पोखरा, ७ भदौ – कास्कीका जारी निषेधाज्ञाको समयावधि थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीमा बसेको संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बैठकले थप ५ दिन निषेधाज्ञाको म्याद थप्ने निर्णय गरेको हो । जारी अवस्थाको निषेधाज्ञालाई १२ गतेसम्म लम्ब्याइएको पोखरा महानगरका मेयर मानबहादुर जीसीले जानकारी दिए । उनले अहिलेको अवस्थाभन्दा पनि निषेधाज्ञालाई कडा पारिने बताए । ‘निषेधाज्ञा थप्ने भैईयो,’ उनले भने, ‘अहिलेभन्दा पनि कडा पार्ने के, कोरोना भाइरस नि निषेधाज्ञा छ भनेपछि नआओस् त्यस्तो पार्ने हो ।’
नगर प्रमुख जीसीले शनिबार बसेको बैठकमा निषेधाज्ञा जारी भएपनि लचिलो पारिने बताएका थिए । नगर कोरोना न्युनिकरण तथा व्यवस्थापन केन्द्रले पनि कोरोना रोकथाम तथा नियन्त्रणको लागि निषेधाज्ञा जारी राख्नेमा एक मत भएपनि नयाँ तवरले जाने निष्कर्ष निकालेको उनले सुनाएका थिए । मेयर जीसीले निषेधाज्ञा नै सबै समस्याको समाधान भएको हुँदा जोखिम बढी भएका ठाउँलाई सिल गरेर नयाँ मोडल तयार पारिने जिकिर गरेका थिए । तर, जारी निषेधाज्ञालाई थप कडा पार्ने निष्कर्षसहित जिल्ला संकट व्यवस्थापन केन्द्रले निषेधाज्ञा थप्ने निर्णय लिएको हो ।
नगर कोरोना न्युनिकरण तथा व्यवस्थापन समितिको आइतबार बिहान बसेको बैठकले ३ देखि ५ दिनसम्म निषेधाज्ञा थप गर्न सिफारिस गरेको थियो । प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले पनि आइतबार नै विज्ञप्ती जारी गरेर निषेधाज्ञा जारी राख्न आग्रह गरेको थियो ।
निषेधाज्ञाको नयाँ मोडालिटी खोज्ने कुरा थियो किन खोजिएन भन्ने हाम्रो प्रश्नमा पोखरा महानगरका प्रवक्ता धनबहादुर नेपालीले जारी निषेधाज्ञा नै कोरोना रोकथामको लागि प्रभावकारी भएकाले यथावत अवस्थामा निषेधाज्ञा जारी राख्ने निर्णय लिइएको बताए ।
कास्कीमा संक्रमितको संख्या २ सय ८८ पुगेको छ । तीमध्ये १ सय ७७ जना निको भइसकेका छन् । गण्डकी प्रदेशमा भने संक्रमितको संख्या १ हजार ८ सय ८० पुगेको छ । १ हजार ६ सय ११ जना निको भएर घर फर्किएका छन् । निको हुने दर ८५.७३ प्रतिशत छ । हालसम्म गण्डकीमा कोरोनाका कारण ७ जनाको निधन भएको छ ।





