बागलुङ, १७ भदौ– कुडुले स्थित मुक्तिनाथ बेद बिद्याश्रम संस्कृत माबिले नेपालको संविधान र कानून अनुसार सबै बालबालिकालाइ पढ्न बिद्यालय खुला रहेको जनाएको छ । बिद्यालयका अध्यक्ष सहदेव राजभण्डारीले बिज्ञप्ती प्रकाशित गरेर कानूनले दिएको अधिकार प्रयोग गर्न कसैलाई रोकतोक नलगाइएको बताएका हुन् ।
केही दिनदेखि यो बिद्यालयमा सबै जातजातीका बालबालिकाले पढ्न पाउनुपर्ने माग गरिएको थियो । यो बिषयमा बिभेद गरिएको भन्ने आरोप सहित मंगलवार दलीत संयुक्त संघर्ष समितिले समेत बिज्ञप्ती प्रकाशित गरेर संस्कृत भाषा अध्ययन गर्ने काममा दलीतलाई बिभेद गरिएको टिप्पणी समेत गरिएको थियो । साथै स्थानीय चन्द्रकान्त पौडेलले दलीतले पनि पढ्न पाउनु पर्ने भन्ने अभियान चलाएका थिए । स्थानीय बासिन्दाले उक्त अभियानमा अवरोध गरेको पनि बताइएको थियो ।
बिद्यालयले बुधवार जारी गरेको बिज्ञप्तीमा गत चैतदेखिनै कोरोना संक्रमणका कारण बालबालिकाहरु पढ्न नपाएको, बिद्यालय बन्द भएको र नयाँ भर्ना समेत नखुलाइएको प्रष्ट पारिएको छ । निशेधाज्ञा समेत लागेको अबस्थामा बिद्यालय संचालन गर्ने कुरा नभएको भन्दै कोरोना संकट सामान्य भएर बिद्यालय भर्ना अभियान संचालन हुँदाका दिन कुनै भाषा भाषी, जातजानी नभनी भर्ना गर्न बाटो खुला भएको जनाइएको छ । साथै बिद्यालयका संरक्षक प्रति लगाइएका आरोप पनि भ्रामक भएको भन्दै त्यस्ता बिषयमा सत्यता नभएको पनि बताइएको छ । २०४२ सालमा स्थापित यो बिद्यालय श्रीधराचार्यको अगुवाईमा स्थापना भएको थियो । उक्त स्थानमा शालीग्राम संग्राहलय र मन्दिर समेत बनाएर पर्यटकीय स्थल समेत बनाइएको छ ।




