म्याग्दी, २५ भदौ– कोभिड १९ संक्रमण रोगथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण गरिखाने वर्गको घरमा चुल्हो बल्न छोडेको छ ।
कोरोना संक्रमणको डरले विकास निर्माणदेखि लिएर अन्य क्षेत्रका कामहरु ठप्प भएपछि दैनिक ज्याला मजदुरी गरेर जीविका चलाउँदै आएका म्याग्दीका विपन्न तथा मजदुरहरुको दैनिकी दयनीय बन्दै गैरहेको छ । रोगको भन्दा पनि भोकको चिन्ताले सताउन थालेपछि उनीहरुले जस्तोसुकै जोखिम मोलेरै भएपनि कामको खोजी गर्न थालेका छन् ।
पश्चिम म्याग्दीको गुर्जाबाट मजदुरीको खोजीमा बेनी आएका जगविर विक, धनवहादुर विक र लक्ष्मण विकले काम नपाइएपछि भोकभोकै बस्नुपरेको बताए । कमाएर ल्याउँदाको दिनमा मात्र चुल्हो बल्ने उनीहरुका छोराछोरीले पेटभरी भात खाने रहर पालेको पाँच महिना भैसकेको छ । ‘कामै नपाएपछि कमाइ हुने कुरै भएन’ ३४ वर्षिय लक्ष्मण विकले भने ‘कमाएर ल्याउँदाको दिनमा डेरामा चुल्हो बल्छ, नकमाउँदा भोकभोकै सुत्नु पर्छ ।’
त्यस्तै, बेनी नगरपालिका–५ भीरमुनीका रिमे परियारको पीडा पनि लक्ष्मणको भन्दा कम छैन । ढाडको नशा च्यापिएपछि लामो समयदेखि थलिएका परियार कोरोना संक्रमणको जोखिमसँगै मजदुरीको बाटो बन्द भएपछि घरमा चुल्हो बल्न छोडेको बताउँछन् । उसै त विरामी त्यसमाथि पनि काम नपाएर भोकै बस्नुपर्दा परियार पीडामा छन् । ‘आफूलाई त जे सुकै हुँदो हो, तीनजना छोराछोरी र श्रीमतीको बिजोग हुने भयो’ परियारले भने ।
परिवारको गुजरा चलाउन श्रीमती शोभालाई मजदुरीमा पठाए पनि काम नपाएपछि परिवारको नै विचल्ली भएको उनको भनाई छ । मजदुरीबाट घर खर्च नचलेपछि मागेर गुजारा चलाएपनि कैयौं रात भोकै सुत्नु परेको उनले बताए ।
बन्दाबन्दीको सुरुवाती चरणमा नै म्याग्दीका स्थानीय तहहरुले विपन्न र मजदुरहरुलाई राहत वितरण गरेका थिए । स्थानीय तहले गरेको राहत वितरणको तथ्याङ्कलाई आधार मान्ने हो भने बेनी बजार क्षेत्रको नेरोफेरोमा मात्रै तीन हजारभन्दा बढी विपन्न तथा मजदुरहरु रहेका छन् । जिल्लाभर मजदुरहरुको संख्या १० हजारभन्दा बढी रहेको छ ।





