आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

ताराखोले आलु : गण्डकीको सान, नेपालको पहिचान

ताराखोले आलु : गण्डकीको सान, नेपालको पहिचान


  • सह-प्रा.डा. सुदर्शन सिलवाल
  • भाद्र ३ २०७७, बुधबार

१. परिचय
नेपालको गण्डकी प्रदेश अन्तरगत पर्ने बागलुङलाई नेपालभित्रको नेपाल भनेर पनि चिनिन्छ । यही जिल्लाको मध्य भागमा कुल १२८.९३ वर्ग कि.मी. मा फैलिएको सानो गाउँपालिका ताराखोला हो । यसको पूर्वमा काठेखोला गाउँपालिका; पश्चिममा गलकोट नगरपालिकाको पाण्डवखानी, बडीगाड गाउँपालिका र ढोरपाटन नगरपालिका; उत्तरमा म्याग्दी जिल्ला र दक्षिणमा गलकोट नगरपालिकाका हरिचौर तथा नरेठाटी रहेका छन् । यहाँको सबैभन्दा होचो भाग समुद्री सतहबाट करिब १४ सय मिटरदेखि सबैभन्दा अग्लो भाग डुँडेलेकको धुरी करिब ३५ सय मिटर उचाइमा रहेको छ । यसको औषत लम्बाइ १९०९१ मिटर र चौडाइ ८६५३ मिटर रहेको देखिन्छ । वडागत घरधुरी सर्वेक्षण २०७४ अनुसार समग्र गाउँपालिकाको कुल जनसंख्या १४,३९६ रहेको छ । यस मध्येमा पुरुषको जनसंख्या ५१.०८ प्रतिशत र महिलाको ४८.९२ प्रतिशत रहेको देखिन्छ (वस्तुगत विवरण र थापा /सिलवाल, २०७४) । यहाँ बसोबास गर्ने जनसमुदायहरुको आफनै मौलिक पहिचानहरु रहेका छन । ति पहिचानहरुमा वंशाणुगत रक्तसम्बन्ध, आपसी वैवाहिक सम्बन्ध, मितेरी साइनो, आपसी श्रमविभाजन, श्रम साटासाट, हुद्दा, पर्मा, साझा देवीदेवताको थान–मन्दिर, पूजाआजा, साझा चाडपर्व र स्थानीय उत्पादनमा आधारित खाद्यान्न र घरेलु उत्पादनमा आधारित वस्तुहरु आदि पर्दछन । यहाँ उत्पादिन खाद्यान्नहरुमा आलु, भाङ्गो, भट्टमास, मकै, जौ, उवा आदि पर्दछन् भने घरेलु वस्तुहरुमा डोको, डाली, सोली, काइयो, खुर्पेटो जस्ता वस्तुहरु पर्दछन् । यस मध्येमा पनि यहाँ उत्पादन हुने आलु र भाँगोले जिल्लाकै ब्राण्ड र प्रदेशकै सानको उपमा प्राप्त गरेको पाइन्छ । प्रस्तुत लेखलाई ताराखोलामा आलुको उत्पादनको अवस्था के कस्तो रहेको छ भन्ने कुराको उजागर गर्नमा केन्द्रित गरिएको छ ।
२. आलुको ऐतिहासिक पक्ष र बाग्लुङ्गे ब्राण्ड ताराखोले आलु
