शारीरिक तथा मानसिक विकासका हिसाबले किशोर अवस्था र बयस्क अवस्थाबीचको उमेर समूहलाई युवाको रुपमा बुझिन्छ । युवामा साहस, जोसजाँगर, बल, धैर्यता, परिवर्तनशिलता, विवेकशिलता, आविष्कार तथा खोज अनुसन्धान गर्ने क्षमता, उच्च इच्छाशक्ति र आत्मविश्वास जस्ता गुणहरु रहेका हुन्छन् । शारीरिक तथा मानसिक तन्दुरुस्तीका कारण युवाले चाहेमा जस्तोसुकै परिवर्तन पनि सम्भव छ भन्ने कुरामा विश्वस्त हुन सकिन्छ । राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा युवाको जनसंख्या ४०.३५ प्रतिशत रहेको छ । राष्ट्रिय युवा नीतिअनुसार १६ वर्षदेखि ४० वर्ष उमेर समुहका व्यक्तिलाई युवा मानिएको छ । संयुक्त राष्ट्र संघले १५ वर्षदेखि २४ वर्षको उमेर समूहलाई युवा मान्ने गरेको छ । वि.सं २०६५ सालमा मात्र युवा तथा खेलकुद मन्त्रालयको स्थापना भयो । युवाको विकास र समस्या सम्बोधन गर्ने भनि स्थापना गरियता पनि युवा मन्त्रालयमा प्राप्त बजेटको अभाव रहेको देखिन्छ । युवा तथा खेलकुद मन्त्रालयलाई सीमीत दायरा, कमजोर मन्त्रालयको रुपमा राजनीतिज्ञले लिने गरेको अनुभव हुन्छ । यसो हुनु भनेको युवाप्रति उपेक्षित व्यवहार अझैसम्म छ भन्ने अनुमान गर्न सकिन्छ ।
नेपाली युवामा सबैभन्दा ठूलो समस्या भनेको बेरोजगारी नै हो । त्यस कारण युवाले आफ्नो उर्जाशिल समय खाडी मुलुकमा पसिना बगाउनु पर्ने बाध्यता रहेको छ । नेपालमा रोजगारीका अवसरहरु नहुँदा प्रत्येक वर्ष झण्डै ४ लाख युवा जनशक्ति बैदेशिक रोजगारीमा जाने गरेका छन् । मुलुकमा जति पनि राजनीतिक परिवर्तन भएपनि युवाको समस्याको बारेमा भने जस्ताको त्यस्तै देखिन्छ । विगतमा भएका जनआन्दोलनपछिको उपलब्धिले पुरानो आर्थिक संरचनालाई परिवर्तन गर्न सकेन । भुकम्प, अघोषित नाकाबन्दी र अहिलेको विश्व महामारीको रुपमा रहेको कोभिड–१९ को असरले नेपालको अर्थतन्त्रलाई निकै कमजोर बनायो । अन्तराष्ट्रिय मुद्राकोषका अनुसार सन् २०२० मा विश्वको अर्थतन्त्र ३ प्रतिशतले संकुचन हुने जनाएको छ । त्यसैगरी नेपालमा केन्द्रिय तथ्यांक विभागले जीडिपी बृद्धिदर २.२७ प्रतिशतमा सीमित रहने बताएको छ । अब उद्योग कलकारखाना व्यापार व्यवसाय विगतको तुलनामा नचल्ने प्रष्ट छ । कैयौं उद्योग व्यवसाय, होटल रेस्टुराँहरु बन्दहुने स्थितिमा पुगेका छन् । यसरी बन्द हुँदा त्यहाँ आवद्ध मजदुर कर्मचारीहरुको जागिर गुम्ने निश्चित छ । यसरी रोजीरोटी गुमाएका मजदुर कर्मचारीलाई वैकल्पिक राहतको व्यवस्था गरी अन्य रोजगारी तथा उत्पादनशिल क्षेत्रमा प्रवेश गराउनु राज्यको प्रमुख आवश्यकता दायित्व मानिन्छ देखिन्छ । वैदेशिक रोजगारीमा गएका लाखौं युवाहरु यो महामारी पश्चात नेपाल फर्कने निश्चित जस्तै छ । यस्तो समस्या समाधान गर्न अब सरकारले व्यवस्था, विकल्पहरु अपनाउनु पर्ने देखिन्छ ।
