फाईल फोटो
पोखरा, १३ भदौ– पोखरामा कोरोना संक्रमणका कारण अर्का एक व्यक्तिको ज्यान गएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ( गण्डकी अस्पताल) ले जनाए अनुसार मृतक पोखरा–१४, काजीपोखरीका हुन् । भदौ ७ गते पेट फुलेर आन्द्रा बटारिएपछि अस्पतालको इमरेजेन्सीमा भर्ना भएका ५८ वर्षीय पुरुषलाई अपरेसनपछि त्यहाँको आइसीयूमा भर्ना गरिएको थियो । आइसीयूमै रहँदा उनको शनिबार बिहान ११ बजे निधन भएको हो । ती पुरुषको अस्पतालको कोभिड उपचार केन्द्रको आइसीयूमा रहँदा भदौ ८ गते स्वाब परीक्षण गरिँदा कोरोना पोजेटिभ देखिएको अस्पतालका निर्देशक डाक्टर अर्जुन आचार्यले जानकारी दिए । पोखरा महानगरपालिका वडा नम्बर १४ का वडाध्यक्ष प्रेमबहादुर कार्कीका अनुसार संक्रमित व्यक्ति मुटुका रोगी थिए । उनी कहाँबाट संक्रमित भए भन्नेबारे बुझ्दै गरेको उनले जानकारी दिए । यी पुरुषको निधनसँगै पोखरामा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ र गण्डकीमा १२ पुगेको छ । शुक्रबार चितवन र पोखरामा गण्डकीका २ जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।
मृतक नबिल बैंकका सुरक्षा गार्ड थिए
मृत्यु भएका ५८ वर्षीय पुरुष यहाँको सभागृहमा रहेको नबिल बैंकको सुरक्षा गार्ड भएको खुलेको छ । मुटुका रोगी रहेका उनी पेट दुखेपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (गण्डकी अस्पताल ) पुगेका थिए । भदौ ७ गते अस्पताल पुगका उनको शल्यक्रियाको क्रममा पीसीआर परीक्षण गरिँदा संक्रमण पुष्टि भएको वडा नम्बर २४ का वडासदस्य जितेन्द्र थापाले जानकारी दिए । ‘उहाँ कताकता जानुभयो, परिवारमा को–को हुनुहुन्छ भन्नेबारे हामीले बुझ्न सुरु गरेका छौ’, उनले भने,‘महानगरपालिका र वडा मिलेर उहाँको सम्पर्कमा आएकाहरुको हामी पीसीआर परीक्षण गराउँछौं ।’





