बागलुङ, २२ भदौ– बागलुङ नगरपालिकाले गत साउन ३० गते फोहोरमैला सहकारीसँग तोडेको सम्झौताको बचाउ गरेको छ । आइतवार नगरउपप्रमुख सुरेन्द्र खड्काले पत्रकार सम्मेलन गरेर कमिसनको खेलमा लागेर नगरप्रमुखले सम्झौता तोडेको भन्दै लगाएको आरोप खण्डन गर्दै प्रमुख जनकराज पौडेलले खड्काको क्रियाकलाप आपत्तीजनक भएको टिप्पणी गरेका छन् ।
अघिल्लो बर्षको बेरुजु रकम नतिरेको, जनताको घरदैलोमा फोहोर उठाउन नगएको र जथाभावी शुल्क मात्रै उठाएको भन्दै नगरप्रमुख पौडेलले नगर कार्यपालिका बैठकले सम्झौता तोडेको स्पष्ट पारेका छन् । खड्काले जिम्मेबार पदमा बसेर कार्यपालिकाकै निर्णय बिरुद्ध जान नहुने समेत सुझाएको छ । सहकारीले गैरजिम्मेवार काम गरेपछि पटकपटक चेतावनी दिएको, पटकपटक अवसर दिंदापनि काम नभएपछि सम्झौता तोड्ने अबस्थामा पुगेको कुरा खड्काले नबुझेर सहकारीको पक्षमा लागेको आरोप लगाइएको छ । २०७२ सालको फागुनदेखि नगरपालिकाले फोहोर संकलनको जिम्मा धौलागिरी फोहोर व्यवस्थापन सहकारीलाइ दिएको थियो । फोहोर संकलन गर्ने जिम्मा पाएर पनि लापरबाही गरेको गुनासोपछि नगरपालिकाले चासो बढाएको थियो । उक्त चासोप्रति सबै जानकार भएर पनि जिम्मेवार व्यक्तिले नियम उलंघन गर्ने सहकारीको पक्षमा लाग्नु आपत्तिजनक भएको पनि पौडेलले बताएका छन् । साथै आगामी दिनमा नगरपालिकाले नागरिकको गुनासो नआउने गरी काम गर्ने र फोहोर व्यवस्थापन गरिने समेत बिज्ञप्ती मार्फत स्पष्ट पारेका छन् । बिज्ञप्तीमा नगरपालिकाले फोहोर व्यवस्थापनको अभिभावकत्व निर्वाह गर्ने काममा कुनै कसुर बाँकी नराख्ने भएकोले आम नागरिकमा पनि भ्रममा नपर्न भनिएको छ । उपप्रमुखले लगाएको आरोपहरु मिथ्या र कपोलकल्पित भएको पनि टिप्पणी गरिएको छ ।





