सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

ड्राइभरलाई चारदिनसम्म बन्धक बनाई चरम यातना

ड्राइभरलाई चारदिनसम्म बन्धक बनाई चरम यातना

स्थानीयले खबर गरेपछि जनप्रतिनिधी सहित तीन जना पक्राउ, अपहरण तथा शरिर बन्धकको मुद्धा


  • ढोरपाटन संवाददाता
  • भाद्र १३ २०७७, शनिबार

ठेकेदार बसन्त लामा

पोखरा १३ भदौ – ठेकेदारको श्रीमतीलाई गाडीमा राखी घर पुराउन गएका ड्राइभरलाई बन्धक बनाई यातना दिने जनप्रतिनिधी सहित तीन जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका–२३ का वडा सदस्य भरतराज भण्डारी सहित वसन्त लामा र टिकाराम भण्डारी अपहरण तथा शरिर बन्धकको आरोपमा पक्राउ परेका छन ।
गत सोमवार दिउसो करिब साढे २ बजेको समयमा सोही वडाका ३९ वर्षीय महादेव सापकोटालाई सोहि स्थानमा रहेको खहरेखोला स्थित निर्माणाधिन पुलबाट अपहरण गरी बन्धक बनाएको आरोपमा कास्की प्रहरीले पक्राउ गरेको हो ।
सापकोटालाई नियन्त्रणमा लिई कुटपिट गरी मोवाइल समेत खोसी बा १४ च ८२७९ नं.को कारमा राखी ठेकेदार काम गर्दै आएका आरोपित मध्येका वसन्त लामाको घरमा ४ दिनसम्म बन्धक बनाइ राखेका थिए ।
यस्तो थियो घट्ना : 
अन्नपूर्ण गाउँपालिका–१ का महादेव सापकोटा पेशाले ड्राइभर थिए । घरबाट आउन जान गाह्रो भएपछि पोखरा–२३ डेरागरी बस्थे । बोलेरो जीप चलाउने सापकोटाले अन्य दिन जस्तै साउन २५ गते पनि बोलेरो चलाएका थिए । सोही दिन उनको गाडीमा एक जना पेसेन्जर चढिन् । पोखरा–२३ बाट चढेकी ति युवतीसँग सापकोटाको चिनजान थियो । उनी भन्डारढिक जानु थियो । तिजको वेला ति युवती जस्तै अन्य महिला पेसेन्जर पनि गाडीमा थिए । त्यस दिन सबै पेसेन्जर आ–आफ्नो गन्तव्यमा ओर्लिए ।
पोखरा–२३ मा बस्ने ति युवतीका कारण सापकोटामाथी भने समस्या आइलाग्यो । तिनै युवतीलाई गाडीमा लग्यो भनेर केही दिनपछि निलगिरी नेश्नल जोइन्ट भेन्चरका संचालक तथा ठेकेदार बसन्त लामाले सापकोटालाई बिच बाटोमा गाडी रोकेर थर्काए । ‘मेरो बुढिलाई किन लगिस् , मेरो आफ्नै गाडी थियो’ भन्दै लामाले तथानाम गाली गरे । सापकोटाले यो विषयमा पछि कुरा गर्ने भनेर आफ्नो बाटो लागे ।जनप्रतिनिधी भरतराज भण्डारी

