पोखरा, ७ भदौ – कोरोना भाइरसको संक्रमण दर रोकथामको लागि मंगलबार राति १२ बजेदेखि कास्कीमा निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञाको समयावधि आइतबार राति १२ बजे टुंगिदै छ ।
निषेधाज्ञाको समयावधि थप्ने या टुंग्याउने ? अझैं टुंगोमा पुग्न सकेको छैन । बढ्दो संक्रमणको दर कम गर्न निषेधाज्ञाको समयावधि थप गर्ने या अन्त्य गर्ने भन्ने विषयमा सरोकारवालाहरुले छलफल थालेका छन् ।
पोखरा महानगरपालिकाका मेयर मानबहादुर जीसीले के गर्ने भन्ने विषयमा छलफल भइरहेको जानकारी दिए । आइतबार बिहान नगर कोरोना न्यूनिकरण तथा व्यवस्थापन समितिको बैठक पछि जिल्लामा छलफल हुने उनले बताए । ‘के गर्ने भन्ने विषयमा छलफल गर्दैछौं । आज – शनिबार) पनि बैठक बसियो’, उनले भने, ‘आइतबार बिहान नगर कोरोना न्यूनिकरण तथा व्यवस्थापन समितिको बैठकपछि १÷२ बजेतिर जिल्लामा बैठक बसेर टुंगामा पुग्छौं ।’
मेयर जीसीले निषेधाज्ञाको समयावधि थप्नु मात्रै समस्याको समाधान नभएको धारणा राखे । उनले निषेधाज्ञाको समयावधि थप्नेभन्दा पनि यसको नयाँ मोडालिटीबारे छलफल भइरहेको जानकारी दिए । ‘थप्नु मात्रै समस्याको समाधान हो र ? कसरी तयार पारेर जाने भनेर छलफल गरिरहेको छौं । पहिलो कुरा त नागरिकहरु नै स्वअनुशासनमा हुनुप¥यो’, उनले भने, ‘अर्काले भन्दिएर पनि हुँदैन । गराइदिएर पनि हुँदैन । कहाँबाट आउँछ, कताबाट जान्छ यो त थाहै छैन ।’ आफ्नो सुरक्षाको लागि नागरिक आफैं जवाफदेही बन्नुपर्ने उनको तर्क छ ।
निषेधाज्ञाको नयाँ मोडालिटीमा संक्रमितको संख्या बढी भएको ठाउँलाई सिल गरेर जान सकिने उनले सुनाए । ‘जहाँ जहाँ खतरा बढी छ त्यसलाई कसरी सिल गरेर जाने ? सिल मात्रै गरेर पनि भएन निकास पनि खोजेर जान प¥यो । त्यही बारेमा हामीले हेर्दैछौं । छलफल गर्दैैछौं’, उनले भने ।
भीडबाटै संक्रमण फैलिने त्रास भएको हुँदा भीड कम गर्ने उपायबारे बैठकमा छलफल भएको उनले जानकारी दिए । मान्छेमा ट्रान्सफर भएर जाने भएको कारणले भीड कम गर्ने उपायबारे विभिन्न क्षेत्रका मान्छेहरुसँग छलफलमा जुटेको उनले बताए । सार्वजनिक स्थानहरुमा भीड कम गर्नको लागि नाकाहरुमा थप कडाई गर्नुकासाथै सार्वजनिक यातायात पनि तत्कालको लागि सञ्चालनमा नल्याएर अघिबढ्न सकिने विषयमा छलफल भइरहेको उनले सुनाए । ‘सार्वजनिक बस चलाउँदा पनि अलि बढी भीडभाड नै हुन्छ । यसलाई तत्काल नचलाउने कि भन्ने पनि छ’, उनले भने ।
महानगरमा शनिबार स्वास्थ्यकर्मीसँग छलफल भएको थियो । आइतबार बिहान नगर कोरोना न्यूनिकरण तथा व्यवस्थापन समितिको बैठक बस्ने र दिउँसो जिल्लामा जिल्ला प्रशासनमा छलफल हुनेछ । त्यसपछि निषेधाज्ञाको नयाँ मोडालिटीबारे टुंगोमा पुगिने उनले सुनाए ।
निषेधाज्ञाकै कारण भीडभाडमा कम भएर कन्ट्याक्ट ट्रेसिङमा पर्नेहरुको संख्यामा कमी आए पनि निषेधाज्ञाको रिजल्ट हप्ता दश दिन भित्रमा देखिने मेयर जीसीले बताए । ‘कन्ट्याक्ट ट्रेसिङमा अलि कम भएको छ, अहिले । मान्छेहरुको चहलपहल नै कम भएपछि त कन्ट्याक्ट ट्रेसिङ पनि अलि कम हुने भो’, उनले भने, ‘अहिलेको रिजल्ट पत्ता लगाउन एकहप्ता दश दिन हेर्नुपर्छ । ढोका बन्द गर्दा आएन । ढोका खोल्दा फेरि आउन पनि सक्छ । ढोका सबै बन्द गर्न सकिन्न फेरि ।’
पछिल्लो अपडेट हेर्दा कास्कीको संक्रमितको दर पनि बढ्दो मात्रामा छ । जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका प्रमुख बाबुरामा आचार्याले पनि संक्रमणको दर बढ्दो अवस्थामा रहेको बताए । पछिल्लो अपडेटअनुसार कास्कीमा संक्रमितको संख्या २ सय ८५ जना पुगेको छ । एक्टिभ केस १०५ जना रहेको छ । ‘डिस्चार्ज हुने क्रम पनि चलिरहेको छ । संक्रमित पनि थपिइरहेका छन् । करिब सयको हाराहारिमा एक्टिभ केस छ’, उनले भने, ‘पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र संक्रामक तथा सरुवा रोग अस्पताल लेखनाथबाट डिस्चार्ज हुनु हुँदैछ । यसले संख्यामा थपघट हुन सक्छ । तर, १ सयको हाराहारिमा एक्टिभ केस छ ।’ कास्कीमा निषेधाज्ञाको कडाईका साथ पालना भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवाह हमालले कडाईका साथ पालना भइरहेको बताए । जिल्ला पशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले सबैको राय, सल्लाह अनुसार आइतबार टुंगामो पुगिने जानकारी दिए ।





