बागलुङ, ३० भदौ– जिल्लाको ढोरपाटन नगरपालिका वडा नं. ९ बोबाङका बाढीपहिरो प्रभावित बालबालिकाका लागि शिक्षा तथा भविश्य कोष स्थापना भएको छ । बागलुङ र गलकोट नगरपालिका तथा काठेखोला गाउँपालिकाका स्वयंसेवी पाँच महिलाहरुको स्वस्फर्त आर्थिक सहयोगमा कोष स्थापना गर्न लागिएको हो ।
ढोरपाटन नगरपालिकाले स्थापना गरेको दैविक प्रकोप राहत कोषअन्र्तगत रहने गरि पाँच महिलाले कोष स्थापनका लागि २ लाख ५६ हजार ९ सय ३१ रुपैयाँ सहयोग गरेका छन् । उक्त कोषको व्याजबाट बाढी पहिरोमा परि अभिभावक गुमाएका बालबालिकाको शिक्षा र भविश्यमा सीप तथा रोजगारीको लागि खर्च गर्ने योजना छ ।
जिल्लाको गल्कोट नगरपालिका वडा नं. ८ की पार्वती हितान, काठेखोला गाउँपालिका वडा नं. २ की इन्द्र कुमारी काउचा, काठेखोला गाउँपालिका वडा नं. ३ की सावित्री खड्का, बागलुङ नगरपालिका वडा नं. १ की जमुना थापा र बागलुङ नगरपालिका वडा नं. १३ की यशोदा शर्माले कोषका लागि उक्त रकम स्वस्फुर्त सहयोग गरेका हुन् ।
उनीहरुकै आग्रहमा नगरपालिकाले ‘बालबालिकाका लागि शिक्षा तथा भविश्य कोष’ स्थापना गर्न लागेको हो । यो कोषले पीडित बालबालिकाको शिक्षादिक्षामा सहयोग गर्ने नगर उपप्रमुख करमती पुनले बताइन् । कोषका लागि सहयोग उपलब्ध गराएका उनीहरुले ढोरपाटनका बाढीपहिरो पीडित महिला तथा बालबालिकाको लागि जिन्सी सामानहरु संकलन गरि वितरणसमेत गरेका छन् ।
उनीहरुले महिलाको लागि लुङ्गी १ सय थान, पेटीकोट १ सय थान, टि–सर्ट १ सय थान, भित्रीवस्त्र ९÷९ दर्जन, च्यादर ८० थान, प्याड २ बन्डल, किशोरीहरुको लागि तातो सुरुवाल ४० थान, चप्पल १ सय ४ थान, टि–सर्ट ४० थान, भित्रीवस्त्र ३ दर्जन ४ थान, सेन्डो ३ दर्जन, स्यानिटरी प्याड ४० थान, प्याम्पस २ प्याकेट, बेलुन चप्पल ३१ थान, बालबालिकाहरुको लागि हुट सेट तातो कपडा ३१ सेट, टोपी २७ थान, बिस्कुट ५ दर्जन, चकलेट २ पोका र ९ महिने शिशुको लागि ब्लाङ्केट १ थान, प्याम्पस २ प्याकेट, खेलौना ३५ थान वितरण गरेका छन् ।
जिन्सी सामग्री मात्रै २ लाख ४४ हजार ८ सय बराबरका वितरण गरिएको थियो । नगरपालिकाको सल्लाहमा कोष स्थापना र आवश्यक जिन्सी सामग्री सहयोग गरेको सहयोगी यशोदा शर्माले बताइन् ।





