पोखरा, १ असोज– बुधबार बिहान आएको भूकम्पले गण्डकीका विभिन्न जिल्लामा क्षति पु¥याएको छ । भुइँचालोले बागलुङ जिल्लाको बागलुङ नगरपालिका–६, भिरलाकुरी बस्ने ६९ वर्षीय दुर्गाबहादुर सुवेदीको ढुंगामाटोले बनेको २ तले घर पूर्ण रुपमा क्षति भएको छ । मानवीय क्षति नभए पनि घर बस्न लायक नरहेको प्रहरीले जनाएको छ ।
भुकम्पको धक्का महशुस भएपछि घर बाहिर निस्केका सुवेदीको परिवारका पाँच जना सदस्य भने सुरक्षित रहेको प्रहरी नायव उपरीक्षक राजेन्द्र रेगमीले बताए । सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु भएर बुधबार बिहान आएको ६ रेक्टर स्केलको भुकम्प गएको थियो ।
घर बस्नै नमिल्ने गरी क्षति भएपछि सुवेदीको परिवारलाई छिमेकीको घरमा राखिएको वडा नम्बर–६ का वडा सचिव रुद्रबहादुर केसीले बताए । भुकम्पले सुवेदीको ढुंगा माटोले बनेको दुईतले टिनको छानो भएको कच्ची घर भत्केको हो । यसैगरि भुइँचालाले नै लमजुङको बेसीसहर नगरपालिका–११, तिवारीडाँडाकी ४५ वर्षीया अम्बिका तिवारीको दुईतले कच्ची घर पनि भत्किएको छ । उता, पर्वतको कुस्मा नगरपालिका–१, पाङ बस्ने नारायण सुवेदीको कच्ची घरको छानो भत्कँदा ५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । बुधबार बिहान करिब सवा ५ बजे आएको भुइँचालोको धक्काले गण्डकीका अन्य जिल्लाहरुमा पनि भौतिक क्षति भएको तर मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
कास्कीमा भने बुधबार राति १ बजेतिर परेको चट्याङले पोखरा–१७, घर्तीथरकी ६८ वर्षीया लक्ष्मी भुजेलको घर जलेको छ । मिटरबक्समा चट्याङ पर्दा सो कोठामा रहेको कपडाहरु जलेको र शौचालयको छानो र गारो पनि भत्किएको प्रहरीले जनाएको छ ।





