बागलुङ, २ असोज -गत चैतदेखि बसपार्क र घरछेउमा थन्केका बसलाई दुई दिनदेखि सर्भिसिङ गरेर बिहिबार संचालनमा ल्याइएको छ ।
बागलुङ बसपार्कमा अन्य दिनभन्दा सामान्य चहलपहल थियो । काउन्टरहरु खुलेका थिए । चालक र सहचालकहरुको जमघट थियो । सरकारले असोज १ गतेदेखि बस चल्ने घोषणा गरेकोले केही रौनक थपिएको हो । कोरोना महामारीले गर्दा सार्वजनिक यातायात चलेका थिएनन् ।
बिहिबार सार्वजनिक यातायात र लामो दुरीका बस पनि चलाउने निधो भएपनि यात्री भने छैनन् । ‘यातायात खुला गरियो, यात्री आएका छैनन्’ गण्डकी धौलागिरी यातायात सेवा प्रालिका क्यु इन्चार्ज रामप्रसाद अधिकारीले भने, ‘आम जनतालाई विश्वासमा लिएर यात्रा गराउन केही दिन लाग्छ ।’ कोरोनाबाट बच्ने उपायबारे सिकाउने, बस चालक, सहचालक र यात्रीलाई सुरक्षा सामग्री प्रयोग गर्न लगाउनेजस्ता कामबाट आम नागरिकमा विश्वास बढ्ने उनले बताए ।
बागलुङ नगरपालिकाको स्वास्थ्य शाखाले बुधबार बसपार्कमा गएर निसंक्रमण गराएको थियो । नियमित चल्ने बसमा पनि त्यो व्यवस्थापन गराउने बताइएको छ । बिहिबार लामो दुरीको यातायात भनेपनि कुश्मा र पोखराका सवारी मात्रै छुटेका थिए । अन्यले तयारी मात्रै गरेका छन् ।
जिपतर्फ भने अन्य दिनभन्दा बढी चहलपहल थियो । जिपमा चढ्ने यात्री पनि तुलनात्मक बढी थिए । पोखरातर्फ जाने जिपमा ६ जनासम्म राखेर चलाइएको गण्डकी धौलागिरी जिप कम्पनीका अध्यक्ष बिष्णुप्रसाद अधिकारीले बताए । ‘सरकारले तोकेअनुसारको बढी भाडा लिएकोले कोचाकोच यात्री राखेका छैनौं’ अधिकारीले भने, ‘बढी यात्री राखेर धेरै भाडा लिएको थाहा पाएमा जानकारी दिनुहोला ।’ उनले काठमाण्डौंसम्म जिप संचालन थालिएको पनि बताए ।
लामो समयसम्म व्यवसाय ठप्प भएको, आम नागरिकमा सार्वजनिक यातायात चल्छ भन्ने विश्वास दिलाउने समयले सहज रुपमा यातायात चल्न भने केही समय लाग्ने उनको भनाइ छ । लामो समय पार्क गरेकोले कतिपय सवारी साधन बिग्रेका छन् । कतिपयको टायर मक्किएको छ । खिया लागेको समेत भएकोले सर्भिसिङ गरेर मात्र चलाउन पनि कम्पनीले व्यवसायी र चालकलाई आग्रह गरेका छन् ।
सरकारले भने सामाजिक दुरी कायम गरेर बसाल्ने र ५० प्रतिशत बढी भाडा लिन पाउने व्यवस्था यसअघिनै गरिसकेको थियो । काठमाण्डौ उपत्यकामा जोरबिजोर प्रणाली लागू भएको छ भने राजमार्गमा चल्ने सवारीमा त्यो समस्या छैन ।
लामो समयसम्म सवारी नचल्दा सयौं यातायात मजदुरहरु वेरोजगार थिए । कतिपयले मजदुरी गर्न बाध्य थिएभने कतिपय यातायात क्षेत्रबाट पलायन पनि भएका छन् । व्यवसायीले बैंकको ऋण तिर्न सकेका छैनन् । सार्वजनिक यातायात सहज रुपमा चल्यो भने एक महिनापछि धमाधम बैंकको कर्जा तिर्न सक्ने व्यवसायीले बताए ।
यातायात व्यवसायी राष्ट्रिय महासंघले नेपाल राष्ट्र बैंकमा समेत यो जानकारी गराएको थियो । उक्त जानकारीपछि सरकारले पनि बैंकको किस्ता समय बढाउने, लकडाउनको समयमा व्याज नलिनेजस्ता काम गरेपछि केही राहतसमेत मिलेको व्यवसायीले बताए । बागलुङ तथा धौलागिरीमा मात्रै यातायात क्षेत्रका झण्डै २ हजार मजदुर वेरोजगार थिए ।





