बागलुङ, १९ भदौ– बुधबार रातीको बाढी र पहिरोले बागलुङको ढोरपाटन नगरपालिका–९ बोबाङमा मृत्युभएका १४ मध्ये चार जनाको शव शनाखत भएको छ । पहिरोमा परी २४ जना बेपत्ता छन् ।
शव शनाखतहुनेहरुमा ढोरपाटन नगरपालिका वडा नं. ९ की २६ वर्षकी केशमाया बिक, ४५ वर्षिय विरे बिक, २२ बर्षिय जीवन बिक र ११ बर्षिय डल्ले बिक रहेको प्रहरीले जनाएको छ । शव भेटिएका दशजनाको अझै सनाखत हुन नसकेको प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले बताए ।
उनीहरुको शव बुर्तिबाङ स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ । पहिचान भएकाहरुको पोष्टमार्टमको काम शुक्रबार हुने छ । घटनामा बेपत्ताको शुक्रबार बिहानै देखी खोजी सुरु भएको रेग्मीले बताए ।
रातको समयमा खसेको पहिरोमा परि धेरैले ज्यान बचाउन नसकेका हुन् । केही मानिसले भागेर ज्यान बचाएका थिए भने कतिलाई भाग्ने क्रममै खोलाले बगाएको थियो । बगाएकामध्ये केहीको अधिकारीचौर, बुर्तिवाङ र बडिगाड गाउँपालिकासम्म शव भेटिएका छन् । कति क्षतविक्षत अवस्थामा भेटिएकोले पहिचान गर्न नसकिएको उद्वारमा खटिएका प्रहरी निरिक्षक प्रकाशसिंह भण्डारीले बताए ।
पहिरोले फलेघर र सुपुर्दुङका दजर्नबढी घर बगाएको छ भने वडा नं. ८ सम्म आइपुग्दा ४० घर बगेका छन् । अधिकांस घरको भग्नावशेषसमेत देखिएको छैन । बस्ती भएको स्थानमा अहिले खोला बगेको छ । ढोरपाटन जाने सडकको देउरालीबाट खसेको पहिरोले भुजीखोला थुनिएर ताल बनेको र त्यसपछि बाढी चल्दा ठूलो क्षति पुगेको स्थानीयले बताएका छन् ।





