निकाल !
डाक्टरलाई निकाल !!
नर्सहरुलाई निकाल !!!
घरबाट निकाल
अस्पतालबाट निकाल
देशबाटै निकाल
उनीहरुलाई ननिकाल्ने हो भने
तिमीहरुको ज्यान जोगिने खतरा छ ।
अर्जुन पराजुलीको माथिको व्यांग्यात्मक कविताले नेपालको अहिलेको तितो यर्थाथता चित्रण गर्दछ । अझ भनौं हाम्रो समाज माथि दह्रो झापड हानेको छ । संसारमा सबै प्राणीमध्ये सबैभन्दा माथि अर्थात सर्वश्रेष्ठ प्राणीको ओहोदामा आफैंलाई राख्छ मानव । मानवीय चेत, ज्ञान अनि विवेकले सुशोभित मानव जाति समयसँगै दम्भ, लोभ अनि लालचले लिप्त भएको छ । व्यक्तिगत स्वार्थमा यति डुबेका छन् कि मानवताको राग मेटिरहेको उसलाई थाहा पत्तो छैन । तर अझै घमण्ड छ उसमा, सर्वश्रेष्ठ र विवेकशील प्राणी हुनुमा । समयको विभिन्न कालखण्डमा स्वयं समयले मानवको परीक्षा लिइरहन्छ । कोरोना कहरको यस परीक्षामा मानवता विषयमा हामी उत्तीर्ण हुन सकेनौं । अनुत्तीर्ण मात्र भएनौं हामी, एउटा नराम्रो छाप सहित हामी आफैंसँग हा¥यौं । जसको मूल्य हामीले धेरै ठूलो चुकाउनु पर्नेछ ।
|कोरोना कहर । एउटा नमिठो सपना । करिब करिब सारा संसारभर आफ्नो आधिपत्य जमाउन सफल आँखैले देख्न नसकिने जाबो भाइरस । त्यहीँ जाबो भाइरले विश्वकै शक्ति सम्पन्न राष्ट्रहरुलाई समेत घुडा टेकाइदिएका छन् । लाचार बनेको छ सिंगो विश्व । यता ससाना देशहरुका त कुरै छाडौं ।
यता नेपालको सन्दर्भमा धेरै कमी कमजोरीहरु भएकै हुन् । नेपालको लागि सुरुमै कोरोना विरुद्ध तयारीका लागि राम्रै अवसरहरु मिलेका थिए तर त्यो गुमाउन पुग्यो । सुरुमा विभिन्न शक्ति सम्पन्न राष्ट्रहरुमा कोरोना फैलिँदा नेपालमा फैलिसकेको थिएन । त्यति बेलै सावधानीका रणनीतिहरु अपनाउन नेपाल सरकार चुकेकै हो । नेपालमै पहिलो संक्रमित भेटिसक्दा समेत हाम्रा पर्यटनमन्त्री पर्यटन वर्ष २०२० लाई सफल पार्न दौडधुप मै व्यस्त थिए । प्रधानमन्त्रीले समेत नेपालीहरुको प्रतिरोधात्मक क्षमता बढी हुन्छ, हाछ्यु, साछ्यु गरेर र बेसार पानीले भाइरसलाई पार लाउन सकिन्छ, भन्दानभन्दै नेपालमा अहिले यसले उग्र रुप लिइसकेको छ । दैनिक हजार भन्दा बढी संख्यामा नयाँ संक्रमितहरु मात्र थपिएका छैनन्, सँगै मृत्यु हुनेको संख्या दैनिक रुपमा बढ्दो छ । यसले पु¥याएको देशको अर्थतन्त्र, स्वास्थ्य, शिक्षा, व्यापार व्यवसाय लगायत हरेक क्षेत्रमा नगन्य प्रभाव त पारेको छ नै, यता कोरोना सँगै विलिन हुँदै गएको मावनतालाई उकास्न ठूलो चुनौती थपेको छ ।
सरकारले देशभर चैत ११ बाट लकडाउन लागू ग¥यो । घरभित्रै सुरक्षित रहेर बस्न हामी आम मानिससँग विकल्प थियो, तर फ्रन्टलाइनमा खटिनेहरुसँग थिएन । निरन्तर आफ्नो पेशामा लागि परेर धर्म निभाइरहेकै थिए उनीहरु र छन् अझै । अझ भनौं कोरोना कै त्रास माझ । कहिले कोरोनाबाट संक्रमित भइन्छ, कुनै ठेगाना छैन । मरिन्छ वा बाँचिन्छ, दोधारमै खटिरहेका छन् । केबल हाम्रै लागि । तर त्यस खटाइको कुनै मुल्य वा महत्व मिलेको छैन । उल्टै अमानवीय दुव्र्यवहार र हेलाको पात्र बनेका छन् उनीहरु ।
