यतिबेला इन्टरनेट मार्फत सामाजिक संजालमा अपलोड गरिएका भिडियोहरुमा कोरोना भाइरस कोभिड—१९ संक्रमण केही होइन भनेर भ्रम छर्ने खालका मिथ्या सुचना आइरहन्छन् । सरकारले कोरोना रोकथामविरुद्ध गरेको प्रयत्न असफल बनाउन र नागरिकलाई भड्काउन युट्युवहरु मात्रै होइन केही अनलाईन र मुलधारका मिडीयाहरु पनि अगाडी रहेको तथ्यले देखाउने गरेको छ । थुप्रै युट्युब च्यालन, अनलाईन र केही मुलधारका मिडियाहरुले समाजलाई भड्काउन तथ्यलाई तोडमोड गरेर विवादाष्पद ब्यक्तिका गैर जिम्मेवारपूर्ण अभिब्यक्ति दिने गरेको पाइन्छ । युट्युव च्यानललगायतका मिडियाहरुले आफ्नो दर्शक बढाएर बढीभन्दा बढी पैसा कमाउन विषयवस्तुसम्बन्धी जानकारी नै नभएको असम्बन्धीत ब्यक्तिहरुका बिवादास्पद भनाईहरु सार्वजनिक गरिरहेका तथ्य भेटिन्छन् । यसले गर्दा एकातिर अण्टसण्ट बोल्ने व्यक्तिहरु पनि प्रचारमा आउने अर्कोतर्फ विवादित भनाईहरु सार्वजनिक भएपछि युट्युव च्यानललगायतका मिडियाहरुको सूचना बिक्ने, यसरी कमाउ पेशा पनि चल्ने गरेका छन् । विवादाष्पद अभिब्यक्ति र नकारात्मक टिप्पणी गर्दा भ्यूवर पनि बढ्ने हुदा अन्तरर्वार्ता दिनेलाई पनि फाइदा र लिने च्यानललाई पनि फाईदा तर समाज भने ध्वस्त बन्दै गएको अवस्था छ ।
कोरोना भाईरस बारे गलत अफवाह फैलाउने मात्रै होइन्, समाजलाई बिकृत बनाउने विषयवस्तु, थपथाप समेत गरेर आमाछोरा, काकी भतिजाको सम्बन्ध, श्रीमान श्रीमतीको जुन नितान्त व्यक्तिगत सम्बन्ध हो, ती कुरालाई समेत सार्वजनिक गरेको पाइन्छ । जुन कारणले व्यक्तिको निजी जीवनमा उसका सन्तान समेतलाई कस्तो असर पर्छ भन्ने बारे ख्याल गरिँदैन । श्रीमान् श्रीमतीको झगडा भित्र युट्युब पस्यो भने सुधार आउन सक्ने सम्बन्ध समेत बिग्रिएर सम्बन्ध बिच्छेद हुन्छ । कुनै प्राकृतिक दुर्घटना घटना तथा अपराधका बारेमा तथ्यलाई तोडमोड नगरी समान्य जानकारी दिनु त स्वभाविक नै हो । तर, अनुसन्धान गर्ने निकाय र न्यायलाई समेत प्रभाबित हुने गरी सुचना सम्प्रेषण गरेको पाईन्छ । यसले मानिसहरुको आक्रोसित भिडलाई अझ बढी आक्रामक बनाउन प्रेरित गरेको दखिन्छ । ती च्यानलहरुमा सोधिने प्रश्नले नै भिड र दर्शकलाई समेत उत्तेजित बनाउने गरेको छ । सामान्यतया नेपाली समाजमा इन्टरनेटको माध्यमबाट प्रशारण गरिने युट्युव च्यानलहरुका सूचनालाई पनि समाचार ठान्ने गरिएको छ । अहिले युट्युव च्यानल सन्चालन गर्न न त दर्ता गर्नुपर्छ न त धेरै पैसा खर्च नै हुन्छ । बिना झन्जट जहा जसरी, जस्को पक्षमा पनि संचालन गर्न सकिन्छ । प्लेस्टोरमा गएर गुगल क्रोमोमा गएर जिमेल एकाउन्ट खोल्ने जिमेलमार्फत् युट्युब क्रिएट गर्ने अनि मनिटाइजेसन गर्न पनि सकिन्छ । यति सजिलो भएपछि अहिले एक घर एक युट्युव च्यानल भएका छन् । एकतिर छ्यास छ्यास्ती युट्युबले समाज ध्वस्त पारेको छ । अर्को तर्फ अनलाईनहरुको पनि यतिबेला