बागलुङ, २९ भदौ– आईतबार बिहान अविरल वर्षासँगै आएको पहिरोले बागलुङको जैमिनी नगरपालिकामा दुई वृद्धको ज्यान लिएको छ । जैमिनी नगरपालिका–१ कुश्मीशेरा, टुनीबोटकी ६० वर्षिया लक्ष्मीपौडेल र वडा नं. ५ बिनामारेको सिम्लेकी ७० वर्षिया जालपादेवी पौडेलको पहिरोले घरसँगै पुर्दा ज्यान गएको हो । लक्ष्मीका श्रीमान ८७ वर्षिया मणिभद्र पाध्या र छोरी देवी पौडेल घाईते छन् । सोही ठाउँमा आईतवार पहिरो थपिँदा चार घर पुरेको छ ।
घरमाथि सडक बनाउँदा निर्माण गरिएको पर्खालले पुरेर उनले ज्यान गुमाउनु प¥यो । टुनीवोटमा ठुलो गाउँछ । बागलुङ कुश्मीशेरा सडक निर्माण गर्नुपूर्व मणिरत्नको घरमाथि अहटबाट (वर्षाको पानी जाने ठाउँ) थियो । सडक निर्माणका क्रममा त्यहीं अहटबाटै पानी जानेगरी तलपट्टि तारजाली लगाएर ठुलो बनाईयो । यहाँ तारजाली लगाएको वर्षौं भैसकेको थियो । घर जोगाउका लागि लगाईएको तारजालीनै मणिभद्रको परिवारका लागि अभिसाप बन्यो । ‘भित्र कसरी बनेको छ भन्ने प्राविधिक कुरा हामीलाई थाहा नहुने’ स्थानीय केदार पौडेल भन्छन्– ‘जालीमुनी पानी छिर्ने ठाउँ बाँकी छोडेकाले होला त्यत्रो जाली एकैपटक पल्टेको ।’
अहिले सकड कालोपत्रेको काम चलिरहेको छ । आसपासमा पानीको निकास दिने ठाउँ नरहेकाले सोही ठाउँबाट पानीको निकास दिनेगरी हिमपाईप राखिएको छ । ‘पहिले लगाएको ग्याविन डबल देखेर हामीले नयाँ बनाउने सोँच गरेनौं’ जैमिनी नगरपालिकाका इञ्जिनियर विवेक सापकोटा भन्छन्– ‘तत्कालिन जिल्ला विकास समितिले बनाएको ग्याविनको बेस नहुँदा पानीले बगाएर पहिरो सिर्जना ग¥यो ।’
ग्याविमुनीबाट छिरेको पानीले छेवैको बाँस पल्टाएपछि बगेको तारजालीले पुरेर तीन घर कामै नलाग्ने भएका छन् । ‘आसपासको सबै पानी जम्मा भएछ, एकैठाउँबाट जाँदा विपत् निम्त्यायो’ नगर उपप्रमुख लिला राना भन्छन्– ‘सडकमा जम्मा भएकै पानीका कारण टुनीवटको पहिरो सिर्जना भएको प्रष्टै देख्न सकिन्छ ।’
पहिरोले मणीभद्रको परीवार मात्रै मासेको छैन् टुनीवोटका रविनाथ शर्मा र नन्दलाल शर्माको घरसमेत कामै नलाग्ने गरी भत्काईदिएको छ । दुवै जनाको परिवार कामको शिलशिलामा बाहिर रहेकाले मानविय क्षति भने हुन पाएन् ।
बिनामारेको पहिरोको कारण पनि सडकनै भएको स्थानीय बताउँछन् । यसैवर्ष खनिएको नयाँ सडकका कारण बिनामारेमा मानविय क्षति हुनेगरी पहिरो गएको स्थानीय विपीन आचार्य बताउँछन् । म्याग्दीको एक गाउँपालिकाका प्राविधिक कर्मचारीसमेत रहेका आचार्यले सामाजिक सञ्जालमा लेखेका छन् ‘जनप्रतिनिधिले क्षणिक स्वार्थको लागि आँफै इन्जिनियर बनेर वातावरणिय अध्यनबिना खनिएको बाटोले यस्ता घटना पटक पटक घटेका छन्, यस्तो प्रवृत्तिको अन्त्य गरौ ।’
बाटोमुनी रहेको निलकण्ठ पौडेलको घरमाथिको बाँस खसेर पहिरो सिर्जना गरेको उपप्रमुख राना बताउँछन् । ‘बाँस झरेर घर कटेराको बिचमा पुगेछ त्यसैले घर भत्कायो’ रानाले भने । सडक निर्माणका क्रममा सम्भावित जोखिमको आँकलन गरेर बाँस फाल्न अनुरोध गरेको भएपनि स्थानीयले अवरोध गरेका थिए ।
प्राविधिक नापजाँचबिना निर्माण गरिने सडकका कारण क्षति हुने गरेको स्वयं जनप्रतिनिधि र प्राविधिकहरु स्वीर्काछन् । बिनामारेको पहिरोमा निलकण्ठ, शान्ति, निश्चल, निकिता, कल्पना र निगम पौडेल घाईते छन् । अहिले उनीहरुको सामान्य उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ । पहिरो पीडितलाई उचित वासस्थानका लागि स्थानीय सरकारको पहलमा तत्काल आफन्तको घरमा व्यवस्था मिलाईएको प्रहरी सहायक निरीक्षक दिपक नेपालीले बताए । आईतबार बिहानको पहिरोका कारण जैमिनीकै वडा नं. ७ भिकुण्ठानाका तीन घर पहिरोको उच्च जोखिममा छन् । जैमिनी नगरको मुकाम कुश्मीशेरा बजारबाट गाउँ जाने सडकहरु ठाउँ ठाउँमा अवरुद्ध भएका छन् ।





