पोखरा, १० भदौ– संक्रमणको दर ह्वात्तै बढेपछि जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधाज्ञा जारी ग¥यो । भदौ २ गते राति १२ बजेदेखि लागू हुने गरि पहिलोपटक जारी भएको निषेधाज्ञाको म्याद पुनः पाँच दिन थपेर १२ गतेसम्म तोकिएको छ ।
यद्यपि, संक्रमणको दर कम गर्न लगाइएको निषेधाज्ञाले संक्रमितको दर कम गरेको देखिन्न । संक्रमितको दर बढी रहेकै छ । निषेधाज्ञा जारी भए यता कास्कीमा ५७ नयाँ संक्रमित थपिएका छन् । मंगलबार मात्रै कास्कीमा ११ संक्रमित थपिएको तथ्यांक स्वास्थ्य निर्देशनालय गण्डकीले सार्वजनिक गरेको छ ।
थपिएका अधिकांश संक्रमित भलै कन्ट्याक्ट ट्रेसिङमा परेका भए पनि निषेधाज्ञा नै समस्या समाधानको अन्तिम विकल्प भने होइन । लामो समयको लकडाउनले थलिएको अर्थतन्त्र पुनः निषेधाज्ञाले निष्कृय बनाएको छ । कैयौँको रोजगारी पनि खोसिएको छ ।
भदौ सात गते सकिने पहिलो किस्ताको निषेधाज्ञाको म्याद सकिन २ दिन बाँकी हुँदा पुनः थपिने संशय पनि सर्वसाधारणमा छ । पहिलो किस्ताको निषेधाज्ञाको म्याद सकिनै लाग्दा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस निषेधाज्ञाको पक्षमा उभिएको थियो । नेपाली काँग्रेसका कास्की सभापति कृष्ण केसीले विज्ञप्ति जारी गर्दै जनताको जीवन रक्षाको लागि निषेधाज्ञाको समयावधि थप्नुपर्ने माग राखेका थिए । निषेधाज्ञाको विकल्प खोजेर जनजीवन सामान्य अवस्थामा फर्काउनुपर्ने जिम्मेवारी बोकेको प्रशासनले पनि महानगरको निषेधाज्ञा थप्नुपर्ने सिफारिस र काँग्रेसको माग अनुमोदन गरेर निषेधाज्ञाको समयावधि थपेको थियो ।
गण्डकी प्रदेश सरकारका अर्थमन्त्री किरण गुरुङले निषेधाज्ञा थप्ने स्थानीय तहको निर्णलाई कटाक्षा समेत गरेका थिए । पहिलो चरणको निषेधाज्ञाको लागि पोखरा महानगरका प्रमुख मेयर मानबहादुर जीसीले सिफारिस लिएर गण्डकी प्रदेशका मुख्यमन्त्री कार्यालय पुग्दा निषेधाज्ञा १ दिन पर धकेलिएको थियो ।
कास्की कांग्रेससका सभापति कृष्ण केसीले सरकार गैरजिम्मेवार बनेकै कारण जनताको जीवन रक्षाका लागि निषेधाज्ञा गर्नुपर्ने आवश्यकता देखेको बताए ।‘यो सरकारलाई जनताको चिन्ता नै छैन भन्दापनि हुन्छ । कुनै पनि निर्णय लिनु अघि त्यसको रिजल्ट प्रति सरकार गम्भीर भएको देखिन्न’, उनले भने, ‘हो, हामीले निषेधाज्ञा थप्न माग राखेकै हो । किनभने सरकार जनताप्रति उत्तरदायी नै छैन ।’
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि तोकिएका सुरक्षाका उपाय तोकिए पनि सरकार त्यतापट्टि गम्भिर नबनेको उनको आरोप छ । सरकारले जनताको स्वास्थ्यप्रति गम्भीर नबनेकै कारण थप भयावह अवस्था नआओस् भनेर नै निषेधा थप्न भनेको उनले सुनाए । ‘सरकार जनताको स्वास्थ्यप्रति कत्ति पनि जिम्मेवार छैन । बीचमा हामीले एक महिना जति लकडाउन खोल्यौं । लकडाउनमा सबै जनता बाहिर निस्के र यो अवस्था आएको छ’, उनले भने, ‘समुदायमै कोरोना पसिसकेको अवस्थामा सरकारले जुन हिसाबले सुरक्षाका मापदण्डहरु अपनाउनुपथ्र्यो, जनतालाई कडाई गर्नुपथ्र्यो । त्यो हिसाबले सकेन, त्यसकारण अब फेरि पनि निषेधाज्ञा अन्त्य गरेर भयावह अवस्था नआओस् भनेर निषेधाज्ञा थप्न भनेका हौं ।’
यता, प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाल भने निषेधाज्ञा थप्ने पक्षमा आफूहरु नरहेको जिकिर गरें । जनता आफै संयमित भएको खण्डमा निषेधाज्ञा गर्नु पर्ने आवश्यकै नभएको उनले बताए । ‘निषेधाज्ञाको उद्देश्य के भने मान्छेहरुको जमघट कम भयो भने संक्रमण फैलिदैन भन्ने नै हो’, उनले भने, ‘नागरिक आफैं संयमित भएर सरकारले भनेका सुरक्षाका मापदण्ड अपनाएको खण्डमा निषेधाज्ञा गर्न जरुरी नै छैन । पालना नगरेर नै निषेधाज्ञा जारी गर्नु परेको हो ।’
अब तेस्रो चरणको निषेधाज्ञा जारी हुन्छ कि हुँदैन ? भन्ने हाम्रो प्रश्नमा निषेधाज्ञा थपि रहने पक्षमा आफूहरु नरहेको उनले बताए । ‘नथपिएला हामी थप्ने पक्षमा छैनौं । नागरिक सबै सचेत हुनुप¥यो । बाहिर निस्किनु प¥यो भने मास्क लगाएर निस्किनु प¥यो । डिस्टेन्स मेन्टेन गर्नु प¥यो, सरसफाईमा ध्यान दिनु प¥यो । त्यो उहाँहरु सबैले मेन्टेन गरि दिनु भयो भने संक्रमण फैलदै फैलिदैन’ उनले भने, ‘हाम्रो दैनिकी अघि बढाउन मजाले सकिन्छ । हाम्रो चाहना पनि त्यही नै हो ।’
निषेधाज्ञाको पूर्ण पालन गर्न नागरिकबाट सहयोग पनि मिली रहेको उनले सुनाए । विज्ञहरुको सुझाव अनुसार नै अघि बढ्ने उनको मत छ ।
यसैबीच लामो समयसम्म निषेधाज्ञा नथप्न पोखरा चेम्बर अफ कमर्स कास्कीले ध्यानाकर्षण गराएको छ । लामो समय निषेधाज्ञा जारी राख्दा राष्ट्रिय अर्थतन्त्रमा गम्भीरर असर पर्ने भन्दै पोखरा चेम्बर अफ कमर्स कास्कीले निषेधाज्ञाको अवधिलाई थप नगर्न ध्यानाकर्षण गराएको हो ।