बाढी आएको छ । अनलाईन पत्रकारिता र युट्युबरहरुले जिम्मेवार पत्रकारितालाई पनि नोक्सानी पु¥याइरहेको छ । फिल्डमा गएर, दुख गरेर लेखेका समाचार आर्टिकलहरु कपि गर्ने तोडमोड गरेर बिर्गाने त छँदैछ । अनलाईनमा भ्यूवर बढाउनका लागि नभएका काल्पनिक घटनालाई समाचार बनाएर पोष्ट गर्ने गरिन्छ । जसले समाजमा भ्रम मात्रै छरेको छैन समाजलाई नकारात्मक र उत्तेजित बनाउने काम समेत गरेकोछ ।
युट्युव च्यालनहरुमा कोरोनाबारे भ्रमपूर्ण अभिब्यक्ति आएपछि सरकारले ती च्यानलहरुलाई जिम्मेवार भएर सूचनाहरु सार्वजनिक गर्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मंत्रालयका प्रवक्ता डा. जगेश्वर गौतमले कोभिड १९ बारेको तथ्य तथ्याङ्क प्रस्तुत गरेपछि मिडियाहरुलाई दिनैपिच्छे सो आग्रह गर्ने गर्दछन् । कोरोना भाइरसका कारण संसार नै आक्रान्त बनेको अवस्था छ । प्रायः सबै मुलुकमा आर्थिक मंदी छाएको छ । जनसंख्याको ठूलै हिस्सा बेरोजगार बन्नु परेको छ । उत्पादन घटेको छ । बिक्रि पनि घटेको छ । जव की कोरोना भाईरसले कुनै पनि देशलाई फाईदा पु¥याएको छैन । बिकसित देशहरुलेसमेत आफ्ना नागरिकलाई बचाउन नसक्दा आलोचित बन्नु परेको अवस्था छ । नेपालमा पनि दिन प्रतिदिन कोरोना संक्रमण बढ्दै गएको छ । एकातिर रोजागारीको समस्या अर्कोतर्फ कोरोना महामारी नियन्त्रण भन्दा बाहिर जान्छ कि भन्ने डरबीच सरकार गुज्रिरहेको छ । यस्तो अबस्थामा समेत केहि जिम्मेवार टेलिभिजन र युट्युब च्यालहरुले कथित अभियन्ता जोसँग कुनै बैज्ञानिक तथ्य छैन, अनुसन्धान छैन तिनीहरुको अभिब्यक्तिलाई निकै महत्व दिएर सार्बजनिक गरिरहेका छन् । कोरोना महामारी केही हैन, लकडाउन गर्न पर्दैन, सरकारकाबिरुद्ध सडकमा उत्रिएर नारा लगाउनु पर्छ । सरकारले मेडिकल माफियासँग मिलेर माक्स स्यानिटाजरलगायतका स्वास्थ्य सामाग्री र औषधिहरुको बिक्री गरि कमिशन खाएको छ भन्ने जस्ता तथ्य र प्रमाणहिन आरोप लगाउने गरेका छन् । पिसिआर सिसिआर केहि पनि होईन गलत रिपोर्ट आउछ, गर्नु पर्दैन भन्ने जस्ता अप्रमाणीक र अप्राविधिकका कुराहरुलाई निकै महत्वका साथ प्रशारण गरिरहेका हुन्छन् । ‘डाक्टरहरुले पीसीआर ठिक छैन भन्दैछन् ।’ भनेर स्टोरी बनाइन्छ । हेर्दै जाँदा ती डाक्टर त मेडिकलका नभएर दाँतका रहेछन् । यसरी सार्वजनिक संचार माध्यमबाट पाठक, दर्शक र श्रोतालाई झुक्याउने गरि भ्रमपूर्ण, अप्रमाणिक र तथ्यहिन सुचना निर्वाध ढंगबाट दिईरहेका छन् । यस्ता गलत सुचना केहि मुलधारका मिडिया, युट्युवर र अनलाइनहरुले प्रशारण गर्नुको मकसद के हो ? सम्बन्धित नियमनकारी निकायले बुझ्नु पर्ने होइन र ? कोरोनाको महामारीभन्दा सूचनाको महामारीका बढ्दै गएको छ । मिडिया जस्तो संवेदनशिल क्षेत्रले आचार संहिताको मिचेर मनोमानी ढंगबाट अभियान कै रुपमा राज्य बिरुद्ध गरिएको षडन्त्रलाई रुपमा कुन रुपमा लिने हो र ?
