बागलुङ, २४ भदौ– जिल्लाको पश्चिम ढोरपाटन नगरपालिका–९ बोवाङ्गमा भदौ १७ गते आएको बाढीपहिरोमा मृत्यु हुनेको संख्या १९ पुगेको छ । बाढीपहिरोले बस्ती बगाउँदा बेपत्ता भएका मध्ये थप दुई जनाको शव फेला परेको हो ।
बुधबार गुल्मीको चन्द्रकोट गाउँपालिका–८ रामपुर स्थित वडिगाडखोलाको किनारमा ३२ बर्षिया चनी बिकको शव फेला परेको हो । वडिगाड गाउँपालिका–६ खाला बजार छेउको खोला किनारमा २८ बर्षिया कुमारी बिकको शव बुधबारनै फेला परेको छ ।
उनीहरुको शव पोष्टमार्टम गरेर बिहिबार परिवारको जिम्मा लगाईने इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक प्रकाश सिंह भण्डारीले बताए । बाढीपहिरोमा १९ जना अझै बेपत्ता छन् । मृत्यु भएका मध्ये १७ जनाको यसअघिनै दाहसंस्कार भैसकेको छ । बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरी निरीक्षक भण्डारीले बताए ।





