पोखरा, १३ भदौ– गण्डकी प्रदेशमा शुक्रबार थप ३१ जनामा संक्रमण देखिँदा पोखरामा पर्यटक प्रहरी र बैंकका कर्मचारी पनि संक्रमित भएका छन् । पोखरा–१७ ड्यामसाइडमा रहेको पर्यटन प्रहरी कार्यालयमा कार्यरत २९ र २८ वर्षीय प्रहरीमा संक्रमण पुष्टि भएको हो । उनीहरुको २ दिनअघि स्वाब संकलन गरिएको थियो । यसैगरि पोखरा–२, निवासी २ जना व्यक्ति चाहिँ कामना विकास र्बैक दीप शाखा र एभरेण्ट बैंकको अमरसिंह शाखामा कार्यरत रहेको गण्डकी स्वास्थ्य निर्देशनलायले जनाएको छ । पोखरा १४ का व्यक्ति इञ्जिनियर अनि पोखरा–१ का व्यक्ति मोवाइल पसलका संचालक हुन् । यता मणिपाल अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीमा पनि संक्रमण देखिएको छ । औद्योगिक क्षेत्रमा काम गर्ने एक मजदुरमा पनि संक्रमण देखिएको छ । पोखरामा संक्रमित बाँकी व्यक्तिहरु भने कन्ट्राक्ट टे«सिङमा परेका थिए । गण्डकीमा २०६५ जनामा संक्रमण देखिँदा ३५४ जना आइसोलेसनमा छन् । क्वारेण्टिनमा भने ८३० जना रहेको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।
उता लमजुङमा संचार माध्यममा कार्यरत २७ वर्षीय पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण सञ्चारकर्मीसहित दुई जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । संक्रमित हुनेमा बेँसीशहर नगरपालिका–८ बस्ने २७ वर्षीय पुरुष र मस्र्याङ्दी गाउँपालिका–४ का ३१ वर्षीया महिलामा रहेका छन् । यसैगरि लमजुङमा कार्यरत ८ जना प्रहरीमा पनि संक्रमण देखिएको छ । बेसीसहरमा सेनालाई संक्रमण देखिएपछि प्रहरीमा पनि संक्रमण पुष्टि भएको हो । गण्डकी प्रदेशअन्तर्गत नवलपरासीमा ९ जना, तनहुँमा ४ जनामा पनि संक्रमण देखिएको छ । प्रदेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले दिएको जानकारी अनुसार कास्कीमा ११७ जनामा कोरोना संक्रमण छ । लमजुङमा ३४,गोखरामा २,तनहुँमा ४२,नवलपरासीमा ९७,स्याङ्जामा ५,पर्वतमा ५, बागलुङमा ३०, म्याग्दीमा १ र मनाङमा ४ जनामा संक्रमण छ । मुस्ताङमा भने संक्रमित छैनन् ।





