पोखरा, ८ भदौ – ‘निषेधाज्ञा’ को निर्णयलाई लिएर प्रदेश र स्थानीय सरकारबीच द्धन्द्ध बढेको छ । पोखरा महानगरपालिकाको सिफारिसमा जिल्ला प्रशासन कार्यालय कास्कीले भदौ १२ गतेसम्म निषेधाज्ञा बढेपछि गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले तीव्र असन्तुष्टि जाहेर गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भनेका छन्, ‘हाँगामा बसेर रुखको फेद काट्ने र निषेधाज्ञा जारी गरेर कोरोनाबाट बँच्न खोज्नेहरु एकै हुन् ।’ मन्त्री गुरुङ कडा लकडाउन तथा निषेधाज्ञा जारी गर्नुपर्छ भन्ने मान्यताको विपक्षमा रहँदै आएका छन् ।
यसअघि, पोखरा महानगरपालिकाले निषेधाज्ञाको सिफारिस गर्दा पनि गण्डकी प्रदेश सरकारले आनाकानी गरेको थियो । महानगरका मेयर मानबहादुर जिसीको प्रस्तावलाई प्रदेशले ठोस निर्णय नदिएर जिल्लामा पठाइदिएको थियो ।





