मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

ढोरपाटनमा बाढीपहिरो : सडक क्षतिविक्षत, आउजाउ नै रोकियो

ढोरपाटनमा बाढीपहिरो : सडक क्षतिविक्षत, आउजाउ नै रोकियो

चरन क्षेत्र ढोरपाटनमा पशुचौपाया लैजान र उत्पादित आलु बजार पठाउन समस्या


  • ढोरपाटन संबाददाता
  • भाद्र २० २०७७, शनिबार

बागलुङ, २० भदौ– ग्रामीण सडकको रुपमा ट्रयाक खुलेपनि झण्डै दश वर्षअघिदेखि ढोरपाटन जाने सडक राष्ट्रिय राजमार्गमा सूचिकृत छ । सालझण्डी ढोरपाटन सडकमा सूचिकृत भएपछि यहाँ वर्षेनि करोडौं लगानी भएको छ । तर बाढीपहिरोले यो खण्डको २० किमी सडक क्षतबिक्षत बनाएको छ ।
ढोरपाटन सालझण्डी सडक आयोजनाले पनि लगानीको अधिकांश बजेट बागलुङमा खर्चेको थिएन । त्यसैले सडक आँफै जीर्ण थियो । पहिरोले बाँकी खण्ड पनि बगाएपछि पैदलयात्रीले सास्ती खेप्ने गरी सडक क्षतविक्षत भएको हो ।
सडकमा नाली पनि नबनाइएकोले बाढी पसेर सडक भत्काएको स्थानीयको बुझाई छ । यो खण्डमा कतैपनि नाली बनाइएको छैन । यात्रामा सडक जीर्ण, हिलाम्मे र अप्ठ्यारो भएको गुनासो आइरहेको बेला गत बुधबारको बाढीपहिरोले सडकको ट्रयाकसमेत फेर्नुपर्ने अवस्था ल्याइदिएको हो ।
अब बुर्तिवाङदेखि ढोरपाटन जानेले अधिकारीचौरको सिमानासम्म मात्रै सवारी चढेर जान सक्छन् । बोबाङ खण्डमा अधिकांस सडक ध्वस्त भएको छ । सडककै समस्याले राहत सामग्री लिएर जानेहरुले पनि सास्ती खेपेका छन् । पहिरोले पैदलयात्रासमेत जोखिम बनेको राष्ट्रिय अनुसन्धान कार्यालय बागलुङका प्रमुख नगेन्द्र गिरीले बताए । ‘पैदल हिड्दा हैरानै भइन्छ, सजिलो पैलदबाटो पनि छैन’ उनले भने, ‘पीडितले दैनिक हिड्नुपर्ने सडक तत्काल मर्मत गर्नुपर्ने देखिन्छ ।’
यो सडक ढोरपाटन जाने खण्ड हो । वर्षात् सकिएपछि पनि ठूलो लगानी गरेर मात्रै सडक संचालन हुन सक्ने स्थानीयले बताए । ‘करोडौं खर्च गरेपछि मात्रै सडक राम्रो बन्छ होला’ स्थानीय यामबहादुर कायतले भने, ‘नियमित ढोरपाटन जानुपर्नेहरुले पनि सास्ती पाउने भए ।’ ढोरपाटन नगरपालिका वडा नं. ७, ८ र ९ का अधिकांस मानिस जाडो मौषममा मात्रै घरमा बस्छन् । अन्य समय ढोरपाटनमा खेतीपातीका लागि जाने गरेका छन् । उनीहरुको पशुचौपायाको चरन पनि ढोरपाटन हो । चौपाया लिएर जानेआउने बाटो अवरुद्ध भएकोले किसान चिन्तित छन् ।
पर्यटकीय स्थल र नेपालको एक मात्र शिकार आरक्ष भएपनि ढोरपाटन पुग्न तत्काल नसकिने अवस्था भएको उनले बताए । कोरोना संकट हटेमा ढोरपाटन जानेहरुको संख्या बढ्छ । सडक सहज बनाउन नसकेमा पर्यटक लैजाने योजना अलपत्र हुने नगरप्रमुख देवकुमार नेपाली बताउँछन् । ढोरपाटन सालझण्डी सडक आयोजनालाई यो सडक खण्ड तत्काल निर्माण गर्न उनले आग्रह गरेको बताए ।
हरेक वर्षात्मा परेका खाल्डाखुल्डी पुर्ने काममा नगरपालिकाले लगानी गरिरहेको थियो । गतवर्ष स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमको २ करोडसमेत यो खण्डमा खर्च भएको थियो ।
ढोरपाटनका किसानले फलाएको आलु अहिले बजार पठाउने समय हो । तर सडक अभावमा उनीहरुको उत्पादनसमेत बिक्री नहुने भएको छ । किसानको आवस्यकताका लागि पनि सडक मर्मत गरेर संचालन गर्नुपर्ने बाध्यता भएको नेपालीले बताए । त्यसका लागि कसले के कति लगानी गर्न सकिन्छ भन्ने छलफल भैरहेको उनले बताए ।
आयोजनाको कार्यालय जिल्लामा नभएकोले केही दिनमा छलफलमा बोलाएर टुंगो लगाउने नगरपालिकाको योजना छ । यो सडक पक्की बनाउन आयोजनाले ३ अर्ब ९८ करोडको बजेट माग गरेकोमा सोचेअनुसार नआएपछि कामले गति लिन नसकेको प्राविधिकले बताएका थिए । यो खण्डसहित बागलुङको राजकुत र दर्लिङमा पनि सडक जीर्ण छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->