वास्तवमा आम संचार क्षेत्रको महत्वलाई नेपालको सबिधान २०७२ ले निकै प्राथमिकताका साथ समेटेको छ । संविधानको प्रस्तावनामा पूर्ण प्रेस स्वतन्त्रता, धारा १७ (१) क मा बिचार तथा अभिब्यक्ति स्वतन्त्रता, धारा १९ मा संचारको हकको ब्यवस्था गरेको छ । जुन धारामा दुष्प्रचार गर्ने मिडियालाई कानुन बनाएर रोक लगाउने ब्यवस्था गरेको छ । आम संचारले समाजमा सकारात्मक सन्देश दिने हो । आवाज विहीनहरुको आवाज बोल्ने हो । समाजमा भइरहेका गलत कार्यलाई तोडमोड नगरी तथ्य सहित सत्य बाहिर ल्याउने हो । तर यति बेला केहि संचारमाध्यमले कुनै घटनाको सत्य, तथ्य लुकाएर मिथ्या प्रस्तुत गरिरहेका छन् । हुँदै नभएका घटना र तथ्य थपथाप गरेर गलत सूचना प्रवाह गरेको अनुसन्धानले देखाएको छ । एक तथ्याङ्क अनुसार १५ प्रतिशत सही सूचना हुन्छन् त्यसमा ८५ प्रतिशत बढाइचढाई गरेर मिडियामा आउने गरेका छन् । सार्वजनिक संचार माध्यमका रुपमा रहेका केही पत्रपत्रिका, अनलाइन न्यूज पोर्टल, र युट्युवहरुले समाचारको नाममा भ्रम तनाव मात्रै बेच्ने गरेको पाइन्छ ।
मिडिया जहिले पनि प्रतिपक्ष हो । जनताको आवाज बोल्ने हँुदा चौथो अंग मानिन्छ । बिभिन्न कालखण्डमा मिडियाले संसद नभएको अवस्थामा संसदको काम पनि ग¥यो । पञ्चायतकाल र शाही कालमा मिडियामाथि गरिएका नियन्त्रणले गर्दा लोकतान्त्रिक संसद (सरकार) ले संविधानमा संचार क्षेत्रलाई धेरै अधिकार प्रदान गरेको छ । लोकतन्त्रको प्राणवायुको रुपमा रहेको मिडिया सिद्धान्ततः स्वतन्त्रता कै परिकल्पना हो । तर नागरिकलाई सही सूचना दिन होइन की अर्कै उद्देश्यले खोलिएका केही मिडियाहरुले आफ्नो स्वार्थ अनुकुलको कार्य गरेको तथ्यले देखाउँछ । मिडियालाई अगाडी देखाएर बिभिन्न बिभिन्न धन्दा गर्ने, राज्यलाई कर छली गर्ने अनि राज्यबिरुद्ध अर्नगल प्रचार गर्ने गरेको पाइन्छ । यस्ता उद्देश्य खोलिएका मिडियाले यो कोरोना महामारीका वेलामा समेत सरकारको स्वस्थ्य आलोचना होइन, हँुदै नभएका घटना जोडेर राज्य बिरुद्ध नागरिकलाई भड्काउने काम गरेको देखिन्छ । नागरिकलाई सहि सुचना प्रदान गर्ने उद्देश्यले खोलिएका मिडियाहरु ओझेल पर्ने र भ्रम छर्नेहरु हाबी हुने अवस्थाको अन्त्य गरिनुपर्छ । यस्तो अवस्था रहेमा पत्रकारिता क्षेत्रको मर्यादा र गरिमा जोगाउन समेत कठिन हुन्छ । नागरिकहरुमा मिडिया प्रतिको जनआस्था घट्न सक्छ । अतः संचार क्षेत्रको साख जोगाउन पत्रकारिताको खोल आडेर गरिने गलत प्रवृत्तिहरुलाई सबैले परास्त गरौं ।





