काठमाण्डौ, २ भदौ– नेपालमा अहिलेसम्मकै धेरै कोरोना संक्रमित भेटिएका छन् । गत माघमा चीनबाट फर्किएका पहिलो संक्रमित भेटिए यताकै सबैभन्दा धेरै एकै दिन एक हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर १ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संख्या नेपालमा एकै दिन भेटिएको अहिलेसम्मकै सर्वाधिक हो । लकडाउन खुलेसँगै मानिसको बढी चाप रहेका सहरी क्षेत्रमा कोरोना संक्रमण तीव्र गतिमा फैलिँदैछ । काठमाडौं, वीरगन्ज र विराटनगर जस्त सहरमा कोरोना समुदायसम्म पुगिसकेको छ । पछिल्लो पटक कोरोनाको हटस्पट काठमाडौं उपत्यका बनेको छ । यसबाहेक प्रदेश २ का का पर्सा, धनुषा, रौतहटसहितका जिल्लामा पनि कोरोना संक्रमण बढ्दो छ ।