यस महामारीको घडीमा अग्रपंक्तिमा अहोरात्र खटिएका छन्, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायत अन्य । कसका लागि ? हाम्रै लागि । दिन रात, चाड पर्व नभनी हाम्रै सुरक्षाका लागि सुरक्षाकर्मी, उपचारका लागि स्वास्थ्यकर्मी र सुचना प्रवाहका लागि सञ्चारकर्मीको भूमिका यस महामारीमा थप चुलिएको थियो । आ–आफ्नो तहबाट सबैको कर्तव्य प्रशंसनीय थियो । यता सारा विश्वका वैज्ञानिक र विज्ञहरु कोरोना भाइरसको भ्याक्सिन पत्ता लगाउन तल्लिन रहँदा नेपालमा भने मानवता खोज्नु पर्ने बाध्यता रहेको छ । हामीले जुन अमानवीय कार्यहरु ग¥यौं, त्यो निन्दनीय, अशोभनीय र अपाच्य त छ नै, यसले हाम्रो समाज कुन दिशातिर बढिरहेको छ, प्रष्ट पार्दछ ।
सरकारले कोरोना महामारीको बेलामा फ्रन्टलाइनमा खटिने सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुलाई प्रोत्साहन स्वरुप भत्ता दिने निर्णय नगरेको हैन, तर भत्ताको त कुरै छोडौं मासिक तलब समेत महिनौदेखि नपाएका स्वास्थ्यकर्मीहरुको दर्दनाक पीडा छुट्टै छ । अझै पनि अग्रपंक्तिमा खटिएकाहरुलाई सुरक्षाका साधनाहरु नै पर्याप्त मात्रमा उपलब्ध भएका छैनन् । डाक्टर र नर्स भएकै कारण घरधनीले डेराबाट निकालिदिएका कैयौं तिता घटनाहरु हाम्रै अगाडि घटेका छन् । जानीजानी कोरोना फैलाएको आरोप एकातिर खेपिरहेका छन् भने अर्कातिर अस्पतालबाट घरमा नआई अस्पतालमै बस्ने व्यवस्था गर्न समेत परिवार र छरछिमेकले स्वास्थ्यकर्मीलाई भन्दा मन कुडिएर आउँछ । कोरोना संक्रमित बिरामीहरु रहेको अस्पतालमा काम गर्छु भन्न समेत डर लाग्छ उनीहरुलाई, कतै छरछिमेकले थाहा पाएर घरबाहिर ब्यानर र डोरी टाँसिदिने हो कि भन्ने भय मनमै रहन्छ । डरै डर अनि त्रासै त्रास माझ कोरोनासँगै जुधिरहेका छन् उनीहरु अग्रपंक्तिमा ।
जेठ १६ गते जाजरकोट बारेकोट गाउँपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्र लिम्सामा कार्यरत डाक्टर नवीन सहानीमाथि आक्रमण भएको थियो । गाउँकै तीन जना युवाहरुले उनलाई घाइते बनाएका थिए । पछि उनीहरुलाई पक्राउ गरेर कारवाही अघि बढाइएको थियो । यता साउन २१ गते विराटनगरमा कोसी अस्पतालको आइसोलेसनमा मृत्यु भएका कोरोना संक्रमितका आफन्तले चिकित्सकमाथि हातपात गरेको घटनाले आतंकित बनेको थियो सिंगो स्वास्थ्य क्षेत्र । एकातिर कोरोनाबाटै मरिन्छ कि भन्ने डर, अर्कातिर कोरोनाबाट मृत्यु भएका आफन्तहरुले नै मार्छन् कि भन्ने त्रास । कस्तो विडम्बना स्वास्थ्यकर्मीहरुको ।
जेठ ४ गते नागढुंगामा बाग्मती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायण कार्की माथि सडकमै दुव्र्यवहार भएको थियो । सडकमै एक जना समाजका नाइके ठान्ने युवकले उनलाई प्रहरी शैलीमा ड्युटीमै खटिएकै प्रहरीकै अगाडि केरकार मात्र गरेनन्, उनको गाडी पुरै खानतलासी गरेका थिए । काम विशेषले काठमाडौं हिडेका उनलाई हेटांैडा नै फर्कन बाध्य बनाइएको थियो । त्यस युवा पछि १० हजार धरौटीमा रिहा भएका पनि थिए । स्थानीय नाइके भनौदाँहरुको दादागिरी कहिले सम्म ?
