बागलुङ, २० भदौ– केही दिनदेखि लगातार झरी परिरहे पनि खोलामै जोडिएका बस्तीमा जोखिमबारे चासो नहुनुले ढोरपाटन पहिरोमा बढी क्षति भएको छ । वर्षात्मा लगातार झरी पर्दा ढोरपाटनको भुजीखोला बढेको थियो । तर रातमा एकाएक बाढीको स्वरुपमा आएपछि ४० घर बगाएर ठूलो क्षति भएको छ ।
बुधबारको बाढीपहिरोमा ढोरपाटन नगरपालिकाको वडा नं. ९ का ४० घर पुरिएका छन् । ती घरमा बस्ने १४ जनाको मृत्यु भएको छ भने २४ बढी हराएका छन् । उनीहरुको खोजी भैरहेपनि तत्काल भेटिने संभावना कम भएको छ । ‘बाढीले बगाएर धेरै क्षतविक्षत बनाएकोले बेपत्ताको खोजीसमेत कठिन भएको छ’ इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरिक्षक प्रकाशसिंह भण्डारीले भने, ‘कता मात्रै खोजी गर्ने भन्ने यकिनै गर्न सकिएको छैन ।’ पहिलो चरणमा घरहरु पुरिएको र बगेको स्थानमा मात्रै खोजी भैरहेको हो ।
बाढीले अधिकांसलाई बगाएर लगेको हुनसक्ने आशंका भण्डारीले गरेका छन् । उक्त घटनाका केही शव बडिगाड खोला र गुल्मीका खण्डमा भेटिनुले सबै भेटिने शंका बढाएको हो । पहिरोमा पुरिएको सबै बस्ती खोलाको किनारका हुन् । खोलाको ५ मीटर दुरीसमेत नराखी यहाँको बस्ती विकास भएको थियो । पुरानो बस्तीसँगै नयाँ बनिरहेका घर पनि खोलामै जोडेर बनेका थिए । यसरी खोलामा बनाईदा जोखिमबारे नगरपालिकाले पनि केही बोलेको थिएन ।
‘नक्सा पास गर्ने चलन पनि छैन, नगरपालिकाले केही तयारी गरेपनि ग्रामीण बस्तीमा थाहा दिने चलन पनि छैन’ ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोखरेलले भने, ‘बजार क्षेत्रमा नक्सा पास गरेर मात्र घर बनाउन दिएका छौं, गाउँमा गोठ र छाप्रो बनाएर पनि धेरैजना बसेको देखिन्छ ।’ वर्षातमा ढोरपाटन जाने र जाडोमा बेसी झर्ने गरेकोले कतिपय मानिस कता बस्छन् भन्ने पनि यकिन गर्न नसकिएको उनले बताए । घुम्ती बस्तीकै कारण मृतक र बेपत्ताको संख्या यकिन गर्न पनि अप्ठ्यारो परेको थियो ।
भुजीखोलाको किनारमा बुर्तिवाङदेखि ढोरपाटन जाने सडक पनि छ । यो सडक राष्ट्रिय राजमार्गमा सूचिकृत भएपनि नाली निर्माण भएको थिएन । माथिल्लो खण्डबाट खसेको पहिरोले ल्याएका ढुंगा र रुखले खोला थुनिंदा बाढी बस्तीतर्फ गएको स्थानीय गोबिन्द पुले बताए । ‘खोलापारी भएकोले हामीले रातमा उद्दार पनि गर्न सकेनौं, उज्यालो भएपछि मात्र आउन सकियो’ पुनले भने, ‘भाग्यले कतिजना भागेर बाँच्न सके, धेरैले ज्यान गुमाए ।’ बस्तीमा पहिरो पसेपछि कतिपय घरको नाम निशान पनि नरहेको उनले बताए ।
पहिरोमा परेर कक्षा १० मा पढ्ने सुस्मिता बिकको घरका सबैको मृत्यु भएको छ । उनी एक्लै बाँचेकी छिन् । कक्षा नौ’मा पढ्ने उनकै काकाको छोरा आशिष पनि एक्लै बाँच्नेमा परेको स्थानीय शिक्षक यामबहादुर कायतले बताए । कतिपयका परिवार ढोरपाटनमा भएकोले बाँच्न सफल भएको, केहीले साथीको घरमा जाँदा पहिरोबाट बच्न सकेको बताएका छन् ।





