौं तर अन्य समय मास्ककै भरमा काममा छौं’ धौलागिरी अस्पतालका प्रमुख डा. शैलेन्द्र वि. पोखरेल भन्छन्– ‘समुदायमा कोरोना भएको भए हामीमा सजिलै आउँछ ।’ कोरोना पुष्टि हुने बेलासम्म काममै रहेकी नर्सको सम्पर्कमा आएका र घिमिरेको सम्पर्कमा आएकाहरुको ट्रेसिङ सुरु भएको छ । पछिल्लो पटक सम्पर्कमा आएको पाँच दिन बिताएर मात्रै स्वाव संकलनको तयारीमा अस्पताल छ । ‘५ जना डाक्टर र ७ जना नर्स क्वारेन्टाईनमा हुनुहुन्छ’ डा. पोखरेल भन्छन् ‘नर्सले भेटेको वार्डका बिरामीलाई सम्बन्धित वार्डमै रिपोर्ट नआउने बेलासम्म राखेर जाँच गर्दैछौं ।’
बिरामीको चाप बढ्ने, ओपिडीमा बिरामीको जाँच गर्दा अपनाईएको सावधानी पर्याप्त नहुँदा कोरोना संक्रमणको शिकार स्वास्थ्यकर्मी हुनुपरेको उनको भनाई छ । बागलुङमा स्वास्थ्यकर्मीमा संक्रमण देखिएपछि समुदाय स्तरमा रेन्डम्ली जाँच भएको थियो तर सबैको नतिजा नेगेटिभ छभने पहिलो कोरोना संक्रमित नर्सको सम्पर्कमा आएका धेरैको नतिजा समेत नेगेटिभ आएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->