बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

कोरोना कहरका एम्बुलेन्स चालकका पीडा …

कोरोना कहरका एम्बुलेन्स चालकका पीडा …

जनस्वास्थ्य कार्यालय तनहुँका अनुसार जिल्लाका दश स्थानीय तहमा २६ वटा एम्बुलेन्स रहेका छन् ।


  • विनोद ढुंगाना
  • भाद्र २६ २०७७, शुक्रबार

फाईल तस्विर

‘चोर आए बरु सम्मान होला । म गएँ भने त तल्लोस्तरको व्यवहार गर्छन्’, पाख्रिनले भने, ‘परिवारले पनि नआइदिए हुन्थ्यो झै गर्छन् ।

तनहुँ, २६ भदौ– जेठको दोस्रो हप्तासम्म तनहुँमा एक जनामा पनि कोरोना भाइरसको संक्रमण देखिएको थिएन । भारत र तेस्रो मुलुकसंग जोखिमयुक्त जिल्लाबाट आएका आफ्ना नागरिकलाई समुदायमा हेलमेल हुन नदिनलाई स्थानीय तहले क्वारेन्टिनमा राख्ने क्रम चल्दै थियो । त्यही बेलामा जोखिम बढ्यो भन्दै भानु नगरपालिकाका एम्बुलेन्स चालकले जागिर छाडिदिए । एम्बुलेन्सको झनै खाँचो पर्ने बेला भएको चालकले पनि जागिर छाडिदिएपछि नयाँ चालक पाउन बढो सकस भयो । कोही पनि एम्बुलेन्स चलाउन तयार भएनन् ।
संक्रमणको डरले एम्बुलेन्स चालक नपाएको सुनेपछि सेवा गर्न तम्सिए ५२ वर्षीय सुन्दर पाख्रिन । कोरोनाको जोखिम बढेको बेला विदेशबाट आएकालाई क्वारेन्टिनमा ल्याउने र संक्रमित भएकालाई त्यहाँबाट आइसोलेसनमा पु¥याउने काम त असुरक्षित थियो नै । तर, पाख्रिनले आत्मासन्तृष्टिका लागी हिम्मत जुटाएर सेवा थालेका रे !
तनहुँमा सबैभन्दा धेरै समुदायस्तरमा कोरोना संक्रमित भेटिएको भानुमा उनले ४६ जना संक्रमितलाई आईसोलेसनमा पु¥याएका छन् । उनी भन्छन्, ‘नगरपालिकाले पीपीई सेट दिएको छ । संक्रमितलाई अस्पताल लैजान प¥यो भनेर खबर आउँछ । पीपीई लगाई आफुलाई सुरक्षित बनाएर पु¥याइदिन्छु । खोई अहिलेसम्म मलाई संक्रमण देखिएको छैन् क्यारे ।’
साढे तीन महिनादेखि उनले परिवार भेटेका छैनन् । नगरपालिकाले एकान्तमा दुई कोठाको घर उपलब्ध गराएको छ, उनलाई । त्यहाँ एक्लै बस्छन् । परिवारको अत्यास नलाग्ने कहाँ हो र ? समाज र परिवारले गर्ने व्यवहारले जान मन लाग्दैन् ,उनलाई । ‘चोर आए बरु सम्मान होला । म गएँ भने त तल्लोस्तरको व्यवहार गर्छन्’, पाख्रिनले भने, ‘परिवारले पनि नआइदिए हुन्थ्यो झै गर्छन् । त्यति बेला मन त दुख्छ ।’ आफुले सुरक्षाको मापदण्ड अपनाएर काम गरेतापनि कसैले नबुझेको उनले बताए ।
आफुले चलाउने एम्बुलेन्स ग्यारेजमा मर्मत नगरिदिने उनले बताए । उनले संक्रमित बोक्न थालेपछि एक जना स्थानीय बोल्नै छाडेछन् । देख्दा पनि कोरोना सर्ला झै गर्ने । ‘पछि उनलाई संक्रमण देखियो । मैले नै आइसोलेसनमा पु¥याए’, उनी भन्छन्, ‘सरुवा रोग हो जसलाई पनि लाग्न सक्छ ।’
पाख्रिन जस्तै २७ वर्षीय नरेन्द्र गुरुङले पनि शुक्लागण्डकी नगरपालिकाको एम्बुलेन्समा कोरोना संक्रमितलाई आईसोलेसनमा र त्यहाँबाट रिफर भएको अवस्थामा पोखराको कोभिड विशेष अस्पताल पु¥याउन थालेको तीन महिना बित्यो । भर्खरभर्खर संक्रमण देखिन थालेको समयमा मनमा डर भएपनि अहिले हटेको उनी बताउँछन् । ‘संक्रमितलाई बोक्नु खतरा त हुन्छ नै । जोजस्तो भएपनि बिरामीलाई अस्पतालसम्म पु¥याउने कर्तव्य हो’, उनले भने ।
संक्रमितलाई बोक्न थालेपछि एकपटक उनी गाउँ गएका थिए । त्यसपछि यतै छन् । परिवारका सदस्यलाई जोखिम हुने भएकाले नगएको उनको भनाई छ ।
आफुले गरेको सेवामा सन्तुष्ट छन् ,उनी । अगाडी थपे, ‘मैले त मानवता नाताले काम गरेको छु । अरुको सोच अलग्गै छ भने त्यसले केही फरक पार्दैन् ।’ उनले यही काम निरन्तर गर्ने सोच बनाएको उल्लेख गरे ।
जनस्वास्थ्य कार्यालय तनहुँका अनुसार जिल्लाका दश स्थानीय तहमा २६ वटा एम्बुलेन्स रहेका छन् । एम्बुलेन्स चलाकलाई सम्मानजनक व्यवहार गर्नुपर्ने तनहुँका प्रमुख जिल्ला अधिकारी सागर आचार्यले बताए । ‘कोरोना कहरको बेला सुरक्षाकर्मी, स्वास्थ्यकर्मीसंगै एम्बुलेन्स चालक अहोरात्र खटिनुभएको छ । सम्मानको दृष्टीले हरौँ’, उनले भने, ‘हेयको दृष्टिले हेर्ने,अपमान गर्नेलाई प्रशासनले तुरुन्त कारवाही गर्छ ।’

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->