बागलुङ, २ असोज– बैकर्स एसोसिएसन बागलुङले ढोरपाटनका बाढी पीडितका लागि राहत रकम सहयोग गरेका छन् । शुक्रबार उनीहरुले ढोरपाटन नगरपालिकालाई नगद हस्तान्तरण समेत गरे ।
बागलुङमा क्रियाशिल २८ वटा बैंक मिलेर १ लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग हस्तान्तरण गरेका हुन् । बैंकर्स बागलुङका अध्यक्ष दिपक शर्माले उक्त रकम नगरपालिकाका प्रमुख देवकुमार नेपालीलाई हस्तान्तरण गरेका थिए ।
भदौ १७ गते गएको बाढी र पहिरोले ढोरपाटन नगरपालिका वडा नं. ९ बोबाङ स्थित विभिन्न बस्तीका १ सय २६ घर बगाएको थियो । ती घरमा परेर २२ जनको मृत्यु भएको छ भने १६ जना बेपत्ता छन् ।
सामाजिक उत्तरदायित्वको काम स्वरुप उक्त रकम संकलन गरेर हस्तान्तरण गरिएको समेत शर्माले जानकारी दिए । उक्त अबसरमा नेपालीले नयाँ भवन बनाएर पीडितलाई सार्ने योजना बनाइएको पनि जानकारी दिएका थिए । संघिय र प्रदेश सरकारबाट आउने राहतमा थप गरेर नगरपालिका र दाताहरुको रकम एकमुष्ट पारेपछि सबै विस्थापितको घर बनाएर स्थापित गर्ने योजना बनेको उनले सुनाएका थिए । परदर्शी ढंगले काम गर्नका लागि नगरपालिकाले एकद्वार प्रणाली लागू गरेको पनि उनको भनाई छ ।
बैंकर्स बागलुङका अध्यक्ष दिपक शर्माको अध्यक्षता, उपाध्यक्ष उपेन्द्र गौतमको संचालन र सचिव ओमप्रकाश पौडेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
बैंकर्सले जिल्लाको जैमिनी नगरपालिका १ कुश्मीसेरासहितका वडामा आएको बाढीले मृत्यु भएका तथा विस्थापितलाई पनि राहत वितरण गरेका छन् । उनीहरुले जैमिनीमा ३२ हजार ८ सय ४४ रुपैयाँ सहयोग गरेको सचिव पौडेलले जानकारी दिए ।





