पोखरा, ३ भदौ – रेडियो अन्नपूर्णबाट सिइओ दिपेन्द्र श्रेष्ठसहित पाँच जना विभागिय प्रमुख र सञ्चारकर्मीले एकसाथ राजिनामा दिएका छन् । रेडियोका सिइओ श्रेष्ठसहित मार्केटिङ प्रमुख भोला श्रेष्ठ, लेखाप्रमुख अगन्धर सुवेदी, टेक्निसियन प्रमुख रवीभुषण पराजलुली र समाचार संयोजक आरजु विष्ट सल्यानीले एकसाथ राजिनामा दिएका हुन् । कोरोना कहरमा पारिश्रमिकविना रेडियो चलाउन गाह्रो परेपछि उनीहरुले राजिनामा दिएको वताएका छन् ।
कोरोना कहरकै कारण कर्मचारीले पूरा तलब दिन नसकेकै कारण विभागीय प्रमुखले राजिनामा दिएको हुन सक्ने रेडियाका एक कर्मचारीले बताए । ‘लकडाउनपछि पूरा तलब पाएका थिएनौं,’ उनले भने, ‘ठ्याक्कै कारण त के हो थाहा छैन ।’
रेडियाको सञ्चालक विश्वशंकर पालिखेले राजिनामा दिएको सुन्नमा आएपनि राजिनामा पत्र आफ्नो हातमा नपरेको बताए । एकसाथ पाँच जना विभागीय प्रमुखले राजिनामा दिनुको कारण आफूलाई थाहा नभएको उनले बताए । ‘समाचारबाट थाहा पाएको थिएँ, राजीनामा दिनुको कारण त राज्यले मिडियालाई चौथों अंग भन्ने, सहयोग नगर्ने । तलब खान नपाएपछि उही त हो,’ उनले भने, ‘अहिले तलव दिन सकिने अवस्था छैन ।’
लामो समयसम्म रेडियोको कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेका श्रेष्ठ नेपाल पत्रकार महासंघ कास्की शाखाका अध्यक्ष समेत हुन् । सञ्चालकलाई रेडियो वन्द नगर्ने शर्तमा उनीहरुलाई सहज बनाउन आफुहरुले राजिनामा दिएको श्रेष्ठले वताए । सिईओ श्रेष्ठले मंगलबारको रेडियो कार्यक्रममै अन्तिम कार्यक्रम भनेर श्रोतासंग विदा मागेका थिए ।