विश्वमा आलुको उत्पत्ति कहाँबाट भएको हो भन्नेबारेमा विभिन्न मुलुकहरुको आ–आफनै दावि रहेको छ । अमेरिका, इटाली, पेरु लगायतका मुलुकहरुले आलुको उत्पादन आ–आफनो मुलुकबाट भएको बताएका छन । पेरुको राजधानी लिमामा सन् १९७१ मा स्थापना भएको संस्था इन्टरनेशनल पोटेटो सेन्टर जसलाई स्पेनिस भाषामा सीआईपीको नामले बुझिन्छ, यसलाई विश्वमा आलुको अध्ययन गर्ने सबैभन्दा ठुलो संस्था मानिन्छ । यसका अनुसार आलुको सर्वप्रथम उत्पत्ति पेरुबाट भएको हो । करिव आठ हजार देखि पाँच हजार विसिमा क्ष्लअब क्ष्लमष्बलक ले पेरुको राजधानी लिमा भन्दा करिव आठ हजार किमि दक्षिण पूर्वको टिटिकाका ताल नजिकै आलुको खेती गर्न सुरुवात गरेको इतिहास छ । पेरुको एण्डिज पहाडको कुस्कोको पोटेटो पार्कमा आलुको एउटा संग्रहालय रहेको पनि पाइएको छ । यहाँबाट नै स्पेनका मानिसहरुले आलु लगायत टमाटर, एभोगाड र मकैको खेती गर्ने परम्परालाई समुन्द्रपार समेत गराएका थिए (बिबिसि न्यूज) । यसपश्चात् विश्वमा आलु खेती गर्ने परम्पराको सुरुवात भएको पाइन्छ । विज्ञहरुको भनाई अनुसार अहिले यसको उत्पादन यूरोपदेखि अमेरिकासम्म र एशियादेखि अफ्रिकासम्म फैलिएको छ ।
आलुको बहुउपयोग छ । यसमा कुनै संङ्का छैन । यसलाई कतै खाद्यान्नका रुपमा र कतै तरकारीका रुपमा प्रयोग गरिदै आएको छ । आलुलाई एक प्रकारको कन्दमुलका रुपमा पनि लिइन्छ । नेपाली शब्दकोषमा यसलाई अन्न, तिउन, तरकारी र अचारमा मिलेर वा भोजन बन्ने कन्द विशेष, काशकन्द, काशालु, पेचक भनेर उल्लेख समेत गरिएको पाइन्छ । मुलुकको भूगोलले यसको उत्पादन र उपयोगको अवस्थालाई निर्धारण गर्दछ ।
गरिबको भरपर्दो साथि आलु नै हो । थोरै क्षेत्रफलमा धेरै उत्पादन गर्न सकिने आलु बाहेक अन्य उत्पादन केहि छैन भन्दा पनि फरक पर्दैन । आलुमा यहि गुण विद्यमान भएर नै होला यसलाई गरिबको साथि र तरकारीको राजाको उपमा दिएको छ । नेपालका हरेक स्थान र क्षेत्रहरुमा आलुको उत्पादन गर्न सकिन्छ । तर स्थान विशेष यसका फरक फरक स्वाद र गुण रहेका हुन्छन । नेपालको तराई, भित्रि मधेश, मध्ये पहाडी, उच्च पहाडि र हिमाली सबैक्षेत्रमा यसको उत्पादन हुने गर्दछ । अन्य क्षेत्रमा यसलाई तरकारीको रुपमा मात्र उपयोगमा ल्याइने भएतापनि उच्च पहाडि र हिमाली क्षेत्रमा भने यसलाई खाद्यान्न र तरकारी दुबैको रुपमा प्रयोग गरिदै आएको देखिन्छ ।

