बागलुङ, २२ भदौ– ढोरपाटन नगरपालिका वडा नं. ९ का बाढी पिडितको घर भएको ठाउँमा अहिले खोला हिँडेको छ ।
आफन्त गुमेको पीडाले छटपटी त छँदैछ घरबास मासीएकाले ओत लाग्ने ठाउँ पनि छैन् । तत्कालको बिपत् भएकाले आफन्तको शरण मागेर घटना पछिका चार रात त कटे तर सधैं आफन्तकोमा कति बस्ने ? पिडित परिवारको यो सकस अहिले स्पष्ट देखिन थालिएको छ ।
गत भदौ १७ गते बुधबार राती बोबाङको देउरालीबाट झरेको माटोले भूजीखोला थुनेपछि सिर्जित बाढीका प्रभावितहरुको पीडा हो यो । बाढी पहिरोमा परेर क्षतबिच्छेद भएका ९३ घरका छन् । ती कुनैपनि घरमा सोझै बस्न मिल्ने अबस्था छैन । ध्वस्त भएका घर बाहेक अन्यमा पनि ठूलै लगानी गर्नुपर्ने अबस्था बनेको छ । बाढीपहिरोमा परी बेपत्ता २३ जना अझै भेटिएका छैनन् । केहीको शव भेटिएर पहिचानको चटारो छ भने केहीको खोजीमा समय बितिरहेको छ । स्थानीय सरकार र प्रशासनलाई बिस्थापितहरुको तथ्यांक निकाल्न समय लागेको छ ।
तर झण्डै एक सय घरका तीन सय ५० जनाभन्दा धेरै बिस्थापित भएको प्रारम्भिक तथ्यांक आएको छ । अधिकांशले आफन्तको शरण लिएका छन् । ‘हामी निरन्तर खटिरहेका छौं, पीडितको उद्धार र राहतमा लागि परेका छौ’ प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने भन्छन् ‘अहिलेलाई आफन्तकोमा बस्न मिल्नेलाई उतै व्यवस्थापन गरेका छौं, बाँकी सबैलाई सुरक्षित ठाउँमा टेन्टमा राखियो ।’ संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार सबै राहत बोकेर प्रभावित क्षेत्रमा पुगेका छन् । तत्कालका लागि आवश्यक खाद्यान्न लत्ता कपडा र दैनिक जीवनमा उपयोगका समाग्री पीडित सम्म पुगे तर घटनाको केही दिन बित्दा पीडितलाई भने दिगो बसाईको व्यवस्थापनको समस्या उल्झेको छ ।
‘सबै आएर घर बनाई दिने बस्न दिने भनेर गए, सधैं आफन्तको राम्रो भैंदैन’ पीडित सुस्मिता बिक भन्छिन् ‘हामि सधैं बस्ने घर कसरी बन्ला ।’ गृहमन्त्री रामबहादुर थापाले संघीय सरकारले घर बनाउन सघाउने बताएका थिए । मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ आएर पनि त्यहि भने । ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले भने सुरक्षित आवासको आश्वासन दिएका छन् । ‘गृहमन्त्री ज्यु बोल्नु भएको छ, प्रदेश र स्थानीय सरकारका प्रमुखहरुले पनि आश्वासन दिनुभएकै छ’ प्रजिअ न्यौपाने भन्छन् ‘अहिले खान बस्नको समस्या हुन दिएका छैनौ तर उहाँहरुलाई दिगो बासको चिन्ताले सताउन थालेको गुनासो गर्नुभएको छ ।’ तीनै तहका सरकारले आश्वासन दिएका भएपनि कसैले नीतिगत निर्णय भने गरेका छैनन् । ‘ कार्यपालिकाको बैठक बसीएकै छैन भर्खरै यहि गर्छौं भन्ने अवस्था छैन्’ ढोरपाटनका प्रमुख प्रशासकीय अधिकृत धन प्रसाद पोखरेल भन्छन ‘आश्वासन दिएर मात्रै हुन्न काम गरेरै देखाउन पर्ने अवस्था हो ।’ तत्कालका लागि पीडितको छेउछाउ पुगेका सरकारका प्रतिनिधिले आलो घाउ ओभाउनेगरी आश्वासन बाडेपनि दिर्घकालिन समस्या समाधान हुनेमा भने पीडित शसंकित छन् ।
पीडितको तत्कालको व्यवस्थापनका लागि भने चामल, दाल, नुन, तेल, लत्ता कपडा टेन्ट र औषधि समेतको व्यवस्थापन भएको छ । सरकारले मात्रै होईन मनकारी व्यक्ति, संस्था र छिमेकी स्थानीय सरकार समेत राहत समग्री बोकेर प्रभावित क्षेत्र पुगेकाले तत्कालको समस्या टरेको हो । जिल्ला सदरमुकाम देखि बिभिन्न स्थानबाटपनि पिडितकालागि राहत संकलन अभियान चलिरहेको छ । विभिन्न संघसंस्थालेपनि राहत स्वरुप खाद्यान, लत्ताकपडा र नगद समेत जम्मा गरेर लैजाने काम पनि गरिरहेका छन् । कतिपयले नगरपालिकामा हस्तान्तण गरेका छन् भने कतिपयले पिडितकै हातमा लगिदिएका छन् । पहिरोले बगाएको घरहरु तत्काल बन्न सक्ने अबस्थामा छैनन् । आंशिक क्षति भएकाघरपनि खोलाछेउमा भएकोले धेरैले बस्न मानेका छैनन् । बर्षात अझै नसकिएको र जुनसुकै बेला भत्कन सक्ने खतरा देखेपछि उनीहरु पनि छिमेकीकोमा आश्रय लिएर बसेका छन् ।