यता साउन ३० गते चितवनमा घटेको घटनाले हाम्रो मानवता कति सम्म गिरेको छ, प्रष्ट पार्दछ । साउन २५ गते चितवन बकुलहर रत्ननगर अस्पतालमा कार्यरत डा. विश्ववन्धु बगालेलाई कोरोना संक्रमण पुष्टि भयो । लगत्तै पुष्टि भयो २६ गते उनकै श्रीमतीलाई । उनीहरु सुरक्षित तवरले आफ्नै घरमा होम आइसोलेसनमा बसेका थिए । एक हुल जथ्थासहितको टोल विकास समितिको टोली उनको घरमा ‘होम आइसोलेसन, कोरोना संक्रमित’ ब्यानर टाँस्न आइपुगेका थिए । यसमा वडा अध्यक्षकै आदेश समेत रहेछ । उनले कोरोना संक्रमित नभएका छोराछोरीलाई यस्ता कार्यले मानसिक असर परेर आत्महत्या वा कुनै अप्रिय दुर्घटना भए त्यही टोली जिम्मेवार हुने भनेपछि लुसुक्क उनीहरु फर्केका थिए । अहोरात्र हाम्रै स्वास्थ्यका लागि खटिने स्वास्थ्यकर्मीहरु संक्रमित भए साथ, हौसला र सु–स्वास्थ्यको कामना गर्नुको सट्टा यस्ता हर्कतले सिंगो मानवता माथि प्रश्नचिन्ह् खडा गरेको छ ।
यता स्वास्थ्यकर्मीहरु होस्टलमा बस्दा टोलमा कोरोना फैलिन्छ भनेर सिभिल अस्पतालका स्वास्थ्यकर्मीहरु राखिएको बानेश्वरमा रहेको लर्ड बुद्ध होस्टल घेराउ गर्न टोलबासीहरु उर्लिएका थिए । जब कि उनीहरु कोरोना संक्रमित समेत थिएनन् । होस्टलबाट उनीहरुलाई नहटाए, तोडफोड नै हुन सक्ने अवस्था सृजना हुन थाले पश्चात म्यानेजरले प्रहरीलाई गुहार्न पुगेका थिए । त्यहाँ कै स्थानीयहरु बिरामी भए, तिनै डाक्टर र नर्सहरुलाई गुहा¥छन् भन्ने सामान्य ज्ञान खै ती टोल विकास समितिका बुद्धिजिवी भनौँदाहरुमा ? उनीहरुको मनोबल गिराउँदा समाजमा कस्तो असर पर्छ ? भोलि डाक्टर र नर्सहरुले विरामीको उपचार नगर्ने निणर्य गरे अरु के विकल्प रहन्छ त, मर्नु सिवाय । दिन रात नभनि आफ्नै ज्यानको जोखिम मोलेर कर्तव्यमा लागि परेका उनीहरुलाई जति सम्मान गर्दा पनि कमी नै हुन्छ । उनीहरुको अपमान गर्नु स्वयं आफ्नै अपमान गर्नु सरह हो । उनीहरु मर्नु भनेको स्वयं हामीहरु मर्नु हो । यस्ता कैयौं घटनाहरु फ्रन्टलाइनमा रहेर खटिने सुरक्षाकर्मी र सञ्चारकर्मीहरुसँग समेत घटेका छन् । कति बाहिर आएका छन्, त कति गुमगाम नै ।
