पोखरा, २९ साउन– नेपाली कांग्रेस कास्कीले पोखरा महानगरपालिकाले राजश्व हिनामिनाको सत्यतथ्य बाहिर ल्याउन माग गरेको छ । कास्की काग्रेसका सभापति कृष्ण केसीको नेतृत्वमा गएको टोलीले महानगरपालिका प्रमुख मानबहादुर जिसीलाई ज्ञापनपत्र बुझाउँदै आर्थिक अनियमितता सानो वा ठूलो नहुने भएकाले तत्काल सत्यतथ्य बाहिर ल्याउन माग गरेको हो ।
ज्ञापनपत्रमा नगरबासीले तिरेको करमध्येको १३ करोड बढी रकम हिनामिना हुनु सामान्य विषय नभएको भन्दै यस्तो गम्भीर विषयको तत्काल छानविन गरी दोषीलाई कडाभन्दा कडा कारवाही गर्न माग गरिएको छ । कास्की कांग्रेसले पोखरा महानगरपालिका वडा नं २१ का वडा सदस्य राम गुरुङले विकास निर्माणको बजेटमा कमिसन मागेको अडियो सार्वजनिक हुनु अत्यन्तै अशोभनीय र लज्जाजनक विषय भएको भन्दै सत्यतथ्य छानविन गरी दोषी उपर कडा कारवाहीको माग गरेको छ ।
यस्ता विषयमा महानगरपालिका समयमा नै गम्भीर नभए अवस्था भयावह हुने चेतावनी समेत कास्की कांग्रेसले दिएको छ । त्यस्तै, महामारीको अवस्थामा संक्रमितको उपचारलाई व्यवस्थित गर्न र कोरोना परीक्षणको दायरा बढाउन आवश्यक देखिएकाले त्यसतर्फ गम्भिरता देखाउन महानरपालिकाको ध्यानाकर्षण गराइएको छ । लकडाउनका बेला संकलित र वितरित राहत विवरण अझैसम्म सार्वजनिक नभएकोप्रति निन्दा गर्दै तत्काल राहत विवरणको हिसाब सार्वजनिक गर्न र महानगरपालिका भित्रका बेथितिबारे कांग्रेसबाट निर्वाचित ११ जना वडाध्यक्षले उठाएका १६ विषयप्रति गम्भीर बन्न महानगरपालिकाको ध्यानाकर्षण गराइएको छ । कास्की कांग्रेसका सभापति कृष्ण केसीले महानगरपालिकाका गतिविधिका कारण जनप्रतिनिधिप्रति जनताको विश्वास घटेको भन्दै दुःख व्यक्त गरे । आफूहरुले उठाएका विषयमा गम्भीर नभए आन्दोलन गनुपर्ने अवस्था सृजना हुने उनले चेतावनी दिए ।पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले महानगरमा राजश्व हिनामिना भएको स्वीकार्दै छिट्टै सत्यतथ्य जनतासामु ल्याउने प्रतिवद्धता व्यक्त गरे । उनले यसको लागि गठित छानविन समितिले काम थालेको जानकारी पनि गराए । उनले वडा नम्बर २१ का वडासदस्य रामबहादुर गुरुङले रकम माग्दै उपभोक्ता समितिका अध्यक्षलाई धम्याएको अडियो काण्डको पनि छानविन थालिएको जानकारी गराए ।





