बागलुङ, २५ भदौ– सार्वजनिक अपराध मुद्दामा बुधबार पक्राउ परेका बागलुङ नगरपालिका–४ कुँडुलेका पंडित चन्द्रकान्त पौडेल बिहिबार रिहा भएका छन् । दुई पक्षबीच सहमति भएपछि पौडेल रिहा भएका हुन् ।
सामाजिक सञ्जालमा मनलाग्दी लेखेको भन्दै पत्रकार महासंघ बागलुङका पूर्वअध्यक्ष राजेशचन्द्र राजभण्डारी, पत्रकार सुवास आचार्य र रामप्रसाद घिमिरेले सार्वजनिक अपराधको मुद्दा दिएपछि उनी बुधबार कुँडुलेबाट पक्राउ परेका थिए ।
बिहिबार जिल्ला प्रहरी कार्यालयमा भएको दुई पक्षीय छलफलमा अब उप्रान्त सामाजिक सञ्जालको दुरुपयोग नगर्ने, कसैको मानहानी हुनेगरी नलेख्ने, लेखिएका सामग्रीहरु हटाउने र सामाजिक सञ्जालमार्फत नै माफी माग्ने, पौडेलले गरेको गल्तीमा दलित सञ्जालले जिम्मा नलिने विषयमा सहमति भएपछि उनी रिहा भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
दुवै पक्षबीच सहमतिपछि पौडेललाई हिरासत मुक्त गर्न सहमति जनाएको मुद्दा पक्षका पत्रकार सुवास आचार्यले बताए । छलफलमा दलित युवा सञ्जालका पदाधिकारीसमेत सहभागि थिए ।
हिरासतबाट छुटेका पौडेलले सामाजिक सञ्जालमार्फत माफी मागेका छन् । उनले विहिवार साँझ सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्– ‘गुरुकुलमा जातीय विभेद अन्त्य गरौं, सबैले वेद पुराण पढुन् भनेर लाग्दै गर्दा म पनि कता कता असारकी गंगा झैं धमिलो बन्न पुगेछु । धेरै धर्मगुरु, राजनैतिक दलका नेता, प्रशासक, प्रहरी दाजुभाइ एवं पत्रकारलाई समेत मद्वारा ठेस पुगेको सुन्दा ग्लानी भएको छ, म तमाम आदरणीय दाजुभाइ दिदीबहिनीमा यस्तो असभ्य व्यवहारका लागि क्षमा माग्दै आगामी दिनमा मंसिरकी गंगाझैं सभ्य र शान्त मार्गलाई अनुशरण गरेर अगाडी बढ्नेछु ।’
यसअघि पौडेलले सामाजिक संजालमा गालीगलौज गरेर लेख तथा तस्बिर पोष्ट गर्दै आएका थिए । पौडेलले जिल्लाका पत्रकार, राजनीतिक दलका नेता र सामाजिक व्यक्तिको समेत अपमान हुने गरी सामाजिक संजालमा लेखिरहेका थिए ।
पौडेलले प्रधानमन्त्रीदेखि विभिन्न राजनेता, बागलुङका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख समेतलाई सामाजिक संजालमा अफवाह फैलने गरी भ्रामक सामग्री पोष्ट गरेको आरोप लागेको थियो । धेरै क्षेत्रबाट विवाद आइसकेपछि प्रहरीले बुधबार पौडेललाई पक्राउ गरेको थियो ।
उनले गुरुकुलमा दलितले पनि पढ्न पाउनुपर्ने माग राख्दै आएका थिए । सो विषयमा भने मंगलवार जिल्ला प्रशासन कार्यालयमा सहमती भएको थियो ।





