म्याग्दी, २३ भदौ– राष्ट्रिय आविष्कार केन्द्रले नेपालमा कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि कोरोना संक्रमितलाई अस्पतालमा पु¥याउने बाकस निर्माण गरेको छ ।
केन्द्रले पछिल्लोपटक कोरोना संक्रमितहरुलाई अस्पतालसम्म सुरक्षित रुपमा लैजाने बाकस निर्माण गरेको हो ।
त्यसैगरी, बिरामीसँगै एम्बुलेन्समा रहने स्वास्थ्यकर्मी र चालकलाई कोरोना संक्रमणबाट जोगाउन बाकस डिजाइन गरिएको केन्द्रका अध्यक्ष महावीर पुनले जनाएका छन् । पुनले बाकसको डिजाइन, विकास र परीक्षणको काम पुरा भएको जानकारी दिएका हुन् । उनका अनुसार, यो बाकसमा बिरामी राखेपछि हावा छिर्न नसक्ने चेन लगाएर बन्द गरिन्छ ।
बाहिरको हावाभित्र पठाउन प्वाल राखिएको छ भने भित्रको हावा बाहिर फ्याल्ने अर्को प्वालमा एन–९५ फिल्टर राखिएको छ । जसले गर्दा बिरामीको मुख र नाकबाट निस्किने हावालाई फिल्टर गरेर बाहिर पठाउन सकिने पुनको भनाई छ ।
बाकसभित्र हावा पठाउन र भित्रको हावा बाहिर फ्याल्न ब्याट्रीबाट चल्ने पंखा जडान गरिएको छ । बाकसलाई नेगेटिभ प्रेसर च्याम्बरको रुपमा डिजाइन गरिएको छ । अबको केही दिनभित्रै कोभिडको उपचार गर्ने अस्पतालहरुलाई यो बाकस उपलब्ध गराइने पुनले जनाएका छन् ।
म्याग्दीको नागीमा जन्मेर चितवनमा अध्ययन गरेका पुनले म्याग्दीका विकट गाउँहरुमा वायरलेस इन्टरनेट सेवासमेत पु¥याएर प्रविधिको क्षेत्रमा अघि बढेका थिए । पुनले म्याग्दीमा ई– एजुकेशन र ई–मेडिसिन सेवा पनि शुरु गरेका हुन् । पुन एशियाको नोवेल पुरस्कार भनिने रोमन म्यागासेसे पुरस्कारबाट सम्मानित भएका थिए ।