ताराखोलालाई आधार मानि गरिएको एक अध्ययनका अनुसार वार्षिक रुपमा औसत कुल १०,७१० मुरी आलु उत्पादन हुने गरेको पाइएको छ । वडागत रुपमा हेर्दा वडा नं १ मा १५०० मुरी, वडा नं २ मा ८१० मुरी, वडा नं ३ मा ७०९ मुरी, वडा नं ४ मा १,५३९ मुरी र वडा नं ५ मा ६,१५२ मुरी आलु वार्षिक रुपमा उत्पादन हुने गरेको आलु उत्पादक कृषक तथा सो क्षेत्रका स्थानीय जनप्रतिनिधिहरुले बताएका छन ।

पहाडि क्षेत्र अन्तरगत पर्ने ताराखोला गाउँपालिका गण्डकि प्रदेशको एउटा यस्तो क्षेत्र हो जहाँ अथाह प्राकृतिक साधन र स्रोतहरु रहेका छन । खाद्य उत्पादन, साँस्कृतिक पर्दशन, दृश्यावलोकन, भावनात्मक एकता यहाँका मुल धन हुन । अर्गानिक उत्पादनको राजधानि ताराखोला हो भन्दा पनि सायद फरक नपर्ला । यहाँको खेतीयोग्य जमिन जम्मा १०७२ हेक्टर (हे.) मात्र रहेकोमा खेतको अंश १९.१२ प्रतिशत र पाखो बारी ८०. ८८ प्रतिशत रहेको देखिन्छ । यस खेतीयोग्य जमिनमा लगाइने मुख्य बालीहरु तथा अन्य उत्पादनहरुमा धान, गहुँ, मकै, कोदो, जौ, आलु, भाङ्गो, लसुन, अलैंची, टिम्मुर, सिल्टीमुर, भटमास, डल्लेमुला, सिम्ली (झ्याउ), लसुने साग, टुसा, बाके साग, निगुरो, चन्चने साग, रुपा साग, खुट्टे च्याउ, रातो च्याउ आदि पर्दछन् । यि मध्ये आलु यहाँको मूख्य अर्गानिक उत्पादन हो । यसलाई बढवा दिनका लागि प्रधानमन्त्री कृषि परियोजना कार्यक्रम अन्तरगत आलु (अलैची र मकै) का पकेट इलाकाहरु तोकी सोहि अनुसारका कार्यक्रमहरु सञ्चालन गरिदै आएको छ ।
ताराखोला गाउँपालिकाका हरेक क्षेत्रहरुमा आलुको उत्पादन हुने गरेको छ । यस मध्येमा पनि वडा नं ५ को ताराखोला क्षेत्रलाई आलु उत्पादनको पकेट क्षेत्र घोषणा गरिएको छ । यो पकेट क्षेत्र १५ हे. रहेको छ । यसलाई २५ हे. भन्दा बढी पुर्याउने लक्ष्य राखिएको छ । यस क्षेत्रका परिवारले आलुको उत्पादन न्यूनतम एक मुरी देखि अधिक्तम ९८ मुरीसम्म उत्पादन गरेको देखिन्छ । एक पाथी आलु लगाउँदा झण्डै १५ पाथीदेखि एक मुरीसम्म उत्पादन हुने गरेको यहाँका कृषकहरु बताउँछन् । यस पकेट क्षेत्रमा उत्पादन भएको आलु एक पाथिको रु. १०० र प्रति के.जी. रु. ३५ का दरले बाहिर जाने गरेको उनीहरुको भनाई छ । एक पटक ताराखोले आलु प्रयोग गर्नेले सधै भरि यहि उत्पादन भएको आलु खोज्दै हिड्ने गरेको देखिन्छ । स्वाँदमा मिठो पातालो बोक्रा भएको, धेरै बेर पकाउन पनि नपर्ने, मुखमा राख्दा नै पग्लने घिउ जस्तो यहाँको आलु भएर नै होला सबैको रोजाइमा ताराखोले आलु नै पर्ने गर्दछ । ताराखोले आलुको वर्तमानको मागलाई आधार मान्दा यो बाग्लुङ्गे ब्राण्ड बनिसकेको अनुभूति हुन्छ ।
ताराखोला गाउँपालिका भित्र रहेका आलु उत्पादनका मुख्य क्षेत्रहरुमा माझखर्क, हल्पु, सिर्खु, खल्डाँडा, काँक्राखोर, तारागाउँ, लावाङ, नागवेली, अस्मुखे, नेपाने, कवँर, धस्मर, करिमेला, हिले, नाङ्गी, सिप लगायतका पर्दछन । यस मध्येमा पनि माझखर्क, भुस्कात, तारागाउँ, धस्मर, करिमेला, हिले र सिप आलु उत्पादनको विशेष क्षेत्र मानिन्छ । यहाँको मुख्य खाद्यवाली भनेकै आलु हो र यसपछि मकै, जौ, धान, कोदो भएको स्थानीयहरुको भनाई छ ।
ताराखोलालाई आधार मानि गरिएको एक अध्ययनका अनुसार वार्षिक रुपमा औसत कुल १०,७१० मुरी आलु उत्पादन हुने गरेको पाइएको छ । वडागत रुपमा हेर्दा वडा नं १ मा १५०० मुरी, वडा नं २ मा ८१० मुरी, वडा नं ३ मा ७०९ मुरी, वडा नं ४ मा १,५३९ मुरी र वडा नं ५ मा ६,१५२ मुरी आलु वार्षिक रुपमा उत्पादन हुने गरेको आलु उत्पादक कृषक तथा सो क्षेत्रका स्थानीय जनप्रतिनिधिहरुले बताएका छन । यस तथ्य र आलु उत्पादक कृषक तथा स्थानीय जनप्रतिनिधिहरुको भनाईलाई आधार मान्दा यहाँको वार्षिक कुल उत्पादनमा झण्डै ५० प्रतिशत अंश आलुको मात्रै रहेको देखिन्छ ।

