म्याग्दी, २१ भदौ – म्याग्दीको धौलागिरि गाउँपालिका ७ ताकममा रहेको ऐतिहाँसिक अन्नपूर्ण पुस्तकालय पाठक र मर्मत सम्हारको अवस्थामा जीर्ण बनेको छ । कठोर पञ्चायती व्यवस्थाका विरुद्ध जनतालाई सचेत बनाउने र प्रजातन्त्र प्राप्तिका लागि उत्साहित गराउने उद्धेश्यले महायज्ञ लगाइ त्यसवाट संकलन भएको धान र नगदले विभिन्न क्रान्ति र आध्यात्मिक पुस्तकहरु खरिद गरिएको सो पुस्तकालय अहिले भने वेवारिसे अवस्थामा पुगेको हो ।
विसं २०२५ सालमा निकै चुनौतिका साथ सिडिओ कार्यालयमा दर्ता गरी स्थापना गरिएको पुस्तकालय अहिले मुसा र चमेरोको क्रिडास्थल बनेको ताकमका बुद्धिजीवि एवम् सक्रिय युवा गोपाल आचार्यले बताए । आचार्यका अनुसार तत्कालीन समयमा स्थानीयवासीले राणा शासनको अन्त्य भएपछि पनि पञ्चायती व्यवस्थाले जनताका अधिकारहरु कुंठित गरेकोले जनतालाई सूचित गराई शिक्षाको ज्योति गाउँभरी फैलाउने उदेश्यले पुस्तकालय सञ्चालन गरिएको थियो ।
यसरी संचालन गरिएको पुस्तकालयलाई जिल्लाकै ठूलो र नमुना बनाउन भद्रकला सुबेदीले सञ्चालन गरेको महायज्ञमा संकलन भएको धान र नगदबाट विश्वभरका चर्चित पुस्तक सहित नेपाली राजनीति, सामाजिक सहित विभिन्न पक्षलाई समेटेका पुस्तकहरू राखिएको भएपनि अहिले धेरै पुस्तक चोरी भएका छन् ।
तत्कालीन समयमा ठूलो रकम र जनशक्तिको प्रयोग गरी स्थापना गरिएको पुस्तकालय संरक्षण र यूवाहरूको सक्रियता नहुदाँ जीर्ण भएको म्याग्दीका पुराना साहित्यकार बृद्धिप्रसाद सुबेदीले जानकारी दिए । पुस्तकालय स्थापनापछि पञ्चायकालमा समेत क्रान्ति र विभिन्न राजनीतिक सम्बन्धित पुस्तकहरु जफत गरिएको थियो भने माओवादी जनयूद्धको क्रममा माओवादी नेताहरूले क्रान्तिकारी सम्बन्धित पुस्तकहरु लैजाने र पुस्तकालयमै पुगेर समेत पढ्ने गरेका सुवेदीले वताए ।
मन परेका र बजारमा समेत नपाईने पुस्तकहरु पाठकले लगे पनि फिर्ता नगरेपछि विस्तारै पुस्तकको संख्या समेत घट्दै जान थालेको छ ।
पुस्तकालयलाई नियमित बनाउन साहित्य र शैक्षिक क्षेत्रमा सक्रिय रहेका ताकमबासीहरुले चासो देखाएपनि त्यसलाई नियमित सञ्चालन गर्न स्रोत र जनशक्तिको समेत अभाव भएकाले सफल हुन सकेको छैन् ।
गाउँका बुढापाकाले फुर्सतको समयमा पुस्तकालयको प्रयोग गर्ने इच्छा जनाएपनि भवन जीर्ण हुनुका साथै त्यहाँ भित्र रहेका फर्निचर सहित पुस्तक राख्ने ¥याक समेत भाचिँएको अवस्थामा रहेकाले बृद्धबृद्धाहरूको चाहना समेत अधुरो रहेको छ ।
यद्यपि नयाँ पुस्तकालय भवन निर्माणका लागि केही युवाहरु भने लागि परेका छन् । युवाहरुकै पहलमा गाउँपालिकाले ४ कोठे भवन निर्माणका लागि बजेटको व्यवस्था समेत गर्ने प्रतिवद्धता जनाएपछि पुस्तकालयको जग भने राखिएको छ ।





