बागलुङ, १९ भदौ– बुधबार रातीको बाढी र पहिरोले बागलुङको ढोरपाटन नगरपालिकाको बोबाङमा १४ जनाको मृत्यु भएको छ । २४ जना बेपत्ता छन् । लगातारको वर्षाले देउरालीदेखि खसेको पहिरोले बस्ती नै बगाएर धनजनको क्षति गरेको हो । बिहिबार दिनभर गरिएको खोजीकार्य तथा उद्दारमा १४ जनाको मात्रै शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक राजेन्द्र रेग्मीले बताए । मृत्यु भएकामध्ये चार जनाको मात्रै पहिचान खुलेको छ । शव शनाखतहुनेहरुमा ढोरपाटन नगरपालिका वडा नं. ९ की २६ वर्षकी केशमाया बिक, ४५ वर्षिय विरे बिक, २२ बर्षिय जीवन बिक र ११ बर्षिय डल्ले बिक रहेको प्रहरीले जनाएको छ । शव भेटिएका दशजनाको अझै सनाखत हुन नसकेको प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले बताए । अन्यको सनाखत हुन सकेको छैन ।
घटनामा बेपत्ताको खोजी भैरहेको छ । तर यकिन तथ्यांक भने नभएको समेत प्रहरीले बताएको छ । ‘घुम्ती बस्ती भएकोले कति थिए भन्ने अझै एकिन भएको छैन’ रेग्मीले भने, ‘बेपत्ताको संख्या बढ्न पनि सक्छ ।’ रातको समयमा खसेको पहिरोमा परि धेरैले ज्यान बचाउन नसकेका हुन् । केही मानिसले भागेर ज्यान बचाएका थिए भने कतिलाई भाग्ने क्रममै खोलाले बगाएको थियो । बगाएकामध्ये केहीको अधिकारीचौर, बुर्तिवाङ र बडिगाड गाउँपालिकासम्म शव भेटिएका छन् । कति क्षतविक्षत अवस्थामा भेटिएकोले पहिचान गर्न नसकिएको उद्वारमा खटिएका प्रहरी निरिक्षक प्रकाशसिंह भण्डारीले बताए ।
पहिरोले फलेघर र सुपुर्दुङका दजर्नबढी घर बगाएको छ भने वडा नं. ८ सम्म आइपुग्दा ४० घर बगेका छन् । अधिकांस घरको भग्नावशेषसमेत देखिएको छैन । बस्ती भएको स्थानमा अहिले खोला बगेको छ । ढोरपाटन जाने सडकको देउरालीबाट खसेको पहिरोले भुजीखोला थुनिएर ताल बनेको र त्यसपछि बाढी चल्दा ठूलो क्षति पुगेको स्थानीयले बताएका छन् । ‘हामीले उपल्लो स्थानमै पुगेर हेरेका थियौं, बाढी बन्ने गरी पहिला खोला थुनिएको रहेछ’ स्थानीय बासिन्दा विश्वास कायतले भने, ‘बाढीको रुप लिएर आएपछि सबैको घर बगाएको हो ।’ रातको समयमा भएकोले घरबाट भाग्न नपाएर धेरैको मृत्यु भएको अनुमान गरिएको छ ।
घटनास्थलमा उद्वारका लागि इलाका प्रहरी कार्यालय बुर्तिवाङबाट प्रहरी निरिक्षक भण्डारीको नेतृत्वमा टोली गएको थियो । दिउँसो नेपाली सेनाको घोडाबा“धेस्थित अर्जुन बा“ण गणको टोली पनि पुगेको थियो । बेपत्ताहरु धेरै भएकोले बिहिबार नभ्याएको उद्दार शुक्रबार पनि गरिने बताइएको छ । स्थानीयले खानेपानीका मुहान पनि बगेकोले बाँचेकालाई पनि सास्ती हुने देखिएको कायतले बताए । बोबाङमै संचालित पुरानो स्वास्थ्य चौकी तथा गाउँघर क्लिनिक पनि पुरै बगाएकोले औषधि पनि अभाव भएको स्वास्थ्यकर्मी दिपक थापाले जानकारी दिए ।
उद्वारमा नगरप्रमुख सहितका जनप्रतिनिधि
बाढीले क्षति पुगेको स्थानमा ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीसमेत पुगेका थिए । उनले पीडितको घाउमा मल्हम लगाउने बताए । घटनास्थल हिँडेका प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोखरेल हिँड्दा अस्वस्थ्य भएर फर्केका थिए । ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्ती र बडिगाड गाउँपालिका अध्यक्ष मेहरसिंह पाइजा पनि राहत लिएर घटनास्थल पुगेका छन् ।
