बागलुङ, २८ भदौ– आइतबार बिहान अविरल वर्षासँगै आएको पहिरोमा परि बागलुङमा एक जनाको मृत्यु भएको छ । अर्का एकजना हराइरहेका छन् भने ८ जना घाइते भएका छन् । वडा नं. १ को टुनिबोटमा घरमाथिबाट आएको पहिरोले पुर्दा ६० वर्षीया लक्ष्मी पौडेलको मृत्यु भएको हो । उनका ८७ वर्षीय श्रीमान मणिभद्र पाध्याको घाइते अवस्थामा उद्धार गरिएको छ । छोरी देवी शर्मा सामान्य घाइते छन् । उनीहरुको प्राथमिक स्वास्थ्यकेन्द्र कुश्मीशेरामा उपचार भैरहेको प्रहरी निरीक्षक हेम केसीले जानकारी दिए । बागलुङ–कुश्मीशेरा सडक निर्माणका क्रममा लगाइएको तारजाली सहितको पहिरोले टुनीबोटका तीन घरमा क्षति पु¥याएको स्थानीय केदार पौडेलले बताए । बागलुङको जैमिनी नगरपालिकामा चार घर पुरेको छ ।
टुनीबोटमा केही पशु चौपायासमेत मरेका छन् । पहिरोले तीनवटा गोठमा समेत क्षति पु¥याएको छ । वर्षा नरोरिएकाले उद्धारमा कठिनाई भैरहेको पौडेलले बताए । पहिरोको थप विवरण आउन बाँकी छ । जैमिनी नगरपालिका–५ बिनामारेको सिम्लेमा पहिरोले एक घर पुर्दा ७० वर्षीया बृद्धा बेपत्ता भएकी छन् । सिम्लेका निलकण्ठ पौडेलको घर पहिरोले पुर्दा पौडेलकी आमा ७० वर्षीया जालपादेवि पौडेल बेपत्ता भएको प्रहरी निरीक्षक हेम केसीले जानकारी दिए । बाँसको झ्याङ्गले अठ्याएको अवस्थामा परिवारका अन्य ६ जनाको उद्धार गरिएको वडाध्यक्ष गोपाल पौडेलले बताए । घाइतेहरुलाई प्राथमिक स्वास्थ्य केन्द्र कुश्मीशेरामा उपचारका लागि पठाइएको छ । जैमिनीको दुबै वडामा गएको पहिरोको मुख्य कारण सडक निर्माणका क्रममा बनाइएका संरचना भएको स्थानीयले बताएका छन् ।





