पोखरा, २० भदौ- पोखरा महानगरका ३ वटा वडाका विभिन्न स्थान सिल हुने भएको छ । शुक्रबार तीनवटै वडाका अध्यक्षले संयुक्त विज्ञप्ति जारी गर्दै राति १२ बजेदेखि नै लागू हुने गरि एक हप्तासम्मको लागि वडाका विभिन्न टोलहरु सिल गर्ने घोषणा गरेका हुन् ।
सूचना अनुसार वडा नम्बर १०, १२ र १३ अन्तर्गतका स्वर्णिम टोल, अन्नपूर्ण टोल, लालीगुराँस टोल ढिकालेथर हुँदै कुँडहर चोक मियाँपाटनसम्मका सबै क्षेत्र यसैगरि लालीगुराँस मिनीमार्ग प्रगतिटोल, विपी मार्ग ‘क’ र ‘ख’ हुँदै भद्रकाली ‘ख’ टोल विकास क्षेत्र माछापोखरीदेखि संगमटोल मियाँपाटन, अन्नपूर्ण टोलहुँदै बेसलाइन स्कुल क्षेत्रका सबै क्षेत्र सिल हुने भएको हो ।
पोखरा औद्योगिक क्षेत्रभित्र कार्यरत २७ जनालाई बिहीबार कोरोना पुष्टि भएको थियो । औद्योगिक क्षेत्रको एक बिस्कुट कम्पनीमा कार्यरत मजदुरलाई एकै दिन कोरोना पुष्टि भएको यो पहिलो रेकर्ड पनि हो । कोरोना पुष्टि भएका २७ जना मजदुर १०, १२ र १३ मा बसोबास गर्दै आएका थिए । तीवटै वडाको सीमाना जोडिएको र एकै दिनमा ठूलो संख्यामा संक्रमण पुष्टि भएपछि वडाका टोलहरु सिल गरिएको वडा नम्बर १३ का वडाध्यक्ष दर्शन लामाले जानकारी दिए ।
‘हिजो औद्योगीक क्षेत्रमा कार्यरत २७ जना मजदुरमा कोरोना पुष्टि भयो’, उनले भने, ‘संक्रमित मजदुरहरु बस्ने टोल पनि जोडिएको हुनाले वडा सिल गर्ने निर्णय लिएका हौं ।’ वडाले महानगर कोरोना रोकथाम तथा नियन्त्रण समितिमा सिल गर्न सिफारिस गरेपछि महानगरको सिफारिसलाई जिल्ला संकट व्यवस्थापन केन्द्रले सदर गरेको थियो ।
वडाध्यक्ष लामाले समुदायस्तरमै कोरोना संक्रमण फैलिएपछि टोल सिल गर्न बाध्य भएको बताए । ‘वडा सिल गरेर कन्ट्याक्ट ट्रेसिङको कामलाई अघि बढाउँछौं’, उनले भने । अहिले संक्रमित मजुदरलाई कार्यरत कम्पनीले नै आइसोलेसनमा राखेको छ । सिल अवधिभर अत्यावश्यक क्षेत्रका सबै सेवा खुले पनि सुरक्षा संयन्त्र कडा पारिने उनले बताए । यो अवधिमा स्वास्थ्यजन्य सबै सेवा खुल्ला रहनेछन् । खाद्यान्न तथा तरकारी पसल बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खोल्न पाइनेछ । यसैगरि एम्बुलेन्स र अति आवश्यक क्षेत्र खुल्ने छन् ।
अत्यावश्यक सेवा लिन तोकिएका सुरक्षाका सबै मापदण्ड पालना गरिनुपर्नेछ । वडाध्यक्ष लामाले वडाबासीलाई सुरक्षित रहन पनि आग्रह गरेका छन् । यसअघि ४ महिना लामो लकडाउनपछि जिल्ला प्रशासन कास्कीले भदौ २ गतदेखि १२ गतेसम्म २ हप्ता लामो निषेधाज्ञा जारी गरेको थियो । २ हप्ता लामो निषेधाज्ञापछि जिल्ला संकट व्यवस्थापन केन्द्रले २० गतेसम्मको लागि निषेधाज्ञा खुकुलो पार्ने र अवस्था हेरि पुन ः निषेधाज्ञाको म्याद थप्ने बताएको थियो । संकट व्यवस्थापन केन्द्रको अघिल्लो निर्णयको म्याद सकिन १ दिन बाँकी हुँदा वडाहरुमा पुरानै अवस्थाको निषेधाज्ञा थप एक हप्ता कायम राख्ने निर्णय लिएको छ ।
जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक जिल्ला अधिकारी श्रीनाथ पौडेलले महानगरको सिफारिसमा वडा नम्बर १०, १२ र १३ का टोलहरु सिल गर्ने प्रस्ताव सदर गरिएको बताए । कास्कीमा शुक्रबार मात्रै १७ संक्रमित थपिएका छन् । कास्कीमा १७८ वटा सक्रिय केस छन् । संक्रमितको दर दिनहूँ बढ्दो छ । प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले यहीं अवस्थाको निषेधाज्ञा अझैं एक हप्ता कायम रहने बताए । २६ गते राति १२ बजेसम्म तीन वडाका टोलहरु सिल रहनेछन् ।