विश्वको उत्पादनको अवस्थालाई हेर्दा पनि चामल, गहुँ र मकै पछिको चौंथो प्रमुख उत्पादनमा आलु नै रहेको देखिन्छ । अन्न वालि बाहेकको उत्पादनमा आलु पहिलो स्थानमा रहेको छ । अर्थशास्त्रका पिता मानिने अर्थशास्त्री एडम स्मिथले पनि आलुको उपयोगको बारेमा आफनो प्रमुख पुस्तक ̒ ध्भबतिज या ल्बतष्यल̕ मा उल्लेख गर्न पुगेका छन । उनका अनुसार– अन्य वस्तु लगाएको क्षेत्रमा भन्दा आलु लगाएको स्थानमा अन्य वालिको उत्पादन बढि हुने र आलुको सेवन गर्ने मानिस अन्यको तुलनामा बलियो पनि हुने गर्दछन । आलुमा काब्रोहाइड्रेड २०.६ प्रतिशत, प्रोटिन २.१ प्रतिशत, चिल्लो पदार्थ १.१ प्रतिशत लगायतको पौष्टिक टत्व पाइने विज्ञहरुको भनाई रहेको छ । यसै गरी आलुको प्रत्येक १०० ग्राममा २ ग्राम प्रोटिन पाउन सकिने विज्ञहरुले बताएका पनि छन । यसमा भिटामिन ए र डि बाहेकका सबै तत्वहरु पाइने उनीहरुको दावि छ ।

आलु उत्पत्तिका बारेमा कसैको पनि खासै चासो देखिदैन । कृषक वर्ग र उपभोक्ता वर्ग दुबै यसमा अनभिज्ञ नै रहेका छन । तर यसको गुण, आकार–प्रकार, स्वाँद र पौष्टिकताका बारेमा भने सबैका लागि चासो र चर्चाको विषय बन्ने गरेको देखिन्छ । सायद यहि भएर नै होला सबै वर्गको जिब्रोमा ताराखोले आलुको स्वाँद नर्विसिने गरी छाप बसेको छ । बाग्लुङका हरेक स्थानहरुमा आलुको उत्पादन त हुन्छ तर ताराखोले आलु नै यहाँको ब्राण्ड बनेको छ । तसर्थ ताराखोले आलु नै गण्डकि प्रदेश कै सान अनि नेपालको पहिचान हो भन्दा फरक नपर्ला ।

