पोखरा, १० भदौ– पोखरामा गुम्बज शैलीका दुईवटा मन्दिर छन्, एउटा सितलादेवी र अर्को जाल्पादेवी । दुबै मन्दिर देवीका हुन् । दुबैको देवी मन्दिर स्थापनाको आफ्नै इतिहास र किंवदन्ति मात्रै छैन, मन्दिरभित्र शिला र पानीको कुण्ड पनि रहेको छ । दुबै मन्दिरको गर्भगृहमा देवीको प्रतिमा स्थापनाअघि शिला अर्थात् ढुंगामै पूजा गरिन्थ्यो र अद्यावधि त्यो परम्परा कायमै छ ।
दुबै मन्दिर रहेको ठाउँको चिनारी पनि देवीकै नामबाट भएको छ । त्यो ठाउँको नाम पनि रहेको छ । अझ रोचक त के छ भने, दुबै देवीले महामारीको बेला भक्तको रक्षा गर्ने जनविश्वास रहँदै आएको छ । अर्थात् , दुबै देवीसँग महामारी र संकटको बेला आरोग्यता मागिन्छ । सितलादेवीको मन्दिर विक्रम संवत् १८८९ मा बनेको हो । स्थानीयहरुले विफरको महामारीबाट बँच्न सितलादेवीको स्थापना गरेका हुन् । यता जाल्पादेवीको मन्दिर भने २०२० सालको हाराहारीतिर बनेको हो । यद्यपि, मन्दिरको गर्भगृहमा रहेको शिलाले यी दुबै क्षेत्रका बासिन्दालाई धेरै अघिदेखि रक्षा गर्दै आएको विश्वास रहेको छ ।
बूढापाकाको भनाई अनुसार अहिले जाल्पादेवीको मन्दिर भएको ठाउँनेर पुरानो पौवा थियो । पौवानेर ढुंगा थियो र ढुंगासँगै भीमसेनपातिको रुख थियो । आफ्नो स्वामित्वमा रहेको जग्गामा एकदिन खेमराज भारतीले भीमसेनपातिको रुख फाल्ने विचार गरे । यो २०१५ सालतिरको कुरा हो । रुख फाल्न खोज्दा जरातिर कडा शिला र अनौठो खालको आवाज आयो । खोतलेर हेर्दा त्यहाँ रहेको शिला र जल अर्थात् पानी भेटियो । शिला ठ्याक्कै मान्छेको ओठजस्तै । ‘पछि बूढापाकाहरुले यहाँ सतिदेवीको ओठ पतन भएको ठह¥याएछन्’, त्यो बेलाको कुरा सुनेका गणेश अधिकारीले भने,‘शिलालाई संरक्षण गर्न त्यहाँ खरले छाएर मन्दिर बनाइछ ।’
जाल्पादेवी मन्दिर व्यवस्थापन समितिका पूर्वअध्यक्ष रहेका गणेशका अनुसार त्यहाँ रहेको शिलामा जस्तै खडेरीमा पनि पानी नसुक्ने । पोखरामा २०१७÷०१८ सालतिर महामारी फैलियो । महामारी माथ्लो टोलसम्म आयो । स्थानीयहरुले जाल्पादेवीको उपासना गरे । जाल्लादेवीको शक्तिको कारण यो टोलमा भने महामारी पस्नै सकेन । मानिसको विश्वास बढ्दै गयो । गणेशकै बूढी हजुरआमा ताराकुमारी गोदारले सो ठाउँमा मन्दिर बनाउने इच्छा जताइन् । त्यसको लागि उनले अहिले कास्कीको जिल्ला प्रशासन कार्यालयनेरको २४ रोपनी जग्गा बेचिन् । गणेशका पिता उदयबहादुर अधिकारी, मोन गिरी, चतुरमान श्रेष्ठहरु मन्दिरको डिजाइन तयार पार्न तत्कालीन सोल्जर बोर्ड अस्पताल ( हालको गण्डकी ) मा भएका ओभरसियरकहाँ पुगे । ओभरसियरले ७ हजार रुपैयाँमा मन्दिर बन्छ भनिदिए । पछि सितलादेवीकै ढाँचामा मन्दिर बनाउने निर्णय भयो । करिब २७ सयको लागतमा मन्दिर तयार भयो । हालको मन्दिरको २०२० सालतिर प्राणप्रतिष्ठा गरिएको गणेश बताउँछन् ।
लामो समयसम्म खेमराज भारतीले नै देवीको सेवा गरे । उनीहरु विस्थापित भएपछि मेखलाल गिरीले नित्यपूजाको जिम्मा लिए । मन्दिरमा अहिले गोकर्ण अधिकारी पुजारी छन् । त्यहाँ नित्यपूजा हुन्छ । मन्दिरको शिलामा भक्तहरुले पानी त चढाउँछन् तर त्यहाँ अहिले पनि दैवीशक्तिले नै पानी भइरहने विश्वास गरिन्छ ।
संस्कृतिविद प्राध्यापक डाक्टर जगमान गुरुङ पनि यो कुरामा सहमत छन् । पोखरामा सितलादेवी र जाल्पादेवी मन्दिरमा मात्रै गर्भगृहमा शिला रहेको उनको भनाई छ । मन्दिरको स्वरुप चाहिँ संयोगले एउटै भएको हो । मन्दिरमा चैतेदशैंमा बली दिइन्छ । शिलामा भएको जल सेंचन गर्नाले शक्ति प्राप्ति र रोगबाट मुक्ति पाइने विश्वास गरिन्छ । अहिले जाल्पादेवीको अघिल्तिर जाल्पादेवी बहुउद्देश्यीय विकास केन्द्र बनाइएको छ । मन्दिरकै जग्गामा बनेको सो केन्द्रले लघुवित्तको काम पनि गर्छ । विकास केन्द्रले जाल्पादेवीको नाममा ५ लाखको अक्षयकोष स्थापना गरिदिएको छ । ‘मन्दिरको आम्दानी केही छैन, जाल्पादेवीसँगै यहाँको गणेश मन्दिरमा पनि पण्डितजीले नित्यपूजा गर्नुहुन्छ, उहाँले केही लिनुहुन्न’,विकास केन्द्रका समेत पूर्वअध्यक्ष रहेका गणेशले भने,‘हामी ऐतिहासिक मन्दिरको कोष बढाउने योजनामा छौं ।’