संकिण सोचले ग्रसित छ हाम्रो सिंगो समाज । कोरोनालाई जितेर पनि सामाजिक मूल्य र मान्यतासँग हार खाएर ज्यान गुमाएका कैयौं संक्रमितहरु हाम्रै समाजमा छन् । कोरोनालाई जितेका जनकपुरका विश्वेश्वर यादव आफ्नै परिवारको मनलाई जित्न सकेनन् । समाजमा उनी अवहेलनाको पात्र मात्र बनेनन्, आत्महत्या समेत गर्न बाध्य बनाइयो उनलाई । केबल यहाँ उनको मात्र मृत्यु भएन, सँगै मृत फेला प¥यो हाम्रो सिंगो समाज अनि सामाजिक मूल्य, मान्यता र परम्परा । यादव केवल प्रतिनिधित्व पात्र मात्र हुन्, उनी जस्तै कैयौं संक्रमितहरु वितृष्णा, घृणा र बेइज्जतीका पात्रहरु बनेका छन् । परको के कुरा, आफ्नै घर परिवार र नजिकका नातेदार नै यस्ता कार्यमा अग्रसरता प्रष्ट देखिन्छ । कोरोना कहरसँगै नेपालमा आत्महत्याका केसहरुमा वृद्धि भएका छन् । जसको कारण यस्तै अमानवीय कार्यहरुले गर्दा घटेका हुन्, अध्ययनले देखाउँछ । संक्रमितको मनोबल बढाउनुको सट्टा मनोबल गिराउने काम भइरहेको छ यहाँ ।
नेपालको सन्दर्भमा संक्रमित र मृतकहरुको नाम ठेगानासहितको विज्ञप्ति जारी गरिँदैन । गोपनियता नै राखिन्छ । यता विश्वको परिपेक्ष्यमा हेर्दा नामी सेलिब्रटीहरु हुन् वा राष्ट्र प्रमुख नै किन नहोस्, कोरोना संक्रमित भएपछि स्वयं आफैं फेसबुक वा टुइटरमा खुलेर पोष्ट गर्छन् । यसो गर्दा संक्रमितसँग घुलमिल भएकाहरुलाई सजक त बनाउँछ नै, सँगै कन्ट्याक ट्रेसिङ गर्न समेत धेरै मद्दत मिल्छ । संक्रमित वा मृत्यु भएकाहरुको वृतान्तमा जानकारी गराउँदा ऊ र उसको परिवारमाथि घृणित व्यवहारहरु गर्न हाम्रो समाज पक्कै तम्सन्छ । उसको घरमा ब्यानर टाँस्न एक हुल मानिस पुगिहाल्छन् । समाजबाट निकाला गर्न बाध्य बनाउन बेर लाग्दैन संक्रमित र उसको परिवारलाई हाम्रो समाजले । उस्तै परे आत्महत्या गर्न समेत बाध्य बनाइन्छ । यसले हाम्रो समाजको स्तर छताछुल्ल देखाउँछ । यस्ता घटनाहरु फ्रन्टलाइनमा खटिने सञ्चारकर्मी र सुरक्षाकर्मीहरुमा समेत घटेका छन् नै ।
त्यसैले मलाई लाग्छ, कोरोनाले हाम्रो मानवताको परीक्षा लिँदै छ र हामी नेपालीहरु यसमा अनुतीर्ण भएका छौं । कुनै दिन कोरोनाको खोप पत्ता लाग्ला र कोरोना नियन्त्रणमा आउँला तर कोरोनासँगै हराएको हाम्रो मानवताको उपचार कसले पत्ता लगाउने ? यस्तो महामारीको समयमा एक अर्कासँग लँडेर हैन, डटेर एकजुट भएरै कोरोनालाई परास्त गर्न सकिन्छ । समयमै सत्बुद्धि पलाओस् मानवमा । हृदयदेखि असिम सम्मान अनि श्रद्धा ती तमाम अग्रपंक्तिमा अहोरात्र खटिनेहरुलाई ।





