आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

बाढीले खेतीयोग्य जमिन बगरमा परिणत

बाढीले खेतीयोग्य जमिन बगरमा परिणत

ढोरपाटन नगरपालिकाले बाढी र पहिरोका कारण भएको खेतीयोग्य जमिन र बालीको क्षति विवरण निकाल्न भने महिनौ लाग्ने जनाएको छ ।


  • ढोरपाटन संवाददाता
  • भाद्र २६ २०७७, शुक्रबार

बागलुङ, २६ भदौ– ढोरपाटन नगरपालिका–७ का साकीराम बिकले ९ लाख रुपैयाँ खर्चेर भुजीखोलाको किनारमा खेत किनेको केही वर्ष मात्रै भयो । आफ्नै खेतमा फलेको धानको भात खाने धोकोले जीवनको उर्जावान समयमा कमाएको पैसा साकीरामले खेतमा लगाए । केही वर्ष राम्रै धान फल्यो । हिउँदे खेतीसमेत राम्रै हुने खेतले उनको लगानी उकेर्न भने पाएन् । लहलह धान भएको खेत बाढीले बगरमा परिणत गरिदिएको छ ।
साकीराम त्यहि बगर हेरेर चित्त बुझाउँछन् । उनको परिवारमा मानविय क्षति नभएकाले उनकोभन्दा गहिरो घाउ मानविय क्षति हुनेको परिवारमा छ । त्यसैले साकीराम आफ्नो क्षतिको विषयमा मुख उप्काउने बेला आईनसकेको बताउँछन् । उनको घरमा पसल थियो । भैसी र बाख्रा थिए । बल्लतल्ल बनाएको घरगोठ, पशुचौपाय र खेती सबै बाढीले बगायो । ज्यानमात्रै बचेकाले अहिले सात जना परिवारको खर्च कसरी चलाउने भन्ने चिन्ता छ ।
ढोरपाटन नगरपालिका–८ का वीरबहादुर सुनुवारको ७ जनाको परिवार छ । पशुपालन र खेतीपातीकै भरमा चल्दै आएको परिवार अहिले के खानु, के लाउनुको अवस्थामा छ । उनको ढोरपाटन नगरपालिका–९ ढोरमा रहेको गोठबाहेक बाढीले सबै बगायो । समयमा सूचना पाएकाले सबै परिवारको ज्यान बचाएका सुनुवारको अहिले त्रिपाल मुनीको बास छ । ‘खेतबारी, खरवारी केही छैन हजुर, नत घरगोठ नै रहे’ सुनुवारले भने ‘४० लाखको सम्पत्ति हुँदो हो, सबै बगर भैगयो ।’
भदौ १७ गते राती ११ बजे ढोरपाटन नगरपालिका–९ बोबाङको देउरालीबाट झरेको पहिरो र त्यसबाट सिर्जित बाढीका कारण २२ जनाको ज्यान गयो । १६ जना अझै बेपत्ता छन् । केही घाईते भएका छन् भने केहीले घरबास गुमाएका छन् । पहिरोका कारण भएको मानविय क्षतिसँग अन्य क्षतिलाई दाँज्न त सकिन्न तर बाढीले ठुलो परिणाममा अन्य संरचनागत क्षतिसमेत गरेको छ । मानविय क्षतिको विवरण तयार गर्ननै समय लगाएको ढोरपाटन नगरपालिकाले बाढी र पहिरोका कारण भएको खेतीयोग्य जमिन र बालीको क्षति विवरण निकाल्न भने महिनौ लाग्ने जनाएको छ ।
बाढीपहिरोले वितण्डा मच्चाएपछि नगर शिक्षा शाखाले शिक्षा क्षेत्रमा भएको क्षतिको विवरण तयार गर्दैछ । एक विद्यालयनै बगाएको बाढीले विद्यार्थी र अभिभावकमा पु¥याएको क्षतिको मुल्यांकन र तथ्यांक राख्ने काम चलिरहेको छ । ११ वटा जलविद्युत आयोजना, एक स्वास्थ्य क्लिनिक र १ सय ३० वटा घरबास बगाएको तथ्यांक नगरपालिकासँग छ । तर झण्डै १५ किलोमिटर जमिन क्षतविक्षत बनाएको बाढीले के कति खेतीयोग्य जमिन मास्यो भनेर नगरले तथ्यांक निकाल्न भ्याएको छैन ।
बाढीले बढारेका गोठहरुमा झण्डै ३ सय पशुचौपायको क्षति भएको अनुमान मात्रै नगरले गरेको छ । बाढी प्रभावित क्षेत्रका सर्वसाधारणको मुख्य पेशा नै कृषि र पशुपालन हो । बाढीका कारण झण्डै १ हजार ३ सय रोपनी खेतियोग्य जमिन बगाएको नगरका उपसचिव धनप्रसाद पोखरेलले बताए । ‘तल्लो भूभागमा धानखेती थियो, माथिल्लो भुभागमा आलु र मकै मुख्यबाली हो’ पोखरेलले भने ‘उकेर्ने बेलाको आलु–मकै बाढीले एकै छाक बनायो ।’
नगरपालिकामा कृषि र पशु सेवा शाखामा काम गर्ने चार जना मात्रै प्राविधिक कर्मचारी छन् । कृषि हेर्ने दुई जना नायव प्राविधिक सहायक र दुई जना पशुपंक्षी हेर्ने नायव प्राविधिक सहायक छन् । उनीहरु सबै करारका हुन् । एक त करारका कर्मचारीको भरमा रहेको कृषि तथा पशुशाखा । अर्कोतर्फ ठुलो भुभागमा काम गर्नुपर्ने भएकाले उनीहरुले अहिले त्यहाँको क्षतिको विवरण तयार गर्नसक्ने अवस्था नरहेको पोखरेल बताउँछन् ।
करोडौंको खेतीपाती मासिएको भएपनि तथ्यांकनै तयार नहुँदा क्षतिपूर्तिबाट बञ्चित हुनुपर्ने किसानहरुको गुनासो छ । लेकमा बसेर बेसीमा खेतीपाती गर्ने किसानहरुसमेत बाढीका कारण प्रभावित भएको ढोरपाटन नगरपालिका–८ का मदन बिकले बताए । उनले मुख्य पेशा नै खेतीपाती गर्ने जमिननै बाढीले बगाएकाले सरकारले किसानलाई हेर्नेपर्ने बताउँछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->