पोखरा, ४ असोज– पोखरामा शनिबार धर्म–अर्थ–काम र मोक्ष विषयक विचार गोष्ठी सम्पन्न भएको छ ।
जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले संविधान दिवसका दिन साधारण सभा, साहित्यकार गीता भट्टराईको स्मृति सभासहित विचार गोष्ठी आयोजना गरेको हो ।
गोष्ठीमा डा.लेखनाथ आचार्यले मोक्ष विषयमा बोल्दै बोध हुनेहरु बोल्दैनन्, बोल्नेहरुमा बोध हुँदैन यसैले समाज अप्ठ्यारोमा छ भने । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले अर्थका बारेमा विचार राख्दै विश्व अर्थ अवस्थाकै कारण भीषण युद्धमा फस्ँदै गएको बताए । माक्सवादी चिन्तक विश्वप्रकाश लामिछानेले धर्मका बारेमा आफ्ना धारणा राख्दै मान्छे स्वभाविकैले धार्मिक हुने तर ढोङ्गीहरुले धर्मको महत्व घटाउँदै लगेको बताए ।
अधिकारकर्मी लेखक सावित्री गौतमले काम भनेको यौन मात्र बुझ्ने संस्कार गलत भएको धारणा राख्दै आफ्नो नित्य कर्म नै काम हो भनिन् । विश्वहिन्दू महासंघका केन्द्रीय उपाध्यक्ष शंकर खरालले यस्तै प्रकृतिका विचारप्रधान र रसप्रधान कार्य गर्दै अगाडि बढ्न आवश्यक रहेको विचार व्यक्त गरे ।
कार्यक्रममा वडा ३ की सचिव साहित्यकार चन्द्रावती वाग्ले, साहित्यकार रामनाथ अधिकारी संगी, विष्णु बास्तोला र नरेन्द्र रानाभाटले रचनावाचन गरेका थिए ।





