बागलुङ, २ असोज– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट राष्ट्रिय युवा संघ र अनेरास्ववियू बागलुङले पहिरो पीडितका लागि राहत उपलव्ध गराएका छन् । जिल्लाको जैमिनी नगरपालिकाका पहिरोबाट ज्यान गुमाउने पीडित परिवारलाई युवाहरुले शुक्रबार राहत हस्तान्तरण गरेका हुन् ।
भदौ २८ र २९ गते बिहान जैमिनी नगरपालिका वडा न ५ बिनामारे र जैमिनी १ कुस्मिशेरा टुनिबोटको पहिरोमा परी ज्यान गुमाएका जालपादेवि पाध्या, लक्ष्मीदेवी पाध्या र हरिकृष्ण पौडेलको परिवारलाई राहत रकम उपलव्ध गराईएको हो ।
घटनास्थलमै पुगेका युवा विद्यार्थीहरुले मृतकका परिवारहरुलाई ५÷५ हजारका दरले सहयोग गरेको अनेरास्ववियू बागलुङका नेता शिव शर्माले बताए । नेकपा जिल्ला कमिटी सदस्य झमन पाण्डे, अनेरास्ववियू केन्द्रिय सदस्य जीवन शर्मा, राष्ट्रिय युवा संघ बागलुङ संयोजक रेशम घर्तिमगर, सह–संयोजक रमेश घर्ति, विद्यार्थी नेता शिव शर्मा, सहयोग संकलन अभियानका संयोजक आकृति भण्डारी, युवा संघ बागलुङ नगर संयोजक दिपेन्द्र रेग्मी, विद्यार्थी नेतृ अमृता जिसीलगायतले पीडितलाई सहयोग गरेका हुन् ।
वडा कार्यालय अमलाचौरको सहयोग
जैमिनी नगरपालिका–१ टुनिबोटका पहिरो पीडितलाई वडा कार्यालले नगद राहत सहयोग गरेको छ । बागलुङ नगरपालिका १२ अमलाचौरले वडा कार्यालयको तर्फबाट सहयोग रकम हस्तान्तरण गरिएको हो ।
अमलाचौरका राजनैतिक दल, जनप्रतिनिधि, नागरिक समाज, स्थानीयबाट संकलन गरिएको नगद २७ हजार रुपैयाँ हस्तान्तरण गरिएको हो । शुक्रबार पीडितहरुकै घरमा पुगेर बानपा १२ का वडा अध्यक्ष गुरुदत्त पाठकले उक्त रकम हस्तान्तरण गरेका थिए ।
रकम हस्तान्तरण गर्दै अध्यक्ष पाठकले छिमेकी नगरको वडामा परेको विपतिले आफूहरुलाई समेत दुःख लागेको भन्दै सानो सहयोगले पनि मल्हमको काम गर्ने भन्दै जनस्तरबाट सहयोग संकलन गरेर हस्तान्तरण गरिएको बताए ।