३. निश्कर्ष र सुझावहरु
यसरी यस क्षेत्रको मुख्य अर्गानिक उत्पादन भनेको आलु हो । चामलको सट्टामा पनि आलुको प्रयोग गर्ने गरेको देखिन्छ । तापक्रमको हिसावले पनि आलु उत्पादनका लागि यो क्षेत्र अनुकुल नै छ । यसलाई व्यवसायीकरण गर्न कृषक वर्गलाई उन्नत बीउबीजन, मलखाद, आधुनिक पद्धति अनुसारको सीपमूलक तालिम र औजार, अनुदानको व्यवस्था, बजारीकरणको पूर्वाधार विकास, भण्डारणको व्यवस्था, कृषकलाई प्रोत्साहन र सम्मान कार्यक्रम र आलु विमा आदिको नीतिगत व्यवस्था गर्नसकेमा यो गाउँपालिकामा आलुको उत्पादन नै विकासको आधार बन्नसक्ने देखिन्छ । यसै गरी आलुको उत्पादनलाई थप व्यवसायीकरण र आधुनिकीकरण गर्न सम्भावनाहरुको पहिचान गर्ने, किसान क्रेडिट कार्डको व्यवस्था गर्ने र आवश्यक जनशक्ति व्यवस्थापनको योजना बनाइ कार्यान्वयनमा लैजानु पर्दछ । आलुको अर्गानिक उत्पादनलाई बढवा दिन अत्यावश्यक तालिम र प्रशिक्षणका कार्यक्रमहरुको आयोजना गर्नुपर्दछ । एकीकृत वस्ती र ग्रामीण शहर व्यवस्थापनका लागि योजना बनाई कार्यान्वयन गर्नुपर्दछ । विद्यमान सीप र क्षमतालाई प्रयोगमा ल्याउन उपयुक्त नीति निर्माण गर्नुपर्दछ । आलु उत्पादनको पकेट क्षेत्र विस्तार गरी ब्लक जोनको विकास गर्नुपर्दछ । प्राविधिक कृषि शिक्षा अध्ययन गर्ने विद्यार्थीहरुका लागि अवसर दिने र अध्ययन पश्चात् उनीहरुको ज्ञानलाई उपयोगमा ल्याउनु पर्दछ । अर्गानिक आलु उत्पादनको परिमाणमा वृद्धि गरी आलुचिप्स उद्योग स्थापना गर्नुपर्दछ । अर्गानिक आलु चिप्सलाई नेपाल भित्रको सानो नेपालको मुख्य ब्राण्ड बनाई अन्तराष्ट्रिय बजारसम्म पुर्याउन सक्नुपर्दछ । प्रति एकड जमिनमा गरीने आलुको खेती र एउटा गाईको दुधबाट करिब ६ देखि ८ जनासम्मको परिवार पाल्न सकिने बेलायत र आयरल्याण्डको इतिहासले देखाए भन्दा सयौं गुणा फरक ढङ्गले रोजगारी सिर्जना गर्न सक्ने तागत ताराखोलाले बोकेको देखिन्छ । यस प्रकारको क्षमतालाई सहि ढङ्गले सदूपयोग गर्न सकेमा वर्तमानमा कोरोनाले निम्त्याएको र निम्त्याउन सक्ने संङ्कटलाई समेत समाधान गर्न ताराखोला क्षेत्र सक्षम हुनेछ । यसका लागि गाउँपालिका भित्रका आलु उत्पादनका क्षेत्रलाई एक आपसमा जोड्न कृषकदेखि कृषकसम्मको निति तय गरी आलु लगाउने माटो र यसको तयारी, मलको प्रयोग, सिंचाई सुविधा, आलुमा आउन सक्ने समस्या र यसको सुरक्षा लगायतका विषयमा थप ज्ञान सिर्जना हुने गरी अनुभव आदान प्रदान गर्ने व्यवस्था मिलाउने र सरकारसँग आलु उत्पादक वर्गलाई जोड्न कृषकदेखि जनप्रतिनिधिसम्मको सञ्जाल निर्माण गरी कृषकलाई बिउ पूँजी, अनुदान, उपकरण, प्राविधिक परामर्श, बजारीकरण पूर्वाधार निर्माण, उत्पादनको गुणस्तर परिक्षण र स्तरनिर्धारण लगायतका सुविधाहरुको व्यवस्था मिलाउनु अपरिहार्य देखिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->