देशको युवाशक्तिलाई स्वदेशमा नै विभिन्न अवसरहरु प्रदान गरि विदेश पलायन हुनुपर्ने स्थितिको अन्त्य गर्न सरकारले उपयुक्त सोचको निर्माण गर्नुपर्दछ । युवाहरुमा न धन छ, न त अनुभव र सिप नै छ । उनीहरुमा केवल अध्ययन गरेको सर्टिफिकेटबाहेक केही छैन । वषौँसम्म लगानी गरी अध्ययन गरेकाले कृषिमा चासो नदेखाउनु र समाजले धेरै पढेको युवाले किसानी काम गर्दा खिल्ली उडाउने प्रवृत्ति हाबी हुनाले युवाको जाँगर प्रकट हुन सकेको छैन । हाम्रा गाउँघरमा प्रशस्त बाँझा जमिन छन् त्यसैले ति जमिन कुनै उपयोग भएको छैन । यहाँ प्रशस्त जमिन गाउँमा छन् तर युवाहरु शहर र विदेशमा छन् । शहरमा सुविधा छ प्रशस्त जमिन छैन । खाद्यान्न उब्जाउका लागि जमिन चाहिन्छ । जमिनको सदुपयोग नगर्नाले भारतबाट ठूलो परिमाणमा खाद्यान्न सामग्रीको आयात गर्नुपरेको छ । यसरी नेपाली बजारमा विदेशी वस्तुको हाबी भैरहेको छ र करोडौँ रुपैयाँ विदेशिएको छ । कृषिमा कुनै पनि आधुनिक प्रणालीको विकास नहुनु, कृषकलाई उत्साहमुलक कार्यक्रमहरु नल्याउनु र तालिमहरु नदिनु, कृषि पेशालाई पेशाकै रुपमा नलिनुजस्ता समस्याहरु व्याप्त रहेकाले कृषिमा युवाको आकर्षण घट्दै गएको छ । कष्टकरपूर्ण कृषि प्रणालीलाई त्याग्दै आधुनिक प्रणालीको विकास गर्न हामी सबै लाग्नु पर्दछ । नत्र भने देशमा युवाको सहभागिता शुन्य हुन सक्दछ ।
नेपाल सरकारले युवाहरुलाई विदेश पलायन हुने प्रवृत्तिलाई निरुत्साहित गर्न वि.स. २०६५ सालमा युवा तथा साना व्यवसायी स्वरोजगार कोषको स्थापना गरेको छ । यसमा सहुलियत व्याजदरमा बिनाधितो आवधिक कर्जा प्रदान गर्ने जसमा व्यावसायिक खेती, कृषिजन्य उद्योग, पर्यटनजस्ता क्रियाकलापमा कर्जा प्रवाह गर्ने गर्दछ । हरेक राजनीतिक परिवर्तनलाई संस्थागत गर्न नेपाली युवाहरुको अतुलनिय योगदान रहेको छ । नेपालले युवा विकासको क्षेत्रलाई संबैधानिक रुपमा राज्यको निर्देशक सिद्धान्तभित्र समेटको छ । नेपाल सरकारले अघि सारेका कार्यक्रमहरुबाट सबै युवाहरु लाभान्वित हुनुपर्दछ । वैदेशिक रोजगारीबाट प्राप्त ज्ञान सीपलाई नेपालमा नै उत्पादनमूलक क्षेत्रमा लगानी गरे देश र स्वयम् आफैलाई ठूलो फाइदा पुग्दछ ।
राज्यले नेपाली युवालाई उपयुक्त श्रमको सम्मान, रोजगारको ग्यारेन्टी प्रत्याभूत गर्न नसकेसम्म युवाहरु विदेशमा पलायन भइरहने गर्दछन् । आर्थिक विकास र समृद्धिको लक्ष्य हासिल गर्न मुलुकमा युवाशक्तिको अधिकतम प्रयोग गर्नु पर्दछ । युवालाई उद्यमशिलताका कार्यक्रममा अर्थपूर्ण सहभागिता गराउन सकियो भने देश विकास र समृद्धिमा महत्वपूर्ण योगदान पुग्दछ । संविधानले प्रत्याभूत गरेको रोजगारीको हकलाई कार्यान्वयन गर्न रोजगार कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने देखिन्छ । वैदेशिक रोजगारलाई सुरक्षित, नियमित, व्यवस्थित र मर्यादित बनाउने तथा स्वदेशमा नै रोजगारीको अवसरहरु सृजना गर्ने र वेरोजगारी समस्या न्यूनिकरण गर्ने प्रमुख दायित्व सरकारको हो । आर्थिक वर्ष २०७७÷७८ को मौदि«क नीतिमा आगामी दुई वर्षभित्र वाणिज्य बैंकहरुले कुल कर्जाको १५ प्रतिशत ऋण लगानी कृषि क्षेत्रमा गर्नुपर्ने व्यवस्था गरेको छ । यो विगतको भन्दा ५ प्रतिशतले बढी हो । व्यवसायिक रुपमा गरिने फलफूललाई प्रोत्साहन गरिने मौदि«क नीतिमा उल्लेख छ ।
