आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

लौ कसलाइ सुनाउँ मेरो रामकहानी ?

लौ कसलाइ सुनाउँ मेरो रामकहानी ?

क्षति जे भयो–भयो, तर अब हुने क्षति कम गर्न तत्काल दुर्गन्ध कम गर्ने विधि अपनाउनु आवश्यक छ ।


  • ढोरपाटन संवाददाता
  • भाद्र २८ २०७७, आइतबार
फाईल तस्विर

‘फोन लाग्दैन, बत्ति छैन, साथीभाईसँग पीडा साटौं भने पनि साधनकै अभाव भो’ बाढी प्रभावित रामबहादुर घर्तीले भने ‘एकोहोरो भैइयो, न कसैको कुरा सुन्न पाईयो, न कसैलाई दुख सुनाउन ।’

बागलुङ, २८ भदौ– बोबाङमा बाढीपहिरोले नरसंहार मच्चाएको दशौं दिन बित्यो । झण्डै मध्यरातमा आएको बाढीपहिरोमा परी मृत्यु हुनेहरुको संख्या २२ पुग्दा १६ जना अझै बेपत्ता छन् । प्रहरी प्रशासन बेपत्ताकै खोजीमा तल्लिन छ । स्थानीय सरकार ढोरपाटन नगरपालिकालाई राहत बुझ्न र प्रमाणपत्र वितरणमा ठिक्क ।
बाढीपहिरो प्रभावित क्षेत्रमा बाध्यताले पुग्नेबाहेक बोबाङको लाँकुरीबोटदेखि माथि कोही नपुगेको स्थानीय शिक्षक राम बहादुर घर्ती बताउँछन् । उनी बाढीपहिरो पीडितसमेत हुन् । भदौको १९ गते ढोरपाटन पुगेका गृहमन्त्री रामबहादुर थापा बादल र २० गते पुगेका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ हेलीमा लाकुँरीबोट पुगे । त्यहिँ केही तलमाथि गरे तर १५ किलोमिटर हानेको बाढीले कहाँ के कति क्षति पु¥यायो भनेर वास्तविक तथ्यांक कसैसंग छैन ।
जिल्ला, स्थानीय तह र जनवर्गिय संगठनबाट उठेको राहत लिएर ढोरपाटन नगरपालिकाको मुकाम पुगेको नेकपा बागलुङको टोलीले प्रभावित क्षेत्रको स्थलगत अवलोकन ग¥यो । उनीहरु पहिरोले बाढी सिर्जना गरेको मुख्य बिन्दुमा त पुगेनन् तर केही माथिका सर्वसाधारणलाई भेटेर फर्किएका छन् ।
‘चुनावका बेला कत्रो उत्साह देखेको मैले अहिले मलिन अनुहारहरु हेर्दा आँफ्नै मन गह्रौ भयो’ नेकपा जिल्ला कार्यालय सदस्य कृष्ण पाठकले भने ‘उर्जावान युवाको चेहरासमेत दशौं दिन बितिसक्दा अध्यारो छ ।’ ढोरपाटन क्षेत्रमा अहिले पानी परिरहेको छ । बाढीपहिरोले गाउँबस्ती उडाएको दिनदेखिनै निरन्तर पानी परिरहेकाले त्यहाँ दुर्गन्धबाहेक नपाएको उनले बताए । ‘क्षति जे भयो–भयो, तर अब हुने क्षति कम गर्न तत्काल दुर्गन्ध कम गर्ने विधि अपनाउनु आवश्यक छ’ पाठक भन्छन्– ‘पीडितलाई खानाको समस्या छैन्, बस्न पनि जसोतसो बसेको पाईयो, तर चिन्ता महामारी फैलिने छ ।’ हल्का घाम देखिँदा मात्रै बाढी प्रभावित क्षेत्रमा दुर्गन्ध आउन थालेको उनले बताए ।
दुर्गन्धका कारण सिर्जना हुन सक्ने महामारीको विषयमा सरुवा रोग विशेषज्ञहरुले सुझाईरहेका छन् । तर बेपत्ताको खोजी र राहतमा अल्मलिएका सरोकारवालाको बाढी पहिरोमा पुरिएका पशुचौपायको खोजी र व्यवस्थापनमा ध्यान पुगेको छैन् । बाटो नभएको र अहिले पीडितहरुकै उद्धार, राहत र बेपत्ताको खोजी गर्नुपर्ने भएकाले समय दिन नसकेको जवाफ नगरपालिकाले दिने गरेको छ ।
बाढीले क्षतविक्षत बोबाङ क्षेत्रमा एक्लै हिँड्ने अवस्थै नरहेको कार्यालयका अर्का सदस्य लाल थापा बताउँछन् । ‘त्यहाँ पुगियो, नत खुट्टो टेकाउने ठाउँ छ नत हातले समाउने ठाउँ’ थापा भन्छन् ‘अकल्पनिय जीवन पीडितले बाँचिरहेका छन् ।’ ढोरपाटन नगरपालिकाले सडक सञ्चालनका लागि निरन्तर प्रयास गरेको भएपनि धेरै भुभाग रहेकाले कठिन भैरहेको जनाएको छ । ‘फोन लाग्दैन, बत्ति छैन, साथीभाईसँग पीडा साटौं भने पनि साधनकै अभाव भो’ बाढी प्रभावित रामबहादुर घर्तीले भने ‘एकोहोरो भैइयो, न कसैको कुरा सुन्न पाईयो, न कसैलाई दुख सुनाउन ।’
तत्काल सडक, विद्युत, खानेपानी र सञ्चारको व्यवस्था गर्न उनले स्थानीय नगरपालिकासँग माग गरेका छन् । बाढी प्रभावित क्षेत्रमा सोलार जडानको लागि केही कम्पनीले इच्छा देखाएकाले बत्ति र सञ्चारको समस्या केही दिनमै हल हुने र सडक र खानेपानीको कामसमेत द्रुत गतिमा अघि बढाईएको नगर प्रमुख देवकुमार नेपालीले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->