त्यस्तै, गण्डकी प्रदेश सभा सदस्य मणीभद्र शर्मा, राधामाधव सेवा समितिका दिपक कंडेलसहितको टोली पनि राहत लिएर गएको हो । नेपाल रेडक्रस सोसाइटी बागलुङका सभापति जब्बरबहादुर लामिछानेसहितको टोलीले पनि राहत तथा अन्य सामाग्री लिएर गएका छन् ।
मौसमले साथ नदिँदा गृहमन्त्री फर्किए
गृहमन्त्री रामबहादुर थापा पहिरो पिडित क्षेत्रमा आएर राहत बाँड्ने कार्यक्रम बनाए पनि मौषम खराबीले फर्केका छन् । संघिय सांसद देबेन्द्र पौडेलसहित हेलिकोप्टरमा आएका थापा मौषम खराब भएपछि पोखराहुँदै काठमाण्डौ फर्केका थिए । घटनाबारे मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि विज्ञप्तीमार्फत दुःख व्यक्त गरेका छन् । उनले खोजी उद्दारमा खटिनेलाई धन्यवाद दिंदै सरकारको राहतसमेत प्राप्त हुने बताएका छन् ।
पहिरोमा १५ दिनको शिशु पनि
बुधबार रातको पहिरोले ढोरपाटनमा बितण्डा मच्चायो । बितण्डामा बेपत्तामध्ये १५ दिनको शिशुसमेत छन् । पहिरोमा ३१ परिवारको बिचल्ली भएको छ । कसैका परिवारका सदस्य बेपत्ता छन्भने कसैका घरगोठको नाम निसाना मेटाएको छ । पहिरोमा ढोरपाटन नगरपालिका–९ सुप्राङ बस्ने बिरे बिकको परिवारनै बेपत्ता भएका छन् । बुधबार साँझ खाना खाएर आफ्नै घरमा सुतेका उनीहरुको घरसहित चार जनाको परिवार कहाँ छन् भन्ने बिहिबार साँझसम्म पत्तो नभएको हो । बिककी श्रीमती र नाम नखुलेका दुई छोराछोरीसहित ४ जना पहिरोले बेपत्ता भएको स्थानीयले बताए ।
पहिरोमा बेपत्ता भएका अधिकांश एकै घरका सदस्य छन् । सोही ठाउँका १० महिनाका नाम नखुलेका एक बालकसमेत बेपत्ता सूचीमा परेका हुन् । बाढीपहिरोमा परी बेपत्ता भएकामध्ये १४ जनाको शव फेला परेको हो । मृत्यु हुनेमा २६ बर्षिय केशमाया बिक र करबहादुर बिकको मात्रै सनाखत भएको हो ।
घटनामा क्षतविक्षत अवस्थामा शवहरु भेटिएकोले सनाखत रोकिएको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरिक्षक प्रकाशसिंह भण्डारीले बताए । ‘कसैको खुट्टा मात्रै फेला परेको छ, कसैको टाउको मात्रै’ उनले भने ‘विभत्स शवहरु पहिचानमा कठिन भैरहेको छ ।’ पहिरोमा हराएका दुई वर्षका बालकको टाउको च्यापिएको अवस्थामा शव फेला परेको थियो । परिचय नखुलेका एक पुरुषको झोलुङ्गे पुलमा अड्किएको अवस्थामा शरीरको आधाभाग फेला परेको थियो । भेटिएका शव बेपत्ता सूचीका हुन् वा अन्य हुन् भन्नेसमेत एकिन भैनसकेको जिल्ला प्रहरीका प्रहरी नायव उपरिक्षक राजेन्द्र रेग्मीले बताए ।
बेपत्ता हुनेहरुमा ढोरपाटन नगरपालिका–९ का जीवन बिक, नारायण बिक, उनी श्रमती टेकमाया बिक र नाम नखुलेकी एक बर्षकी छोरी छन् । सोही ठाउँका मनिषा बिक, शनि बिक, र उनीहरुका छोराहरु रोशन बिक र रवि बिक छन् । नाम नखुलेकी १५ दिनकी बालिका, सोही ठाउँका मनकुमारी बिक, प्रेम पुन, कमारी बिक, समुन्द्र बिक, पुनम बिक, जीत बहादुर घर्ती, राजु घर्ती, करमती बुढा, रिना कुमारी घर्ती, दिलमया पुन, प्रकृति पुन, डोटी पुन रहेका छन् ।
त्यस्तै, हेम बहादुर बिक, उजेली बिक, दलु बिक, नाम नखुलेको १० महिनाको बालक, हस्तमाया बिक, तुलमती घर्ती, कौशिला पुन, विशाल पुन, धनमाया बिक, ३ वर्षको नाम नखुलेको बालक र बिरे बिकका चार जनाको परिवार बेपत्ता भएको प्रहरीले जनाएको छ । गलकोटबाट ढोरपाटन घुम्न गएका नविन भण्डारी र ढोरपाटन नगरपालिका वडा नं. ९ का नाम नखुलेका अन्य तीन जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।
कसरी खस्यो पहिरो ?