आर्थिक वर्ष २०७७÷७८ को बजेट वक्तव्यमा युवा उद्यमशिलता विकासका लागि सबै प्रदेशमा युवा नवप्रवर्तन केन्द« स्थापना गरिने छ । युवालाई व्यावसायिक तथा उद्यमशिलता तालिम नवप्रवर्तन पूँजी र प्रविधिमा पहुँच तथा सहज व्यावसायिक वातावरण उपलब्ध गराई उद्यमी बनाइने छ । प्रधानमन्त्री रोजगार कार्यक्रममा रु. ११ अर्ब ६० करोड छुट्टाइएको, विदेशबाट फर्किएका युवाका लागि सीप विकास तालिम रु. १ अर्ब, एक स्थानीय तह एक कृषि तथा पशु प्राविधिकका लागि रु. ५० करोड छुट्टाइएको छ । कृषिको आधुनिकीकरण, यान्त्रिकरण र व्यवसायिकरण गरी रोजगारी सृजना गर्ने लक्ष्य राखेको छ । अर्गानिक उत्पादनलाई ब्राण्डीङ गरी बजार प्रवद्र्धन गरिने, सबै स्थानीय तहमा कृषिबजार पूर्वाधार निर्माण गरिने, उपयोगबिहिन जमिनमा खेती गर्न प्रोत्साहित गरिने उल्लेख छ । यसरी हेर्दा नेपाल सरकारबाट जारी भएका बजेट तथा कार्यक्रमबाट उद्यमशिल बन्न चाहने युवाका लागि धेरै अवसरहरु रहेको पाइन्छ तर यस्ता अवसरहरु आफ्नो पार्टीका कार्यकर्ता र आफ्ना आसेपासेलाई मात्र सीमीत नराखी निष्पक्ष ढंगले सबै युवालाई अवसर दिलाउनुपर्दछ तब मात्र युवाले अवसरको प्रत्याभूत गर्न पाउँदछन् ।
सरकारले बजेट र मौद्रिक नीतिमा व्यक्त गरे जसरी नै कृषि क्षेत्रमा लाग्ने युवालाई प्राथमिकताका साथ हेर्नुपर्दछ । युवाले उत्पादन गरेका खाद्यान्न सामाग्री सरकारले नै खरिद गरिदिनु, छुट्टै बजारको व्यवस्था गरिदिनु, ढुवानीमा केही छुट प्रदान गर्नु र निशल्क तालिम प्रदान गर्नुपर्दछ । युवासँग केही गर्ने चाहना हुँदाहुँदै पनि पैसाको अभावकै कारण उद्यमशिलतामा अगाडी बढ्न सकेका छैनन् । तसर्थ युवा उद्यमशिलताका लागि सस्तो र सरल व्याजदरमा ऋण लगानी गरिदिनुपर्छ । उनीहरुलाई वार्षिक रुपमा पुरस्कृत गरि हौसला प्रदान गर्दा युवाहरुको कृषिमा आकर्षण बढ्न सक्दछ । सरकार तथा सरोकारवाला संघसंस्थाले युवा लक्षित कार्यक्रम उपलब्ध गराउनुपर्दछ । अन्नबालीमा लाग्ने रोग तथा पशुचौपायामा लाग्ने रोगबारे जानकारी दिनु र त्यसलाई रोग लाग्न नदिन विभिन्न उपायहरु अपनाउन बेलाबेलामा विशेष सचेतनात्मक कार्यक्रमहरु सञ्चालन गर्नुपर्दछ । उन्नत जातका विउ र रसायनिक मललाई निशल्क र सहज रुपमा उपलब्ध गराउनु पर्दछ । पशुचौपायाबाट उत्पादित मासु, दुध, छाला, ऊन, रौ आदिको प्रभावकारी बिक्रिवितरण गर्न किसान र उद्योगीबिच सुमधुर तालमेल गराउनु, बिक्रिमुल्य नीति निर्माण गर्नुपर्ने आवश्यकता देखिन्छ । फलस्वरुप कृषिमा परिवर्तन आई युवाको आयआर्जनको प्रमुख स्रोत नै कृषि नै बन्न सक्दछ । युवाहरु कृषिबाट मनग्गे आम्दानी प्राप्त गर्दै जाँदा उनीहरुको विचारमा परिवर्तन हँुदै जान्छ । उनीहरु कृषि पेशासँगै औद्योगिक क्रान्ति गर्ने चाहाना राख्न सक्दछन् । आँफैले कृषि पद्घतिबाट उत्पादन गरेका वस्तुलाई औद्योगिक वस्तुमा रुपान्तरण गर्ने खोज्दछन् । त्यसैले उनीहरुमा औद्योगिक नीति अवलम्बन गराउनुपर्दछ । मेसिन खरिद प्रक्रिया, मुल्य, सञ्चालन गर्ने तरिकाको पर्याप्त ज्ञान युवालाई उपलब्ध गराउनुपर्दछ । जून विशिष्ट ज्ञान र सिपले युवालाई सक्षम बनाउन ठूलो सहयोग पुग्दछ । तसर्थ युवालाई स्वाबलम्वन बनाउनाई देशको अर्थतन्त्र उकास्नु पर्ने आजको प्रमुख आवश्यकता मानिन्छ । sharmajhalakpkr@gmail.com





