बागलुङ, १९ भदौ – भदौ १७ गते बुधबार रातीको बाढी र पहिरोले बागलुङको ढोरपाटन नगरपालिका–९ बोबाङमा मृत्युभएका १४ मध्ये १३ जनाको शव शनाखत भएको छ । एक जनाको शव शनाखत हुन बाँकी छ । पहिचान भएका ढोरपाटन नगरपालिका वडा नं. ९ घर भएकी २३ वर्षिया दिलमायाँ पुन, ३१ बर्षिया रिमकुमारी घर्ति मगर, ३२ बर्षिया सिता बुढा, वडा नं. ९ कै २६ वर्षिया केशमाया बिक, ११ वर्षिय मदन बिक, २२ बर्षिय जीवन बिक र ११ बर्षिय डल्ले बिकको शव आवश्यक कानुनी प्रक्रिया पु¥याएर आफन्तको जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिए ।
त्यसैगरि ६ बर्षिय बिराज बिक, २३ बर्षिया दिलमाया पुन, ३१ बर्षिय प्रेम पुन, १३ बर्षिया पुनि बिक, ६५ बर्षिय डोटी पुन र ४६ बर्षिय करबहादुर बिकको पहिचान गरि जिम्मा लगाइएको भण्डारीले बताए ।
घटनामा बेपत्ता भएका २४ जनाको खोजी कार्य जारी भने रहेको छ । नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले नदीकिनारमा खोजतलास गरिरहेको प्रहरी निरीक्षक भण्डारीले बताए ।
बाडि पहिरोले बोबाङको फल्लेघर, सुकुरदुङ, घट्टबोट, लाकुरीबोट लगायतका स्थानमा अधिकाँश घरहरु क्षतिग्रस्त देखिएको उनले बताए । वडा नं. ९ र ८ मा करिव ४० घर बगेको देखिएपछि वडाबाट आवश्यक तथ्याँक संकलन सुरुभएको ढोरपाटन नगरपालिकाका नगर प्रमुख देवकुमार नेपालीले बताए ।
पहिरोमा परि ८० घरमा पूर्ण क्षती, ५१ घरमा आँशिक क्षती, ११ वटा लघुजलबिद्युत, स्वास्थ्य इकाई १, झोलुङ्गे पुल ११, ढलान पुल ५, काठे पुल १० र २ बिद्यालयमा क्षती पुगेको नगरपालिकाले बिज्ञप्ती जारी गरि जनाएको छ ।