ढोरपाटन जाने सडक वर्षौअघि खनिएको हो । अहिले यो सडक सालझण्डी ढोरपाटन राष्ट्रिय राजमार्गमा सूचीकृत छ । वर्षात्मा हिलाम्मे हुने भएकोले यो सडक संचालनमा छैन । बरु गत असारमा मर्मतको नाउँमा देउरालीमा सडक भत्काइएको स्थानीयले बताए । भत्काएको माटो र सडकमा जमेको पानीले पहिरो चलाएको स्थानीय शिक्षक यामबहादुर कायतले बताए ।
सडकको माटोसहित पहिरो खसेर भुजीखोला थुनिएको बताइएको छ । थुनिएपछि बनेको ताल फुटेर पहिरो खस्दा ठूलो क्षति हुनेगरी पहिरो र बाढी चलेको प्रारम्भिक अनुमान गरिएको छ । घटनामा के कति मूल्यको क्षति भयो भन्ने खोजी भैसकेको छैन । बेपत्ताको खोजी सकिएपछि मात्र अन्य खोजी हुने बताइएको छ ।
यहाँका अन्य भौतिक पूर्वाधारमा पनि क्षति पुगेको छ । ३ वटा जलविद्युत आयोजनामा पनि क्षति पुगेकोले विद्युत सेवा पूर्ण ठप्प छ । टेलिफोनको सेवा अवरुद्ध छ । ती आयोजना मर्मत गरेर संचालनका लागि महिनौ समय लाग्ने बताइएको छ । खोलाले आफ्नो बहावसमेत फेरेको, खेतीपाती बगाएको र कतिपय पुलमा पनि क्षति पुगेकोले वातावरण सहज बन्नसमेत केही समय लाग्ने कायतको कथन छ । स्थानीयले बिहिबारदेखिनै खानेबस्ने ठाउँ पाएका छैनन् । घरबार गुमाएकालाई तत्कालका लागि स्थानीयले व्यवस्थापन गरेका छन् । नगरपालिका र दाताहरुले तत्कालका लागि खानपानको व्यवस्थापनमा सहयोग गरेका छन् ।
सडक पहिरोको कारक
पछिल्लो समय अधिकांस स्थानमा ग्रामीण सडक पहिरोको कारक बनेका छन् । अन्य घटना पुष्टी नभएसम्मका लागि यो घटना पनि ढोरपाटन सालझण्डी सडकमा वर्षात्को समयमा लगाइएको डोजरबाट सिर्जित समस्यासमेत भएको स्थानीयको बुझाइ छ । सडक खन्दा नाली नतर्काउने कामले बढी जोखिम सिर्जना गरेको छ । यो सडक राष्ट्रिय आयोजनामा परेपनि डोजर लगाउने मात्रै काम भैरहेको छ । संरचनाहरु समयमा नबन्दा पहिरोको जोखिम बढी भएको उपभोक्ताले बताए ।
दुर्गन्धको खतरा
पहिरोले धेरै वस्तुभाउसमेत बगाएको छ । बगेका गाइबस्तु र पशुपंक्षीले दुर्गन्ध र महामारी फैलन सक्नेसमेत चिन्ता बढेको स्थानीय स्वास्थ्यचौकीका प्रमुख दिपक थापाले बताए । बिरामी र घाइते अवस्थामा आउने बिरामीलाई उपचार र औषधि वितरणमा समेत समस्या परेको भन्दै थापाले पशुपंक्षीको दुर्गन्ध बढ्न नदिन पनि समयमै चासो राख्नुपर्ने उनले सुझाव दिए ।