त्यही निहुँमा भदौ ८ गते दिनको २ बजे पोखरा–२३ मा सापकोटालाई समातेर ठेकेदार लामाले कुटपिट गर्दै मोबाइल खोस्दिए । लामासँग आएका पोखरा–२३ का वडा सदस्य भरतराज भण्डारी र त्यहाँका स्थानीय टिकाराम भण्डारी ‘रामु’ ९लामाको काम हेर्ने व्यक्ति०ले पनि उल्टो सापकोटालाई गाली गरे । त्यसपछि खहरे खोलास्थित पुल बन्दै गरेको ठाँउमा लामाले सापकोटालाई मज्जाले कुटे । बाहिरी चोट नदेखिएपनि सापकोटाको टाउको र शरिरमा चोट लग्यो, उनी थलापरे जस्तो भए ।
वडा सदस्य भरतराज नै त्यहाँ भएपछि कुटपिट गर्दा छुट्याउलान् र लामालाई गाली गर्लान् भन्ने पुर्ण विश्वासमा थिए पीडित सापकोटा । तर त्यसो भएन, उल्टो भरतले ‘तलाई केही हुदैन म कुरा मिलाउछु’ भन्दै सापकोटाको दोष देखाए र लामाको पक्षमा बोले ।
एक घण्टा लामाले कुटपिट गरेर थाकेपछि ‘यसलाई फुत्किन नदिनु’ भन्दै सदस्य भरत र टिकारामको जिम्मा लागाइदिए । सापकोटालाई त्यहाँबाट पोखरा–२३ लामाको फ्ल्याटमा लगियो । सापकोटालाई फ्ल्याटको एउटा कोठामा लगेर लामाले फेरी कुटपिट गरेपछि ‘यसलाई कतै फुत्किन नदिनु’ भन्दै सदस्य भरत र टिकारामको जिम्मा लगाएर हिडे । त्यो दिन करिव ३ बजेतिर उनीहरुले सापकोटालाई लामाको फ्ल्याटको एउटा कोठामा थुनेर राखे । ८ गते राती सापकोटालाई छाडिदिन्छन् कि भन्ने आश थियो तर त्यसो भएन । दिनभर सदस्य भरत र टिकारामले रक्सी खादै सापकोटालाई थुनेर राखे । रात परेपछि लामा आएर तथानाम गाली गरेर कुट्न थाले । त्यो शिलशिला लगातार ३ दिनसम्म चल्यो ।
‘सापकोटा अपहरणमा परेका छन्’ भन्ने न घरपरिवारलाई थाहा भयो न त साथीहरुलाई नै । सापकोटाको घरमा बुढि आमा छन् । आमाले फोन गर्न नजान्ने भएकाले सापकोटाले नै हप्ता दश दिनमा घरमा फोन गर्ने गर्थे । कहिले घर कहिले डेरा भएका हुनाले पनि उनको त्यति वास्ता हुदैन्थ्यो ।
एक दिन दुई दिन हुदाहुदै सापकोटा अपहरणमा परेको ३ दिन भईसकेको थियो । भदौ १० गते राती ११ बजे पुनः त्यही घटना दोहोरियो । सदस्य भरत र टिकाराम रक्सी खादै कुर्दै थिए, लामा पनि रक्सी खाएर आइपुगे । त्यो रात सापकोटालाई कुट्दै बाहिर निकाले । लामाको गाडीमा हालेर उनीहरु ३ जनासहित पामे खोलाको बाटो लागे ।
‘आज तँ मर्ने भइस् , तँलाई काटेर बोरामा हाल्ने कि खोलामा फाल्ने’ भन्दै कुट्दै पामे खोलामा सापकोटालाई पुर्याए । शारिरिक र मानसिक तनावमा परेका सापकोटाको मुटुले ठाउँ छोड्यो, ‘आज मेरो अन्तिम दिन हो’ भन्ने सोच्दै लाचार बने उनी ।
त्यति हुदा पनि ‘सदस्य भरतले जोगाउछन् कि’ भन्ने आश कायमै थियो सापकोटाको मनमा । सापकोटाले अन्तिम हिम्मत जुटाउदै ‘दाई मेरो गल्ती छ भने बरु प्रहरीकहाँ लैजानु’ भन्दै सदस्य भरतसँग आफ्नो जिन्दगीको भिख मागे । तर भरतराजले उल्टो सापकोटालाई गाली गरे । डेढ घण्टा खोला छेउमा लागेर शाररिक र मानसिक तनाव दिएपछि पुनः फ्ल्याटमा ल्याएर थुने ।टिकाराम भण्डारी

जब सापकोटालाई पामे खोला ल्याउनको लागि उनीहरुले गाडीमा चढाउदै थिए, त्यो वेला हल्लाखल्ला भएपछि त्यहाँ स्थानीयले चाल पाए । स्थानीयले त्यो कुरा प्रहरीकहाँ सूचना दिए । सूचना पाएको वडा प्रहरी कार्यालय वैदामको टोलीले भदौ ११ गते दिउँसो ३ बजे लामाको फ्ल्याटबाट सापकोटालाई उद्दार ग¥यो । वडा सदस्य भरतराज, ठेकेदार लामा र टिकारामलाई पक्राउ गरि हिरासतमा राख्यो । भदौ १२ गते सापकोटाले अपहरण गरेको भन्दै उनीहरु विरुद्ध उजुरी दिए । वडा प्रहरी कार्यालय वैदामले अपहरण तथा शरिर बन्धक कसूरमा तीन जनालाई शुक्रबार ७ दिनको लागि म्याद थप गरि अनुसन्धान अघि बढाएको छ ।
आफ्नो कुनै गल्ती नहुदा पनि उल्टो अपहरण गरेर कुटपिट गरिएको सापकोटाले गुनासो गरे । ‘गल्ती भएको भए पनि प्रहरीकहाँ लगेर पो कुरा गर्नुपर्छ,’ उनले भने, ‘ठेकेदार लामाले थुनेर पटक–पटक कुटपिट गर्दा उल्टो सदस्य भरतराजले उनलाई नै सहयोग गरे । धन्न मलाई मारेर फालेनन् । मलाई गायव गर्ने योजना थियो उनीहरुको । त्यो दिन मेरौ मोबाइल नखोसेको भए कतै फोन गरेर जोगिन्थे होला । तर मेरो फोन पनि लामाले राखेका थिए, त्यही भएर होला अहिले पनि मेरो फोन वैदाम प्रहरीकहाँ छ ।’  (पिडित सापकोटाले ताण्डव न्युजसंग गरेको कुराकानी)
‘वसन्त लामाको घरमा थुनी राखी अपहरण तथा शरीर बन्धक सम्बन्धी कसुर गरेको भन्ने सुचनाको आधारमा पक्राउ गरेका हौ’ जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास हमालले भने । उनीहरुलाई ११ गते बिहिवार करिब १ बजेको समयमा पक्राउ गरेको प्रवक्ता हमालले बताए । ‘महादेव सापकोटाको उद्धार गरी घटनामा संलग्न व्यक्ति तथा घटनामा प्रयोग भएको सेतो रंगको गाडी समेत बरामद गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ’ प्रवक्ता हमालले भने । पिडितको जाहेरीको आधारमा पक्राउ गरी अपहरण तथा शरीर बन्धक सम्बन्धी कसुर र संगठित अपराध मुद्धामा ७ दिन म्याद थपगरी अनुसन्धान भइराखेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->