आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

कोरोना संक्रमणबारे सुरक्षा सर्तकता घट्यो

कोरोना संक्रमणबारे सुरक्षा सर्तकता घट्यो

सरकारी कार्यालयहरुमै छैन सर्तकता


  • ढोरपाटन संवाददाता
  • भाद्र २९ २०७७, सोमबार

बागलुङ, २९ भदौ– गत चैतमा लकडाउन गर्नुअघि बागलुङ नगरपालिकासहितका अधिकांस कार्यालय प्रवेशमा हेल्थ डेक्स राखिएको थियो । जिल्ला प्रवेशमा पनि कडाइ थियो ।
काम विशेषले कार्यालयमा पुग्नेले ज्वरो नाप्ने र सेनिटाइजर लगाएर मात्रै भित्र जान पाइन्थ्यो । त्यतिवेला देशभर कोरोनाका संक्रमित एकदुई जना मात्रै थिए । लकडाउन भएकै समयमा चैतमा बागलुङमा दुइजना संक्रमित भेटिएपछि सामान्य हिडडुल पनि कडाई भयो । घरबाट बाहिर ननिस्कने, निस्कनै पर्दा अस्पतालको बाटो नहिड्ने बागलुङबासी अहिले भीडभाड गर्न थालेका छन् । देशभर कोरोना संक्रमितको संख्या बढेको छ । बागलुङमा पनि समुदायमा कोरोना संक्रमण देखिएको छ । तर मानिसमा सर्तकता कमजोर भएको छ ।
पहिला कडाइ गर्ने कार्यालयमा अहिले सिधै प्रवेश पाइन्छ । पहिलाका हेल्थ डेक्सहरु अलपत्रजस्तै देखिन थालेका छन् । हात धुन राखिएका ड्रम रित्तिएका छन् । साबुन र सेनिटाइजर देखिन छाडेका छन् । प्रहरी कार्यालयमा प्रवेश गर्दामात्रै अनिवार्य हात धुन लगाइन्छ । अन्यत्र त्यो व्यवस्था छैन । जिल्ला प्रशासनमा समेत चासो गरिंदैन । बागलुङ नगरपालिका र अन्य सरकारी कार्यालयमा पनि अहिले सिधै मानिस प्रवेश गर्छन् । सुरक्षाको चासो गरेको भेटिंदैन ।
नगरपालिकामा स्वास्थ्य शाखा पनि छ । तर शाखाका कर्मचारी र स्वास्थ्यकर्मीहरु बिहानैदेखि कन्टयाक्ट ट्रेसिङका मानिसलाई स्वाब संकलनमा व्यस्त भैरहन्छन् । ‘स्वास्थ्य शाखाका साथीहरु काममै व्यस्त छन्, अरुले निगरानी गरेको पाइएन’ जनस्वास्थ्य निरिक्षक दिनेश जिसीले भने, ‘हामीले मात्रै गरेर भएन, नगरले नियमित कर्मचारी राख्दा राम्रो हुन्छ ।’ जिल्ला प्रशासनमा प्रमुख जिल्ला अधिकारीको कक्षमा प्रवेश गर्दा सेनिटाइजर लगाउन सुरक्षा गार्डले आग्रह गर्छन् । अरु शाखामा यो चासो छैन ।
अन्य सरकारी कार्यालयमा त सामान्य अवस्थाझै भैसकेको छ । भदौ २ गतेदेखि १९ गतेसम्म बागलुङमा निशेधाज्ञा गरिएको थियो । चैतदेखिको लकडाउनमा तरकारी पसलसहित सबै स्थानमा घेरा बनाएर सामग्री किन्ने व्यवस्था थियो । तर पछिल्लो समय त्यो घेरा पनि पालना गरिएको छैन । एकैपटक १० जनासम्म झुम्मिएर तरकारी किनेको देखिन्छ ।
बिहान र बेलुकी भीड गरिएकोले संक्रमणको जोखिम अझै बढेको पाइएको बागलुङ उद्योग बाणिज्य संघका सदस्य गणेश लम्सालले बताए । ‘निशेधाज्ञा लगाएमात्रै बन्द गर्ने, अरु बेला भीड गर्ने प्रवृत्ति गएन’ उनले भने, ‘प्रशासनको कडाइ नभएकोले काम नभएका मानिसले पनि भीड बढाएका छन्’ निशेधाज्ञा हट्यो भन्दैमा भीड जम्मा हुने काम राम्रो नभएको उनले बताए ।
राजनीतिक दलका क्रियाकलापमा पनि भीड गरिन्छन् । बीपी जयन्तीमा मास्क बाँड्न कांग्रेस र राहत वितरणको नाउँमा ढोरपाटन नगरपालिकामा नेकपाका नेताले भीड जम्मा गरेर भाषणसमेत गरे । अन्य संस्थाले पनि आफ्ना छिटफुट कार्यक्रम गरिरहेका छन् । त्यसले पनि संक्रमणको समस्या बढाउने टिप्पणी भएको छ ।
प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले पनि संक्रमणको समस्या बढिरहेकोले लार्पवाही नगर्न सुझाए । आयोजनाको निर्माण वा अन्य बहानामा भीड गर्दै कामदार ल्याउन पनि रोको बताए । ‘पिसिआर गरेको ७२ घण्टाभित्र, भीड नगरेको र प्रोटोकल पालना गरेको अवस्थामा मात्र प्रवेश दिइएको छ’ उनले भने, ‘अझैपनि लार्पवाही भैरहेको छ, निगरानी बढाउन भनेको छु ।’ मध्यपहाडी लोकमार्ग, कालीगण्डकी करिडोर र अन्य आयोजनामा काम गर्ने निहुँमा भीड लगाएर मजदुर ल्याउन खोज्दा रोक्नु परेको न्यौपानेले बताए । केही समयअघि ठेकेदारहरुले ट्रिपरमा राखेर धेरै मजदुर ल्याउने प्रयास गर्दा न्यौपानेले रोकेको बताए ।
सार्वजनिक यातायात नचलेपनि बागलुङमा जिप र पिकअप भने प्रसस्त चलेका छन् । ग्रामीण क्षेत्रमा जाने ती सवारी साधनले दुई गुणा भाडा असुल गरेका छन् । उनीहरुले रातो प्लेटका सवारीमा धेरै मानिस कोचाकोच गरेर लगेको भेटिए पनि प्रसाशन र प्रहरीले कारवाही नगरेको स्थानीयनै बताउँछन् । कतिपय स्थानमा प्रहरी र ट्राफिकको चेकजाँच भएकोले मानिस झारेर पठाउने र फेरी चढाउनेसमेत गरिएको भेटिन्छ ।
‘पिकअपमा कोचाकोच मानिस राख्दा कोरोना नसर्ने भन्ने हुन्छ र ?’ बानपा ८ का टिकाराम शर्माले भने, ‘गाउँ जाने जिप भरिभराउ देखेपछि पैदलै गएर फर्किएँ ।’ सामान बोक्ने सवारीले पनि जोखिम मोलेर मानिस ओसारेको उनले टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->