मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

कोरोना जितेका भन्छन् : ‘अझै व्यवस्थित क्वारेन्टाइन खाँचो छ’

कोरोना जितेका भन्छन् : ‘अझै व्यवस्थित क्वारेन्टाइन खाँचो छ’

आइसोलेसनमा बस्दा धेरैलाई मनोवैज्ञानिक असर पर्न सक्ने


  • ढोरपाटन संवाददाता
  • भाद्र २४ २०७७, बुधबार

बागलुङ, २४ भदौ– रोजगारीका लागि नेपालीहरु भारतमा धेरै छन् । त्यसैले हरेक दिन भारतबाट आउनेहरु नियमित जस्तै हुन्छन् । उनीहरुलाई बाटो बन्द गरेर संभव छैन । आएकालाई व्यवस्थित क्वारेन्टाइनमा राखेर कोरोना संक्रमणबाट समाजलाई बचाउन सकिन्छ भन्दै कोरोना जितेर फर्केका जनप्रतिनिधिहरु त्यसको चिन्तनमा पनि लागेका छन् ।
गत साता कोरोना जितेर घर फर्केका बडिगाड गाउ“पालिका वडा नं. ६ र ७ का वडा अध्यक्षहरुले फेरी पालिकामा सेवा प्रवाह गर्नमा लागेका हुन् । उनीहरुले व्यवस्थित क्वारेन्टाइनमा ध्यान दिने बताए । संक्रमणका कारण उनीहरु दुइसाता धौलागिरी अस्पतालको आइसोलेसन बसेर फर्केका हुन् ।
बडिगाडमा भारत र अन्य मुलुकबाट आएर क्वारेन्टाइन बस्ने धेरै थिए । वडा नं. २ को त्रिभूवन माविसहित भानु मावि, भिमगिठे मावि र बुद्ध माविको क्वारेन्टाइनमा सबैभन्दा धेरै मानिस राखिएकोले उनीहरु बढी नै खटिन्थे । खटिएकै कारण संक्रमण पनि देखियो । वडा नं. ७ का अध्यक्ष कृष्ण गुरुङ र ६ का अध्यक्ष मौसमकाजी क्षेत्रीले कोरोना जितेर फर्केका छन् । फर्केर अब घरभित्र नबस्ने, बरु समाजको सेवामै लागिरहने उनीहरुले प्रतिवद्धता जनाएका छन् ।
व्यवस्थित क्वारेन्टाइन बनाउन सकेमा थप संक्रमणबाट बच्न सकिने अनुभव गरेको उनीहरुले बताए । उनीहरुको कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुमा भने नेगेटिभ रिपोर्ट आएको छ । विभेदविरुद्व लड्ने, विदेशबाट आएकाहरुलाई सम्झाइबुझाइ घर पठाउनेहरु नै संक्रमणमा परेका थिए । संक्रमण भएर आइसोलेसनमा बस्दा सम्मानजनक व्यवहार पाएका उनीहरुले डिस्चार्ज भएपछि समाजमा भने त्यो व्यवहारबारे सिकाउनुपर्ने औल्याए ।
गुरुङ क्वारेन्टाइनमा खटिएकै कारण परिवारका सदस्यले यसअघिनै छिमेकमा विभेद भोगिसकेका थिए । उनीहरुले गाउ“मा रहेको विभेद अन्त्यका लागि सक्रिय बन्ने घोषणा गरेरै घर फर्केकोले आगामी दिनमा कसैलाई यस्तो हुन नदिने उनले बताए । ‘मनोवैज्ञानिक रुपमा कमजोर भएको छैन, तर व्यवहारले नराम्रो अनुभव सिकाउने रहेछ’ उनले भने, ‘अब चुनौतीलाई हौसलामा बदलेर काम गर्ने सोच बनाएका छौं ।’ समाजमा कोरोनाबारे नकारात्मक धारणा अन्त्यमा लाग्ने उनले चाहना व्यक्त गरे ।
यसअघि कोरोना जितेर फर्केकालाई धारा, सवारी साधन र समाजका अन्य क्षेत्रमा विभेद भएको उनले देखेका थिए । उनीहरुले सम्झाउने प्रयास गरेपनि विभेद अझै मेटिएको छैन । ‘मुक्त भएर पर्केपनि फेरी क्वारेन्टाइन व्यवस्थापनमै खटिनुपर्नेछ, त्यसैले अब चेतना फैलाएर सुझाव दिन्छौं’ क्षेत्रीले भने, ‘विभेदलाई अवसरमा परिणत गर्नेछौं ।’ धौलागिरी अस्पतालले प्लाज्मा थेरापीको प्रक्रिया थालेकोले त्यसमा पनि सहयोग गर्ने उनले बताए । सबै क्वारेन्टाइनमा सरसफाई गरेर व्यवस्थापनमा खटिनेमा संक्रमण नहुने व्यवस्थाका लागि काम गर्ने उनीहरुले प्रतिवद्धता जनाएका छन् ।
आइसोलेसनमा स्वास्थ्यकर्मीले चासो दिएर सम्मान गरेपनि बसाई पिडादायी हुने उनीहरुको अनुभव छ । ‘दुइ सातासम्म कोठाभित्रै बस्नुपर्छ, भनेजस्तो खाना पाइदैन, बाहिर के भैरहेको छ थाहा नभएपछि मानिस आत्तिने रहेछ’ क्षेत्रीले भने, ‘जनप्रतिनिधि भएकोले दैनिक घरदैलो डुलेकोलाई त झनै अन्धकारमा बसेझै भयो ।’
आइसोलेसनमा बस्दा धेरैलाई मनोवैज्ञानिक असर पर्न सक्ने उनले बताए । कोरोना जित्नका लागि रोगप्रतिरोधात्मक क्षमता बढाउने खानेकुरा खान पनि उनीहरुले सल्लाह दिएका छन् । जितेर फर्केकालाई पनि सरसफाईमा ध्यान दिन र पौष्टिक आहार खान सल्लाह दिने क्षेत्रीले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->