पोखरा, २९ भदौ – कोरोना संक्रमणबाट गण्डकीमा थप एकजनाको मृत्यु भएको छ । गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानले सोमबार बिहान दिएको जानकारी अनुसार ती पुरुषको भदौ २६ गते नै नवलपरासी जिल्लाको मध्यविन्दु–१२,का ६० वर्षीय पुरुषको उपचारको क्रममा लुम्बिनी अस्पतालमा मृत्यु भएको थियो । निमोनिया र स्वासप्रश्वाससम्बन्धि समस्या पनि भएकोले उनको सो अस्पतालमा उपचार भइरहेको थियो । यो घटनासँगै गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ ।
यता, पछिल्लो परीक्षणबाट प्रदेशमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये बागलुङ बडिगाडका २ जना विदेशबाट आएर क्वारेण्टिनमा बसेकाहरु रहेका छन् भने कास्कीमा १७ जनामा संक्रमण देखिएको छ । पोखरा महानगरपालिकाको वडा नम्बर ४ र १७ मा भेटिएका ७ जना नेपाल प्रहरीमा कार्यरत छन् । जिल्ला प्रहरी कार्यालयसमेत रहेको वडा नम्बर ४ का ५ जना प्रहरीमा संक्रमण देखिए पनि ती जिल्लामा कार्यरत प्रहरी नभएको जिल्ला प्रहरी कार्याय कास्कीका डिएसपी सुवास हमालले जिकिर गरे । उनका अनुसार प्रदेश प्रहरी कार्यालयमा कार्यरतहरुको विवरण जिल्लाबाट गएकाले जिल्ला प्रहरी कार्यालयअन्तर्गत संक्रमण देखिएको हो । पोखरा–२३ मा १ जना, १४ मा ३ जना महिलासहित ६ जना र वडा नम्बर ७ र ८ मा १÷१ जनामा संक्रमण पुष्टि भएको गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोदविन्दु शर्माले जनाए । पोखरा–८ की २१ वर्षीया युवती स्वास्थ्यकर्मी हुन् । उनी पोखरा महानगपालिकाअन्तर्गतको स्वास्थ्य सेवा विभागमा कार्यरत छन् । अन्य संक्रमितहरु केही विदेशबाट आएका र बाँकी कन्ट्याक्ट टे«सिङमा परेका हुन् । गण्डकीमा हालसम्म २१९१ जनामा संक्रमण पुष्टि भइसकेको छ ।





