बागलुङ, २७ भदौ– पुर्खाले कुटो कोदालोबाटै तामाखानी निकालेका थिए । अहिले देशव्यापी चर्चापछि प्राविधिक अध्ययन भैरहेको छ । उत्खनन्कालागि सरकारले चासो राखेको छ । अब गाउँमै बिकास खुल्छ र समृद्धिको बाटोमा पुगिन्छ भन्ने बागलुङको तित्याङबासीले आस गरेका छन् ।
समृद्धिकालागि नगरपालिकाले ल्याएको प्रस्तावलाई सहश्र स्वीकार गरेका बागलुङ नगरपालिका वडा नं. ९ का बासिन्दा अहिले त्यही स्विकारोक्ती अभिसाप झै सम्झन थालेका छन् । भन्छन्, ‘खानीको अध्ययन गर्दा पड्काएको बमले घर भत्काइसक्यो, आगामी दिनमा के हुने हो ।’
चीनको जोम्बिङ माइनिङ कम्पनीको प्राविधिक सहयोगमा शुभम् ग्रुपले ९ महिनादेखि तित्याङमा सुरुङ खनेर खानी अध्ययन गरिरहेको छ । नौ महिना पहिले यहाँ आएका खानी बिज्ञहरुको समूहले सम्भावना औंल्याएपछि मेसिननै प्रयोग गरेर परीक्षणको काम धमाधम चलिरहेको छ । त्यहि खानीको अध्ययनकालागि भैरहेको बिष्फोट अहिले स्थानीयको निद्रा खलबल्याउने साधन बनेको छ । तामाखानी अध्ययनस्थल वरपरका घरमा क्षतिको संकेत देखिन थालेका छन् । कतिपय घर भत्केका छन् भने कतिपय चर्केका छन् ।
‘ड्याम्म बम पड्किँदा सानो तिनो भूकम्पनै आएको जस्तो घर हल्लिन्छन्, भत्केर पुर्ने हो कि भन्ने चिन्ता छ’ स्थानीय रोशन जिसीले भने, ‘कमजोर जमिन फाट्ने, पहिरो जाने र घर भत्कीने जोखिममा हामी छौं ।’ तामाखानीको प्रारम्भिक अनुसन्धान भैरहेको तित्याङमा १८ घर यस्तो जोखिममा परिसकेका हुन् ।
स्थानीय बुढापाकाका अनुसार, तित्याङकोखानी गाउँमा झण्डै दुईसय बर्ष पहिले तामाखानी सञ्चालन थियो । मल्लकालीन समयमा स्थानीय प्रबिधि प्रयोग गरेर खानी निकालिएको थियो । त्यतिबेला घर हल्लने गरी आबाज र थकाई नआएकोले बुढापाकाले अनुमति दिएको स्थानीय सन्तबहादुर जिसीले बताए । पहिले तामाखानी चलाएका सुरुङ र त्यहाँ देखिने धाउहरुको अध्ययन गरेरनै अहिले तामाखानी सञ्चालनकालागि अध्ययन सुरु भएको हो । तर प्रारम्भिक अध्ययनकै क्रममा बम पड्काउँदा आँफुहरु जोखिममा परेको स्थानीय सुवास जिसीले गुनासो गरे । बागलुङ नगरपालिकाले पहिलो नगरसभा बाट तित्याङमा खानी सञ्चालनकालागि अध्ययन गर्ने निर्णय गरेको थियो । सोही आधारमा नगरपालिकाले खानी विभाग र सरोकारवाला सबै मन्त्रालयसँग पहल गरेर नौ महिनादेखि अध्ययनको काम गरिरहेको छ । कोरोना कहर भएपनि अनुसन्धानको काम रोकिएको छैन । तर असरको बारेमा भने दिनदिनै गुनासो आउन थालेको हो ।
सुरुमा ड्रिलिङ मेसिनले सुरुङ खन्ने बताएपनि अहिले सुरुङ भित्र बम विस्फोट गरेको स्थानीयबासीको गुनासो छ । बिष्फोटले स्थानीयका १८ घर चर्केका छन् । बम विस्फोट गर्दा गाउँनै हल्लिएको र घरहरु भत्किने अवस्थामा पुगेको भन्दै मानवीय सुरक्षाको प्रत्याभूति गरिदिन माग गरेको स्थानीय वलवहादुर खड्काले बताए ।
स्थानीयको घरको बिमा गरिदिने र अनुसन्धानपछि खानी उत्खन्न गर्नुपरेमा बस्ती व्यवस्थापन गरिदिने सहमति स्थानीय र अनुसन्धान गरिरहेको कम्पनीका बीच भएपनि सहमती अनुसार काम नभएको उनीहरुको गुनासो छ । ‘हामिले जनगुनासो आएपछि अहिलेलाई काम रोक्नुस भनेका छौं’ वडा अध्यक्ष गणेशबहादुर थापाले भने ‘समस्या हुँदा समाधान गर्ने सहमती भएको छ ।’ खानी अध्ययन गरीरहेको कम्पनी र प्रभावित क्षेत्रका सर्वसाधारणबीच समन्वयकालागि दुवै पक्ष रहेको समिति बनाएको उनले बताए । कम्पनीले भने वातावरणीय अध्ययन प्रतिवेदन तयार गर्ने बेला भएको र कामपनि धेरै बाँकी नरहेको भन्दै कामलाई निरन्तरता दिएको उनको भनाई थियो । यता चिनिया कम्पनीसँगको सहकार्यमा अध्ययन गरीरहेको शिवम् ग्रुपका अध्यक्ष श्याम अधिकारीले भने आफ्ना कारणले घरहरुमा क्षति नपुगेको दावी गरे । सामान्य सुरुङ बनाउँदा माथिको जग्गामा भएका घरलाई क्षति नहुने भन्दै उनले प्राविधिक जाँच गरेरै काम गरेको बताए । ‘हाम्रै कामले क्षति भएको भए हामिले पुननिर्माण र स्थानानन्तरण गर्छौ’ उनले भने,‘हाम्रो कारणले ती घर चर्केका भने होइनन् ।’ खानी सञ्चालनमा आउने हुँदा प्रभाव पर्ने सबै बस्तीको व्यवस्थापन हुने उनले बताए । खानी भित्र हाल १ सय ३५ मीटर सुरुङ खनिएको छ । सुरुङ भित्रको ल्याब टेष्ट गरेपछि कम्पनीले तयार पारेको प्रतिवेदन खानी विभागलाई वुझाउने छ । उक्त प्रतिवेदनको आधारमा खानी विभागले उत्खन्नको लागि स्विकृती प्रदान गर्नेछ । खानी विभागले खटाएका भूगर्भ शास्त्री, इन्जिनीयर, चीनबाट आएका अध्ययनकर्ता लगायतले यहाँको अवस्थाबारे अध्ययन गरिरहेका छन् ।
तामाको अध्ययनकालागि नेपाल सरकारको अनुमतिमा यहाँ आएको कम्पनीले परीक्षण प्रतिवेदन तयार भएपछि खानी सञ्चालनको तयारीमा लाग्ने बताएको छ । पहिलो चरणको परीक्षणमामात्रै झण्डै चार करोड खर्च गरेको कम्पनीले खानी सञ्चालनकालागि एक अर्बको हाराहारी लगानी हुने जनाएको छ ।





