पोखरा, २ असोज– भदौ २६ गते पोखरा महानगरपालिका – ९,पृथ्वीचोकको एक पसलमा निकै भीडभाड देखियो । सामान्य अवस्थामा रहेको बजारमा अचानक प्रहरीको भ्यानसहित भीडभाड हुँदा स्थानीयहरु हेरेकोहे¥यै भए ।
पृथ्वीचोकमा तुलाचन फेन्सी सञ्चालन गर्दै आएका क्षितिज तुलाचन एकाएक पक्राउ परे । करिब ४ बजे सादा पोसाकका प्रहरी ‘च्यानल’ बनाउँदै तुलाचनसम्म पुगेका थिए । लागुऔषध किन्ने बहानामा पुगेका प्रहरीले उनलाई रकम समेत दिए र लागुऔषधसमेत लिए । लगत्तै वैदाम प्रहरीको भ्यानमा हत्कडी लगाई अपराधीलाई झैँ पक्रेर २–४ मुक्का बजाउँदे चौकी लगे ।
तुलाचनलाई त्यसरी लगेको देख्दा छिमेकी अचम्ममा परे । तर, पक्राउ परेका तुलाचन साँझ आफ्नै पसलमा आइपुगे । उनलाई साँझ पसलमा देख्दा त्यहाका स्थानीय छक्क परे । पक्राउ परेको डेढ घण्टामा नै छुटेर आएको तुलाचन गण्डकी प्रदेश प्रमुख अमिक शेरचनको नातेदार हुन् । त्यतिमात्र होइन, उनी गएको निर्वाचनमा नेकपाबाट वडाध्यक्षको उम्मेदवारी दिएका गोविन्द तुलाचनका छोरा हुन् । ‘प्रहरीले हत्कडी लगाएर लगेका व्यक्ति डेढ घण्टामा नै छुटे, उनी यही वडाध्यक्षका प्रत्यासीका छोरा हुन् । अमिक शेरचनको छोरा, ज्वार्इँ त्यस्तै केही पर्छन्’, प्रत्यक्षदर्शीले भने । ‘पक्राउ परेका व्यक्तिको पसलबाट झण्डै एकमिटर लामो तरवारसमेत लगिएको प्रत्यक्षदर्शीले बताए । प्रहरी स्रोतले पनि तुलाचनबाट लागुऔषध बरामद भएको जानकारी दियो । शुक्रवारका दिन, त्यसमा पनि दिउसोको समयमा पक्राउ परेका व्यक्तिमाथि अनुसन्धान नै गर्ने हो भने पनि त्यति चाँडो सकिँदैनथ्यो । उता, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी जीवन श्रेष्ठले चाहिँ तुलाचनको साथबाट केही नभेटिएको बताए । ‘हामीले शंकाको आधारमा पक्राउ गरेका हौँ,केही भेटिएन त्यसैले छाडेका हौ’, प्रमुख श्रेष्ठले भने । प्रत्यक्षदर्शीका अनुसार पसलको सिसिटिभी क्यामेरामा हेरे सबै कुरा थाहा हुन्छ । एउटा सामान्य सोधपुछको लागि समेत ३–४ घण्टा कुर्नुपर्ने बैदाम प्रहरीले लगेको व्यक्ति डेढ घण्टामानै छुट्नुले शक्तिको शरणमा प्रहरी रहेको त हैन भन्ने आशंका उत्पन्न भएको स्थानीयले बताए ।





